बिहीबार, चैत १५, २०८०

मर्स्याङदीमा ट्रक खस्दा दुईको मृत्यु

मेरोन्यूज २०७८ वैशाख २८ गते १५:०८

काठमाडौँ । मर्स्याङदी नदीमा ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाग्लुङ जिल्लाको गलकोट ८ पचुवा निवासी ३७ वर्षीय जय कँडेल र ३५ वर्षीय मीन कँडेल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

चितवनको मुग्लिनबाट तनहुँको आँबुखैरेनीतर्फ आउँदै गरेको ना ३ ख ९९७३ नंको ट्रक आँबुखैरेनी गाउँपालिका ४ ऐना पहरास्थित आँपचौर घुम्तीबाट करिब सय मिटर तल खस्दा दुर्घटना भएको हो । घटना रातिको समयमा घटेको भए पनि प्रहरीलाई आज मात्रै जानकारी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए ।

मृतक जय कँडेल ट्रक चालक र मीन कँडेल सहचालक रहेको मृतकका साहिलो भाइ हिरा कँडेलले जानकारी दिए । गाउँको घर बाग्लुङ भए पनि हाल डेरा गरी चितवनको नवलपरासीम बस्दै आएको उनले बताए । उनका अनुसार दुवै दाजुभाइ पराल लोड गरेर पोखरातर्फ गएका थिए । मृतक दुवै एकै घर परिवारका दाजुभाइ हुन् । मृतक दुवैको शवपरीक्षणका लागि दमौली अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया