बिहीबार, वैशाख १३, २०८१

वैकल्पिक सरकार गठन प्रक्रियामा जसपा सहभागि हुँदैन – अध्यक्ष ठाकुर

मेरोन्यूज २०७८ वैशाख २८ गते ८:२८

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले वैकल्पिक सरकार गठन गर्ने पार्टीको उद्देश्य नभएको बताएका छन् ।

गएराती अबेर विज्ञप्ति जारी गर्दै अध्यक्ष ठाकुरले बैकल्पिक सरकार गठन प्रक्रियामा सहभागि नहुने बताएका हुन् ।

तत्कालीन राष्ट्रिय जनता पार्टी राजपा प्रतिनिधि सभामा सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मतको प्रस्तावमा मतदान नगरी तटस्थ बसेको थियो ।

एमाले अध्यक्ष ओली नेतृत्वको सरकारको विश्वासको प्रस्तावको पक्ष/विपक्ष नभइ तटस्थ बसेको सो समूहले नयाँ सरकार गठन प्रक्रिमा पनि सहभागि नहुने जनाएको हो ।

जसपाकै अर्का अध्यक्ष उपेन्द्र यादवले सोमबार प्रधानमन्त्रीले प्रतिनिधि सभाबाट विश्वास गुमाएलगत्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगै संयुक्त विज्ञप्ति जारी गरेर नयाँ सरकार गठनका लागि आह्वान गर्न राष्ट्रपतिलाई आग्रह गरेका थिए ।

त्यसपछि अध्यक्ष ठाकुरले मध्यरातमा विज्ञप्ति जारी गर्दै सरकार गठन गर्ने पार्टीको उद्देश्य नभएको बताएका छन् । ‘सरकार निर्माण गर्ने, सरकारमा सहभागी हुने वा कुनै पनि किसिमको वैकल्पिक सरकार गठनमा संलग्न हुने कार्य जसपा नेपालको उद्देश्यविपरीत हो,’ ठाकुरले भनेका छन् ।

उनले वैकल्पिक सरकार गठन गर्नु मधेश आन्दोलनको भावना र मर्मविपरीत हुनेसमेत उल्लेख गरेका छन् ।

प्रधानमन्त्री ओलीलाई मत नदिई ठाकुर पक्षका १५ जना सांसद तटस्थ बसेका थिए भने यादव पक्षका १५ जनाले ओलीको विपक्षमा सोमबार मत दिएका थिए । यससँगै जसपाभित्र नयाँ सरकार गठनका विषयमा विवाद देखिएको छ ।

एमालेको खनाल नेपाल समूहले समर्थन नगरे नयाँ सरकार गठनका लागि ठाकुर समूहको मत निर्णायक छ ।

प्रतिक्रिया