बुधबार, कार्तिक १०, २०७८

मातातीर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिन

ज्यो. पण्डित विष्णुप्रसाद खनाल २०७८ वैशाख २८ गते ७:२४

काठमाडौं । आज वैशाख कृष्ण अमावस्या अर्थात् मातृ अमावस्या । नेपालमा आजको दिनलाई आमाको मुख हेर्ने दिनका रूपमा चिनिन्छ ।

Advertisement

यो दिनलाई अर्को शब्दमा मातृऔंसी, मातृदिवस, मातातीर्थ औंसी आदि पनि भनिन्छ । आजको दिन छोराछोरीहरू आफूलाई जन्म दिने आमाको मुख हेर्न आमा भएको ठाउँमा जान्छन् । मीठामीठा परिकार खुवाएर तथा उपहार दिएर आमालाई प्रसन्न तुल्याउँछन् ।

आमाले नौ महिनासम्म गर्भमा धारण गरेर सन्तान जन्माएकी हुन्छिन् । आमाविना सृष्टिको कल्पनासम्म पनि गर्न सकिंदैन । आफूले खाएको अन्न, जल, वायु एवं संस्कारजन्य छाप शिशुमा दिएर आमाले जानी/नजानी सन्तानको सृष्टि गरेकी हुन्छिन् ।

जन्मपछि पनि शिशुको हेरचाह गरेर पूर्ण मनुष्य निर्माण गर्ने आमाभन्दा पूजनीय संसारमा कोही हुँदैनन् तसर्थ आमालाई महान मानेर हिन्दू संस्कृतिमा भनिएको छ – मातृदेवो भवः ।

संस्कृतमा आमा बुझाउने माता शब्द अत्यन्त प्रिय छ । मात्रा भवतु संमनाः भन्ने अथर्ववेदको ऋचाले गर्भमा शरीरको धारण गर्ने आमाको महत्ता बुझाउँछ ।’ यस्तै ‘आपदि मातैव शरणम्’ अर्थात विपतका समयमा आमाको सम्झना गरिन्छ । कतै लडियो वा ठक्कर लाग्यो भने हरेकको मुखबाट ऐया आमा भन्ने वाक्यांश अनायास निस्किन्छ । किनभने हाम्रो अचेतन मनमा पनि आमाले दह्रो डेरा जमाएकी छिन् ।

Advertisement

भनिएको पनि छ – मात्रा समं नास्ति शरीर पोषणम् अर्थात् प्राणीका लागि आमाले जस्तो हेरचाह र पोषण प्रदान गर्ने अरू हुँदैनन् । यो कुरा मानिसमा मात्र नभई अन्य प्राणीमा समेत लागू हुन्छ । चराले बचेराकै लागि टाढा टाढासम्म पुगेर आफूले नखाएर पनि चुच्चोमा आहार च्यापेर ल्याउँछ । भर्खरै जन्मिएको बाछाको नजिक जाँदा गाईले किन हान्न खोज्छ । बाँदरको बच्चालाई चलाउन खोज्दा उनीहरू हुल उठेर आउँछन् । किनभने उनीहरूमा पनि सन्तानप्रतिको ममता उस्तै छ ।

प्राणीलाई आमाले जस्तो माया गर्ने संसारमा अरू कोही छैनन् । यस्ता आमाको गुणको बखान शब्दद्वारा गरेर सकिंदैन । आमाकै त्याग, तपस्या एवं बलिदानबाट नै सृष्टिले निरन्तरता पाएको छ ।

आमाविना सृष्टि सम्भव नहुने भएकाले सन्तानले आमाप्रति सधैं आभारी हुनुपर्छ । आमाको उपकार अर्थात् मातृऋण कसैगरे पनि तिर्न सकिंदैन तथापि आमाप्रति हार्दिक श्रद्धा प्रकट गरेर केही मात्रामा भएपनि मातृऋणको बोझ हलुका गर्न सकिन्छ ।

आमा धरती हुन् किनभने उनले धर्तीझैं सहनशील भएर बालबालिकाको पालनपोषण एवं सुरक्षा गरेकी हुन्छिन् । आमाले जसरी सन्तानप्रति कुनै कारणविना नै स्नेह प्रदान गर्ने व्यक्ति अरू कोही हुँदैनन् । त्यसैले आमाप्रति सम्मान प्रदान गर्नु सन्तानको पहिलो कर्तव्य हो । यही कर्तव्य पूरा गर्न नेपाली समाजमा हरेक वर्ष मातृऔंसीका दिन आमाको मुख हेर्ने चलन छ ।

आमा जीवित नहुनेहरूले यस दिन काठमाडौं उपत्यकाको पश्चिम दिशातर्फ थानकोट जाने बाटोमा पर्ने गुर्जुधारादेखि माथि पहाडको फेदीमा रहेको मातातीर्थ जान्छन् । उक्त कुण्डमा स्नान गरेपछि आफ्नी आमाको मुक्तिको कामना गर्दै तर्पण दिन्छन् ।

मातातीर्थको पोखरीमा पवित्र मनका साथ हेरेको खण्डमा आमाको स्वरूपको दर्शन पाइन्छ भन्ने जनविश्वास पाइन्छ । उक्त कुण्डमा हेर्दा दिवंगत माता प्रसन्न भइ दिएको आशीर्वादको प्रभावले छोराछोरीहरू जनधनले सम्पन्न भएर सुख भोग गर्न पाउँछन् भन्ने विश्वास छ ।

मातातीर्थ कुण्ड पौराणिक एवं धार्मिक तीर्थस्थल हो । एक प्रसंगअनुसार भगवान् विष्णुका सातौं अवतार मर्यादा पुरुषोत्तम श्रीराम वनवासका क्रममा घुम्दै मातातीर्थ आइपुगे । उनलाई अपरिचित र नौलो देखेर स्थानीय बासिन्दाहरूले आक्रमण गरे ।

फलस्वरूप राम र स्थानीय बासिन्दाका बीच घनघोर युद्ध भयो । त्यहीबेला सीता मातालाई प्यास लाग्यो । पानी खोज्दा कतै नभेटिएकाले रामले गंगामाताको स्तुति गरे । तीनपटक ‘माता गंगासमो तीर्थ पिता पुष्करमेव चः ।’ भन्ने मन्त्रोच्चारण गरी जमिनमा वाण प्रहार गरेपछि वाण लागेको ठाउँमा पानीको कुण्ड बन्यो । त्यहाँ माता सीताले सारा ब्रहृमाण्डको साक्षात् दर्शन पाइन् ।

ब्रहृमाण्डको दर्शन गर्दा उनको स्वरूप कुण्डमा रहेको ढुंगामा कोरिन पुग्यो । त्यतिबेला त्यहाँ घना जंगल थियो । एकपटक गाई चराउन आएका गोठालाहरू कुण्डको नजिकै बसेर खाजा खाँदै थिए । संयोगवश एउटा गोठालो मुखमा रोटी नपर्दै कुण्ड भएतिर मात्र के गएको थियो उसले कुण्डभित्र आफ्नी आमाको दर्शन पायो ।

घर फर्कने बेलामा गोठालाले एक्लै फर्कन नमानेको र आमासँगै जाने इच्छा गरेकाले आमाले छोरालाई भनिन् – ‘अहिले तिमी हामीसित जान मिल्दैन । बरु मेरो दर्शन गर्न प्रत्येक वैशाख औंसीको दिन आउनू ।’

उक्त दिन हरेक आमा गुमाएका सन्तानले यही कुण्डमा आफ्नी आमाको आकृति देख्न सक्छन् भन्ने जानकारी दिएर आमाले गोठालो छोरालाई फकाई फुल्याई बिदा दिइन् । त्यति बेलैदेखि हरेक वर्ष त्यहाँ मेला लाग्न थालेको हो ।

आमाको पवित्रस्थल भएकाले उक्त ठाउँको नाम ‘मातातीर्थ’ रहेको हो । त्यहाँ गएर छोराछोरीहरूले आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुन तथा आफ्ना आमालाई मुक्त गराउन सक्छन् ।

स्वस्थानी व्रतकथाअनुसार यो तीर्थमा सतीदेवीको अंग पतन भई मातुलेश्वर महादेवको उत्पत्ति भएको थियो । त्यसकारण पनि यहाँ गएर शास्त्रोक्त विधिपूर्वक गरिने कर्मकाण्डबाट मृत आत्माले मोक्ष पाउने तथा उक्त कार्य गर्ने सन्तानले जीवनभर सुखसन्तोष पाउने जनविश्वास छ ।

आमालाई प्रसन्न पार्न सके अन्य कुनै धर्मकर्मको आवश्यकता नपर्ने कुरा शास्त्रमा उल्लेख छ । रामायणमा एउटा प्रसंग छ – लंकामाथि विजय प्राप्त भैसकेपछि लक्ष्मणले रामसित त्यहीं राज्य गरेर बस्न अनुरोध गरेका थिए तर रामले भाइलाई सम्झाउँदै त्यो कुरा अस्वीकार गरे ।

रामले भनेका छन् – ‘अपि स्वर्णमयी लंका न मे लक्ष्मण रोचते । जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी । यही वाणीले हामीलाई सधै आमाप्रतिको कर्तव्य सम्झना दिलाउँछ । आमाको छाया वा मातृचरणमा रहने सौभाग्य प्राप्त गर्नु स्वर्गभन्दा पनि ठूलो प्राप्ति हो । उखान पनि छ – अरूको लाख, आमाको काख ।

आमाको अपमान गर्दा वा अपशब्द बोल्दा ठूलो पाप लाग्छ । सन्तान खराब हुन्छन् तर आमा कहिल्यै खराब हुँदैनन् भनेर दुर्गा सप्तसतिमा भनिएको ‘कुपुत्रो जायेत क्वचिदपि कुमाता न भवति ।’

त्यस्तै ञदेवी सर्वभूतेषु मातृरूपेण संस्थिता, नमस्तस्यै, नमस्तस्यै, नमस्तस्यै नमोनमः ।झ अर्थात जुन देवी सबै प्राणीमा माताको रूप लिएर रहन्छिन् उनलाई नमस्कार, नमस्कार, बारम्बार नमस्कार भनेर दुर्गासप्तशतीले नै भनेको छ ।

सोह्र प्रकारका आमा
नारी अर्थात आमाको महिमालाई वेद, पुराण, धर्मशास्त्र आदिमा उच्चस्थानमा राखिएको छ । ब्रहृमवैवर्त पुराणमा भनिएको छ – जन्मदाता एवं पालनकर्ता भएका कारण पूज्यहरूमा पनि अति पूज्य जनक तथा पिता कहलाउँछन् । जन्मदाताभन्दा अन्नदाता पिता श्रेष्ठ मानिन्छन् ।

त्यसभन्दा सय गुणा श्रेष्ठ एवं वन्दनीय माता हुन्छिन् किनभने उनी सन्तानलाई गर्भधारण तथा पोषण प्रदान गर्छिन् । शास्त्रमा आमाको गौरव गुरुभन्दा दस लाख, आचार्यभन्दा लाख तथा पिताभन्दा हजार गुणा बढी हुने बताइएको छ ।

मातृत्व आफ्नै सन्तानमा मात्र सीमित हुँदैन। । ब्रह्मवैवर्तपुराणमा सोह्र प्रकारका आमाको उल्लेख छ – दूध पिलाउने, गर्भधारण गर्ने, भोजन दिने, गुरुपत्नी, इष्ट देवताकी पत्नी, पिताकी पत्नी (सौतेनी आमा), पितृकन्या (सौतेनी बहिनी), सहोदर बहिनी, छोराबुहारी, सासू, आमाकी माता, पिताकी माता, भाइबुहारी, सानीमा, फुपू र माइजू । यी सबै नारी पूजनीय छन् । यिनको आफ्नै धर्म र महत्व छ । पुरुषले यिनलाई आमाका रूपमा हेर्नुपर्छ ।

त्यस्तै आफुले पहिलो चरण स्पर्श गरेकी धर्ती आमा र आमाको दूधले नपुग्दा दूध दिएर जीवन रक्षा गर्ने गाई पनि आमा हुन् । प्रत्येक बिशेष शुभकर्म गर्नुअघि मातृका पुजन गर्ने विधान पौरस्त्य परम्परामा रहेको छ ।

पूर्वाङ्गमा नान्दीमुखी श्राद्ध गरिन्छ जुन मातृप्रदान छ । यसैगरी आदित्यादि सत्र मातृका, गौर्यादि सात तोरणमातृका,नन्दादि सात द्वारमातृका, गौर्यादि षोडशमातृका, ब्रह्मादि सात मातृकाको पुजा आराधना पश्चात मात्र यज्ञ आरम्भ गर्नु पर्ने विधानले पनि मातृस्थान उच्च रहेको पुष्टि गर्छ ।

आमा नित्य पूज्य हुन्छिन् । आमाक‍‍ो मनमा नित्य खुसीको वहार छाउन सक्नु नै सच्चा मुख हेराइ हुनेछ ।

त्यसैले आमा हुनेले आमाको समीप गई विधिपूर्वक पूजा अर्चना गरेर अनि नहुनेले तीर्थमा गई श्राद्ध गरेर आमाको मुख हेर्ने गरिएकोमा यसपालि भने सो हुन नसकेकोमा चाड पनि खल्लो महसुस गरिएको छ। नमरी बाचे कोरोनाले साचे अर्को साल भब्य मनाउला मातृ दिवस । हामी सबैले आमालाई खुशी सुखि र स्वस्थ राख्न सकौं । यही छ शुभकामना । वन्दे मातरम्।।

प्रतिक्रिया