शनिबार, वैशाख ८, २०८१

राष्ट्रपतिद्वारा बहुमतको सरकार गठनका लागि आह्वान

वैशाख ३० गते साँझ ९ बजेसम्म दाबी पेश गर्नुपर्ने

मेरोन्यूज २०७८ वैशाख २७ गते २१:३०

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठनका लागि आह्वान गरेकी छिन् ।

प्रतिनिधिसभाबाट विश्वासको मत पाउन नसकी प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएपछि राष्ट्रपतिले संविधानको धारा ७६ (२) बमोजिम सरकार गठनको आह्वान गरेकी हुन् । यही वैशाख ३० गते साँझ ९ बजेसम्म प्रधानमन्त्रीकाे दाबी पेश गर्न पनि उनले भनेकी छिन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानको धारा १०० को उपधारा (१) बमोजिम प्रतिनिधिसभामा विश्वासको मतको लागि राखेको प्रस्ताव सोही धाराको उपधारा (३) बमोजिम पारित हुन नसकेको भन्ने समेतको व्यहोराकाे पत्र संसद् सचिवालयले राष्ट्रपति कार्यालयमा पठाएकाे थियाे ।

नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई वैशाख ३० गते बिहीबारका दिन साँझ ९ बजेभित्र नेपालको प्रधानमन्त्री पदमा नियुक्त गर्ने प्रयोजनका लागि राष्ट्रपतिसमक्ष आफ्नो दाबी पेश गर्न आह्वान गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रतिक्रिया