बिहीबार, वैशाख ६, २०८१

गण्डकीमा अब यसरी बन्छ सरकार, संविधानमा यस्तो छ व्यवस्था

मेरोन्यूज २०७८ वैशाख २६ गते १७:५३

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदबाट राजीनामा दिएका छन् । आफूविरुद्ध प्रदेशसभामा पेश भएको अविश्वास प्रस्तावउपर भोलि मतदान हुने कार्यसूची रहेको बेला उनले पदबाट राजीनामा दिएका हुन् । उनको राजीनामा प्रदेश प्रमुखले स्वीकृत गरेका छन् ।

प्रदेश प्रमुखले अब संविधानको धारा १६८ (२) बमोजिम ३ दिनभित्र सरकार गठनका लागि आह्रवान गरेका छन् । संविधानको यो धाराअनुसार अब प्रदेशसभामा प्रतिनिधत्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।

त्यसरी नियुक्त हुने मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नु पर्ने व्यवस्था छ । मुख्यमन्त्री गुरुङले राजीनामा दिएपछि अब कांग्रेस र माओवादी केन्द्रलाई बहुमतको सरकार बनाउने बाटो खुलेको छ ।

यसअगाडि नै कांग्रेस, माओवादी र जसपाले नयाँ मुख्यमन्त्रीमा कांग्रेसका प्रदेशसभा दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई प्रस्ताव गर्दै अविश्वास प्रस्ताव दर्ता गराएका थिए ।

प्रदेशसभामा राष्ट्रिय जनमोर्चा निर्णायक छ । गण्डकी प्रदेशसभामा गुरुङविरुद्ध अविश्वास प्रस्तावमा जनमोर्चाले पनि साथ दिने गरी सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अविश्वास प्रस्ताव आएको थियो ।

६० सदस्य रहेको गण्डकी प्रदेशसभामा अविश्वास प्रस्ताव पास हुन ३१ मत (बहुमत) आवश्यक हुन्छ । राष्ट्रिय जनमोर्चा, जसपाले गुरुङविरुद्धको अविश्वास प्रस्तावमा मतदान गर्ने बताएपछि अविश्वास प्रस्ताव दर्ता गर्नेहरुको पक्षमा बहुमत पुग्ने देखिएको छ ।

वैशाख १५ गते गण्डकी प्रदेशसभामा अविश्वास प्रस्तावमा मतदानको कार्य सूची तय भएको थियो । सबै प्रक्रिया पूरा हुँदा अन्तिम समयमा जनमोर्चाका सांसद खिमविक्रम शाही प्रदेशसभा बैठकमै देखिएनन् । उनको पार्टीका सांसद पियारी थापाले शाही हराएको भन्दै बैठक स्थगित गर्न आग्रह गरेपछि सभामुख नेत्रनाथ अधिकारीले प्रदेशसभा बैठक अनिश्चितकालका लागि रोकिदिएका थिए । त्यसपछि भोलिका लागि मतदान गर्ने गरी अर्काे बैठक तय भएको थियो । तर बैठकको अघिल्लो दिन मुख्यमन्त्रीले राजीनामा दिएपछि नयाँ सरकार गठनको बाटो खुलेको हो ।

अब कांग्रेसका कृष्णचन्द्र नेपालीलाई कांग्रेस, माओवादी, जसपा र राष्ट्रिय जनमोर्चा समेत मिलाउँदा बहुमत पुग्ने र सरकार गठनको बाटो खुल्ने अवस्था देखिएको छ ।

प्रतिक्रिया