शनिबार, वैशाख ८, २०८१

सकियो माधव नेपालसँग नेम्वाङ र पौडेलको भेटवार्ता

मेरोन्यूज २०७८ वैशाख २६ गते १६:४९

काठमाडौं । एमालेभित्रको विवाद मिलाउने अन्तिम प्रयासका रुपमा वरिष्ठ नेता माधव नेपालसँग सम्वादका लागि सिंहदरवारस्थित संसद सचिवालयमा पुगेका प्रधानमन्त्री केपी ओली पक्षका नेताहरु सुवास नेम्वाङ र विष्णु पौडेल वीचको वार्ता सकिएको छ ।

दुवै पक्षले आजको छलफलमा खुलस्त कुरा राखेको र विवाद मिलाउन फेरि पनि सम्वादको आवश्यकता देखिएको ओली पक्षका नेता नेम्वाङले बैठकपछि सञ्चारकर्मीहरुसँग वताएका छन् ।

‘हामीले उहाँ (माधव नेपाल) लाई प्रधानमन्त्रीको चासो र चिन्ताका विषय राख्यौं । उहाँले पनि आफना कुरा खुलस्त ढंगले हामीलाई सुनाउनु भयो । त्यो कुरा हामी प्रधानमन्त्रीसमक्ष लैजान्छौं,’ नेम्वाडले नेपालसँगको छलफलपछि सञ्चारकर्मीसँग भने, –‘फेरि पनि तत्कालै सम्वादमा बसेर सहमति खोज्ने प्रयासमा हामी छौं । त्यो तत्काल भनेको भरे पनि हुनसक्छ, भोलि पनि हुनसक्छ ।’

नेपाल पक्षको प्रत्यक्ष तर्फ निर्वाचित सांसदहरुले आफनो राजीनामा वरिष्ठ नेता नेपाललाई वुझाईसकेको र नेपाल पक्षका नेताहरु संसद सचिवालयमा देखिन थालेपछि ओलीले नेम्वाङ र पौडेललाई दुतका रुपमा नेपालसँग सम्वादका लागि पठाएका थिए ।

तर त्यो छलफल एक अर्काका कुरा सुनाउने वाहेक केही नभएको बताईएको छ ।

नेम्वाङ र पौडेलसँग छलफल सकेपछि नेता नेपाल भने आफु पक्षका सांसदहरुसँगको छलफलमा वसेका छन् । सिंहदरवारमै उनले आफु निकटका सांसदहरुसँग ओली पक्षका नेताहरुसाग भएको पछिल्लो सम्वादका विषयमा पनि जानकारी दिन लागेका हुन् ।

प्रतिक्रिया