बिहीबार, वैशाख ६, २०८१

माधव नेपाल पक्षले आजै राजीनामा नबुझाउने, भोलिसम्म ओलीलाई अल्टीमेटम

नेपालसँग वार्ताका लागि ओलीले खटाए नेम्वाङ र पौडेललाई

मेरोन्यूज २०७८ वैशाख २६ गते १५:३२

काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले आज सामूहिक राजीनामा नबुझाउने भएका छन् । घरबाटै समूह-समूहमा जुम बैठक गरेका वरिष्ठ नेता माधव नेपाल यतिबेला सिंहदरबारमा पुगेका छन् । उनले त्यहाँ पनि आफूनिकटका सांसदहरुसँग आन्तरिक परामर्श गरिरहेका छन् ।

जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले समेत प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने र तटस्थ बस्ने निर्णय गरेपछि ओलीलाई बहुमत नपुग्ने भएपछि राजीनामा के गर्ने भन्ने नयाँ बहसले नेपाल समूहभित्र प्रवेश पाएको छ ।

नेपाल पक्षका सांसद जीवनराम श्रेष्ठका अनुसार प्रधानमन्त्री केपी ओलीको पक्षमा बहुमत नजुट्ने देखेपछि आफ्ना पक्षले आजै राजीनामा नबुझाउने करिब निश्कर्ष निकालेको हो । यद्यपि, भोलिसम्म पनि ओली सहमतिमा आउने र एमालेको एकता जोगाउने तिर नदेखेमा बिहान पहिलो चरणमै राजीनामा बुझाउने बताए ।

प्रत्यक्षतर्फ निर्वाचित सांसदहरुले नेपाललाई हस्ताक्षर गरेर राजीनामा भने बुझाइसकेका छन् । सामूहिक राजीनामा नै बुझाउने अन्तिम तयारी गरेपछि प्रधानमन्त्री ओलीले सुवास नेम्वाङ र विष्णु पौडेललाई माधव नेपालसँग वार्ता गर्न दूतका रुपमा पठाएका छन् । दुवै नेताले नेता नेपालसँग सिंहदरबारमा वार्ता गर्ने तयारी गरिरहेका छन् । यो वार्ताको निश्कर्ष के निस्कन्छ भन्ने पनि नेपाल पक्षले हेर्न चाहेको छ ।

‘हामीले त राजीनामामा हस्ताक्षर गरेर माधव नेपाललाई बुझाई सकेका छौँ, अब उहाँले भोलि बिहानसम्मको अवस्था हेर्नुहुन्छ, त्यसपछि निर्णय हुन्छ । आज चाहिँ राजीनामा आउँदैन, ’ नेपाल पक्षका अर्का एक सांसदले भने ।

प्रतिक्रिया