बुधबार, वैशाख ५, २०८१

देउवा-महन्थ भेटवार्ता

देउवा भन्छन् : मलाई सरकार बनाउन सघाउनुस्, महन्थ भन्छन् : उपेन्द्रको कुरा नपत्याउनुस्

देउवासँगको भेटपछि महन्थ ठाकुर र राजेन्द्र महतो प्रधानमन्त्री भेटन बालुवाटारमा

मेरोन्यूज २०७८ वैशाख २६ गते १२:१६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिन मुस्किल पर्दै जान थालेपछि कांग्रेस सभापति शेरबहादुर देउवाको राजनीतिक सक्रियता बढेको छ । उनले अब ओलीको विकल्पमा आफ्नै नेतृत्वमा सरकार गठनको प्रयास थालेका छन् ।

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरलाई देउवाले आफै टेलिफोन गरी भेटन बोलाएर आफूलाई सघाउन औपचारिक रुपमै आग्रह गरेका छन् । देउवाको टेलिफोनपछि महन्थ अर्का नेता राजेन्द्र महतोलाई साथ लिएर देउवा निवास बुढानीलकन्ठ पुगेका थिए ।

बिहान ९ बजेदेखि झण्डै ढेड घण्टा देउवा, महन्थ र राजेन्द्र महतोका बीचमा भेटवार्ता भएको थियो । महन्थ र राजेन्द्र प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने पक्षमा देखिन्छन् । तर, जसपाभित्रकै अर्का अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भटटराई भने ओली नेतृत्वको सरकारलाई विस्थापित गरी नयाँ सत्ता समीकरण बनाउनु पर्ने पक्षमा उभिएका छन् । यहीबेला देउवाले महन्थलाई बोलाएर औपचारिक सहयोगको आग्रह गरेका हुन् ।

प्रधानमन्त्री ओलीको सत्ता टिक्ने-नटिक्नेमा स्वयम एमालेभित्रकै माधव नेपाल र झलनाथ खनाल निर्णायक बनेर उभिएपछि देउवाले महन्थको साथ खोजेर आफ्नै नेतृत्वको सरकारको पहल कदमी लिन खोजेका हुन् । देउवाले ठाकुर र महतोलाई ओलीको सरकार ढालेर आफ्नो नेतृत्वमा बन्ने सरकारलाई समर्थन गर्न आग्रह गरेको जसपा स्रोतले बताएको छ ।

‘प्रधानमन्त्री ओली एकपछि अर्काे गर्दै निरंकुश बन्दै जान थाले, अब उनको बर्हिगमन मात्रै उपयुक्त विकल्प हो । वातावरण त्यही अनुसारको निर्माण हुँदैछ । तपाईले पनि सहयोग गर्नुस् । अब मेरो नेतृत्वमा सरकार गठन गरौँ, तपाईहरुले पनि सहयोग गर्नु पर्यो,’ महन्थसँग देउवाले प्रस्ताव गरेको जसपा स्रोतले भन्यो ।

तर, ठाकुर र महतोले अझै स्पष्ट जवाफ दिएका छैनन । बरु देउवालाई उनीहरुले उपेन्द्रको मात्र भर परेर कुनै पनि निर्णय नलिन आग्रह गरेर फर्किएको जसपा निकट स्रोतको भनाई छ ।

‘प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने, नदिने विषयमा पार्टीले कुनै औपचारिक निर्णय लिएकै छैन, यस विषयमा पार्टी तटस्थ नै बस्न पनि सक्छ, उपेन्द्रको मात्र भर परेर त्यसैलाई जसपा निर्णय नसोच्नु होला, उपेन्द्रको कुरा आफ्नो व्यक्तिगत कुरा मात्रै हो,’ देउवालाई महन्थको जवाफ थियो ।

महन्थले एमालेलाई अलग राखेर नयाँ सरकार बन्ने अवस्था अझै नबनेको, उपेन्द्रको मात्र कुरामा विश्वास गर्न नहुने र मुलुकलाई अब सहज निकास दिने हो भने निर्वाचनमै जानुपर्ने हुन सक्ने तर्क देउवासमक्ष राखेका थिए ।

उनले कम्युनिष्ट विभाजनले चुनावमा जाँदा फाइदा कांग्रेसलाई नै हुने र त्यसको धेरथोर फाइदा आफ्नो पार्टीलाई पनि पुग्ने भएकाले चुनाव मै मुलुक जान सक्ने तिर देउवालाई संकेत गरेका थिए । प्रधानमन्त्री ओलीले सहज यही स्थितीमा चुनाव घोषणा नगरी सरकार छोडने तिर आफूलाई विश्वास नलागेको भन्दै महन्थले अहिले सरकार अदलबदलतिर भन्दा मुलुकलाई चुनावतिर लैजानतिर सोच्नु उपयुक्त हुने धारणा राखेका थिए ।

तर, देउवाले ओलीले गर्ने चुनाव हुनै नसक्ने धारणा राखेर उनलाई सरकारमा टिकाइराख्नु मुलुकै लागि दुर्घटना हुने बताएको जसपा स्रोतको भनाई छ । देउवासँगको भेटपछि महतो र ठाकुर प्रधानमन्त्री ओलीसँगको भेटका लागि बालुवाटार छिरेका छन् ।

प्रधानमन्त्री ओलीले संसदमा भोलि विश्वासको मत लिने तयारी गरेका छन् । त्यसैका लागि संसदको विशेष अधिवेशन बोलाइएको छ । कांग्रेस र माओवादी केन्द्रले औपचारिक रुपमै ओली सरकारलाई विश्वासको मत दिनबाट रोक्ने रणनीति तयार पार्ने बताइसकेका छन् ।

प्रतिक्रिया