बिहीबार, वैशाख ६, २०८१

राष्ट्रपतिमाथि कांग्रेस सभापति देउवाको कडा टिप्पणी

‘राष्ट्रपति मुलुकको अभिभावक होइन, ओलीको प्रवक्ता मात्रै बन्नुभयो’

मेरोन्यूज २०७८ वैशाख २५ गते २०:२०

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीले अभिभावकीय भूमिका निभाउन नसकेको टिप्पणी गरेका छन् ।

शनिबार पार्टी संसदीय दलको बैठकमा बोल्दै संसदीय दलका नेता देउवाले राष्ट्रपति भण्डारी सत्तारुढ दल नेकपा (एमाले) को अध्यक्ष केपी शर्मा ओली समूहको प्रवक्ता मात्रै बनेको टिप्पणी गरेका हुन् ।

संवैधानिक पदमा बसेको व्यक्ति राष्ट्रको अभिभावक बन्नु पर्नेमा पार्टीको विवाद मिलाउन सक्रिय बन्नु लज्जास्पद भएको उनको भनाइ थियो ।

‘राष्ट्रपतिले मुलुकको अभिभावकीय भूमिका निभाउनु पर्नेमा सत्तारुढ एमालेको पनि अध्यक्ष केपी शर्मा ओली समूहको प्रवक्ता जस्तै देखिनु भएको छ,’ देउवाको भनाइ उद्धृत गदै कांग्रेसका एक सांसदले भने । भण्डारी मुलुकको अभिभावक नभई पार्टीको राष्ट्रपति बनेको आरोप पनि देउवाले लगाए ।

कार्यकारी प्रधानमन्त्रीले संविधान मिच्दा सचेत गराउनु पर्नेमा उल्टै सहयोगी बनेर लाहछाप लगाएको देउवाले बताए । प्रधानमन्त्रीको गैरकानुनी काम राष्ट्रपतिले टुलुटुलु हेरेर बसेको उनको भनाइ थियो । ‘सरकारकै सहयोगीका रूपमा गैरसंवैधानिक काममा पनि लाहछाप लगाउने काम मात्रै राष्ट्रपतिले गर्नु भयो,’ देउवाले भने ।

देउवाले संवैधनिक पदमा बसेर सक्रिय राजनीति गरेको भन्दै राष्ट्रपतिका क्रियाकलाप प्रति पनि आपत्ति जनाए । उनले संविधान समाप्त पार्ने उद्देश्यले संसद्को बजेट अधिवेशन बोलाउने बेलामा चोरबाटोबाट संवैधानिक परिषद्सम्बन्धीलगायतका अध्यादेश ल्याएको बताए ।

‘प्रधानमन्त्री संविधान समाप्त पार्ने खेलमा लागेका छन् । संसद्को बजेट अधिवेशन बोलाउनु पर्ने बेलामा असंवैधानिक तवरबाट अध्यादेश ल्याइएको छ,’ देउवाले भने, ‘यसको हामीले दह्रो प्रतिकार गर्नुपर्छ । संसद् छलेर ल्याएको अध्यादेश अनुरुप बोलाएको बैठकमा प्रमुख प्रतिपक्ष दलको नेताका हैसियतमा म उपस्थित नहुने निर्णय गरिसकेँ ।’

प्रतिक्रिया