बिहीबार, चैत १५, २०८०

तनहुँमा कृषकलाई प्रोत्साहन रकम

मेरोन्यूज २०७८ वैशाख २५ गते ७:२९

दमौली । तनहुँको घिरिङ गाउँपालिकाले लसुन र प्याज खेती गर्ने कृषकलाई प्रोत्साहन रकम वितरण गरेको छ ।

कृषकलाई नगदे बालीतर्फ आकर्षित गराउँदै गाउँपालिकालाई लसुन र प्याजमा आत्मनिर्भर बनाउने उद्देश्य सहित गाउँपालिकाले प्रोत्साहन रकम वितरण गरेको हो ।

चालु आर्थिक वर्षको गाउँसभाबाट पारित नीति तथा कार्यक्रममा उल्लेख भए अनुसार कृषकलाई प्रति रोपनी पाँच हजार रुपैयाँका दरले प्रोत्साहन रकम वितरण गरिएको गाउँपालिकाका सल्लाहकार सुमनकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार १८ कृषकलाई एक लाख ४२ हजार पाँच सय रुपैयाँ वितरण गरिएको छ । घिरिङ गाउँपालिका–१, २ र ३ का लसुन र प्याज उत्पादन गर्ने कृषकलाई प्रोत्साहन रकम प्रदान गरिएको हो ।

घिरिङ गाउँपालिका–१ अत्रौलीका प्रेम थापाले आठ रोपनीमा लसुन र प्याज उत्पादन गरेबापत ४० हजार रुपैयाँ प्राप्त गरेका छन् । त्यस्तै तीन जना कृषकलाई दुई रोपनी, एक जना कृषकलाई डेढ रोपनी र १३ जना कृषकलाई एक रोपनीका दरले सो सुविधा प्रदान गरिएको छ ।

Advertisement

गाउँपालिकाले एक जना कृषकलाई आठ रोपनीको ४० हजार, तीन जना कृषकलाई ६ रोपनीको ३० हजार, एक जना कृषकलाई डेढ रोपनीको सात हजार पाँच सय र १३ जना कृषकलाई ६५ हजार रुपैयाँ प्रोत्साहन रकम वितरण गरेको छ ।

कृषक नगदेबालीतर्फ त्यति आकर्षित नभइरहेको अवस्थामा गाउँपालिकाले प्रोत्साहन रकम प्रदान गर्ने नीति लिएको गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले जानकारी दिए । “नगदेबालीतर्फ आकर्षण बढाउन चालु आर्थिक वर्षबाटै यो कार्यक्रम ल्याएका हौं, आगामी वर्षपनि यसले निरन्तरता पाउँछ,” उनले भने ।

गाउँपालिकामा सानो परिमाणमा लसुन र प्याज उत्पादन गर्ने कृषक धेरै नै भएपनि व्यावसायिक रुपमा उत्पादन गर्ने कृषक कम रहेका छन् । प्रोत्साहन रकम प्राप्त गर्नका लागि न्यूनतम एक रोपनीमा उत्पादन गरेको हुनुपर्ने मापदण्ड बनाइएको छ ।

“प्रोत्साहन रकम प्राप्त गर्नका लागि निवेदन माग गरेका थियौ, निवेदन परेपछि फिल्डमै गएर मूल्याङ्कनका आधारमा रकम प्रदान गर्ने मापदण्ड बनाइएको छ” उनले भने ।

कृषकलाई बोयर बोका
तनहुँको व्यास नगरपालिका–१३ ले वडाभित्रका व्यावसायिक कृषकलाई बोयर बोका वितरण गरेको छ ।

व्यावसायिक रुपमा बाख्रापालन गरिरहेका कृषकलाई सघाउने उद्देश्य सहित वडा कार्यालयले ६ जना कृषकलाई बोयर बोका शतप्रतिशत अनुदानमा वितरण गरेको वडा सदस्य लक्ष्मीकान्त मिश्रले जानकारी दिए ।

उनका अनुसार ती बोका भानु नगरपालिका–५ स्थित प्रकाश एग्रिकल्चर प्रालिबाट खरिद गरी कृषकलाई वितरण गरिएको हो । यो कार्यक्रमका लागि वडा कार्यालयले दुई लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

प्रतिक्रिया