बिहीबार, चैत १५, २०८०

बूढानीलकण्ठमा नेताहरूकाे दाैडधुप

देउवा-प्रचण्ड भेटवार्ता, यी विषयमा भए छलफल

देउवासँगकाे भेट अगाडि प्रचण्डकाे सभामुखसँग छलफल

मेरोन्यूज २०७८ वैशाख २४ गते २०:५९

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठ अहिले राजनीतिक दलका नेताहरुका लागि केही आइपरे तत्कालै दौडेर पुगिहाल्ने स्थान बनेको छ ।

विपक्षी पार्टीहरु सरकारकाविरुद्ध रणनीति बनाउन कहिले यता कहिले उता दौडनु सामान्य नै हो । तर एक साता यता देउवाका निवासमा के सरकारी पक्ष, के विपक्षी सबै दौडेर पुगिहाल्ने वार्ता स्थल बन्न थालेको छ ।

प्रधानमन्त्री केपी ओलीले २७ वैशाखमा संसद्को विशेष अधिवेशनमार्फत विश्वासको मत लिने तयारी गरेपछि देउवाका निवासमा नेताहरुको जमघट बाँक्लिदो छ । शुक्रबार मात्रै पनि नेकपा (एमाले)का नेता भीम रावलले तीन घण्टा लामो छलफल गरेर बाहिरिएसँगै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि देउवा निवास पुगेका छन् ।

रावलले सभापति देउवा, महामन्त्री पूर्णबहादुर खड्का र संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणसँग लामै संवाद गरेका थिए । नेपाल पक्षका प्रभावशाली नेता रावल बूढानीलकण्ठबाट बाहिरिएलगत्तै प्रचण्ड देउवा निवास पुगेका हुन् ।

देउवा निकट स्रोतका अनुसार प्रचण्ड र देउवाका बीचमा झन्डै आधा घन्टा एक्लाएक्लै संवाद भएको थियो ।

Advertisement

मुलतः तीन वटा विषयमा केन्द्रित रहेर देउवा र प्रचण्डका बीचमा छलफल भएको स्रोतको भनाइ छ ।

दुई नेताहरुका बीचमा वाग्मती र लुम्बिनी प्रदेशतर्फबाट राष्ट्रिय सभा उपचुनाव, प्रधानमन्त्री ओलीले संसदमा लिन लागेको विश्वासको मत र प्रधानमन्त्री ओलीले आइतबार बोलाएको संवैधानिक पारिषद्को बैठकका विषयमा केन्द्रित रहेर कुराकानी भएको थियो ।
प्रचण्ड सभामुख अग्नि सापकोटासँग उनकै सरकारी निवास लैनचौरमा भेटवार्ता गरेर बूढानीलकण्ठ पुगेका थिए ।

वाग्मती र लुम्बिनीको राष्ट्रिय सभा चुनावमा कांग्रेस र माओवादीले गठबन्धन बनाएर उम्मेदवारी दिएका छन् । ओलीले लिन खोजेको विश्वासको मतलाई असफल बनाउने योजना उनीहरुले बनाएका छन् । त्यसैगरी संवैधनिक परिषद्को बैठकमा सभामुखदेखि विपक्षी दलका नेता नजाने विषयमा छलफल भएको छ ।

प्रतिक्रिया