शुक्रबार, वैशाख १४, २०८१

सगरमाथा आधार शिविरमा काेराेना फैलियाे, १२ मा सङ्क्रमण पुष्टि

मेरोन्यूज २०७८ वैशाख २४ गते १९:०१

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा कोरोना सङ्क्रमितको सङ्ख्या २१ पुगेको छ । सगरमाथा आधार शिविरबाट फर्किएका १२ र सोलुदूधकुण्ड नगरपालिकामा थप एक जनामा पोजिटिभ देखिएसँगै सङ्क्रमितको सङ्ख्या २१ पुगेको हो । सगरमाथा आधार शिविरबाट फर्केका दुई विदेशीसहित १२ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको खुम्बुपासाङ ल्हामु गाउँपालिकाका स्वास्थ्य संयोजक अर्थिमाया तामाङले जानकारी दिए ।

उनका अनुसार यही वैशाख १५ र १६ गते एन्टिजेन परीक्षण गर्दा दुई जनामा कोरोना सङ्क्रण पुष्टि भएको थियो । यस्तै बुधबार दुई तथा बिहीबार र आज चार/चार जनामा सङ्क्रमण पुष्टि भएको उनले बताए । तीमध्ये कोरोना सङ्क्रमित दुईमा श्वासप्रश्वासमा समस्या देखिएपछि गाउँपालिकाको आइसोलेशन सेन्टरमा राखी उपचार शुरु गरिएको गाउँपालिकाले जनाएको छ ।

अन्य आठलार्ई होम आइसोलेशनमा राखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका अनुसार आजसम्म चार जनालाई थप उपचारका लागि अन्यत्र रिफर गरिएको छ । खुम्बुपासाङ ल्हामु गाउँपालिकाबाट फिलिपिन्स र दुबईका एक/एक नागरिकलाई थप उपचारका लागि हेलीकोप्टरमार्फत काठमाडौँ पठाइएको गाउँपालिका स्वास्थ्य संयोजक तामाङले जानकारी दिए ।

यस्तै जिल्ला अस्पताल फाप्लुमा परीक्षण गरेकामध्ये एकलाई काठमाडौँ र एकलाई विराटनगर रिफर गरिएको जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका सूचना अधिकारी रामनारायण शाहले जानकारी दिए । लिखु हाइड्रोपावरमा गरिएको परीक्षणसहितको तथ्याङ्कलाई आधार मान्ने हो भने अहिलेसम्म जिल्लामा ३० जनामा कोरोना सङ्क्रमण भएको छ तर हाइड्रोपावरले गरेको परीक्षणलाई नेपाल सरकारले आधिकारिक मानेको छैन ।

प्रतिक्रिया