शुक्रबार, चैत १६, २०८०

उम्मेदवारी दर्तापछि बादलले भने : मेरो जित सुनिश्चित छ (भिडियोसहित)

मेरोन्यूज २०७८ वैशाख २४ गते १४:०१

काठमाडौँ । गृहमन्त्री तथा नेकपा एमालेका नेता रामबहादुर थापा ‘बादल’ले राष्ट्रियसभा सदस्यमा आफ्नो जित सुनिश्चित भएको बताएका छन् । आगामी ६ गते हुने उपनिर्वाचनका लागि हेटौँडा पुगेर राष्ट्रियसभामा उम्मेदवारी दर्तापछि पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफ्नो जित सुनिश्चित भएको प्रतिक्रिया दिएका हुन् ।

उनले भने, ‘अहिलेको चुनावमा कूल ९ हजार ५ सय ६४ मतमध्ये हाम्रो पार्टीको पाँच हजार एक सय ३० मत छ, यो मतले के स्पष्ट देखाउँछ भने यो निर्वाचनमा मेरो जित सुनिश्चित छ ।’

एमालेको एक समूहले स्वतन्त्र उम्मेदवारलाई मत दिने कुरा छ नि ? भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘पार्टीभित्रबाट स्वतन्त्रलाई मत जान्छ भन्ने हल्ला मात्र हो, सबै मत मलाई नै आउँछ ।’

उम्मेदवार दर्ता गर्नुअघि बादलले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पार्टीका नेताहरूसँग बालुवाटारमा छलफल गरेका थिए । छलफलपछि उम्मेदवारी दिन उनी बालुवाटारबाट सीधै हेटौँडा हिँडेका थिए ।

यसैबीच उनको विपक्षीमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एमालेका खनाल–नेपाल समूह र जनता समाज पार्टीका तर्फबाट डा. खिमलाल देवकोटाले उम्मेदवारी दर्ता गरेका छन् ।

Advertisement

प्रतिक्रिया