शुक्रबार, चैत १६, २०८०

राष्ट्रियसभा उपचुनाव : गृहमन्त्री बादल र देवकोटाले दर्ता गरे उम्मेदवारी

मेरोन्यूज २०७८ वैशाख २४ गते १३:११

हेटौँडा । आगामी ६ जेठमा हुन लागेको राष्ट्रियसभाको बागमती प्रदेशतर्फ अन्य समूहको रिक्त पदमा गृहमन्त्री समेत रहेका नेकपा एमालेका नेता रामबहादुर थापा (बादल) ले उम्मेदवारी दर्ता गराएका छन् । यस क्षेत्रमा यसअगाडि उनले नै जितेका थिए । माओवादी केन्द्रबाट त्यसबेला चुनाव जितेका थापा एमाले माओवादी अलग गराइदिने सर्वाेच्चको २३ फागुनको निर्णयपछि एमाले बनेका थिए ।

त्यसपछि माओवादी केन्द्रले थापाको पद रिक्त गराएको थियो । त्यही रिक्त पदमा एमालेको आजै बसेको स्थायी समितिको अनौपचारिक बैठकले गृहमन्त्री थापालाई नै उम्मेदवारी बनाउने निर्णय गरेपछि उनी उम्मेदवारी दर्ता गर्न हेटौँडा पुगेका थिए ।

गृहमन्त्री थापाको उम्मेदवारीमा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल प्रस्तावक र समर्थकमा सामाजिक विकासमन्त्री सरस्वती बस्नेत बसेकी छन् ।

उता गृहमन्त्री थापाविरुद्ध विपक्षी गठबन्धनले डा. खिमलाल देवकोटालाई उम्मेदवार बनाएका छन् । कांग्रेस, माओवादीलगायतका दलको तर्फबाट उनले उम्मेदवारी दर्ता गराएका हुन् । तर उनले उम्मेदवारी दर्ता स्वतन्त्र उम्मेदवारका रुपमा दर्ता गराएका छन् ।

डा. देवकोटाको उम्मेदवारी दर्तामा भने माओवादी प्रदेश सभा दलका नेता शालिकराम जम्मकटेल प्रस्तावक र नेपाली कांग्रेस संसदीय दलकी प्रमुख सचेतक राधा घले समर्थक बसेकी छन् ।

Advertisement

नेपाल मजदुर किसान पार्टीले पनि छुट्टै उम्मेदवारी दिएको छ । नेमकिपाका तर्फबाट कृष्णबहादुर तामाङको उम्मेदवारी गरेको छ । उनको प्रस्तावकमा वागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईं र समर्थकमा सिर्जना सैंजु रहेका छन् ।

प्रतिक्रिया