शुक्रबार, वैशाख १४, २०८१

सेवाग्राहीबाट रकम असुल्ने दुई एसपीसहित ३ प्रहरी कारबाहीमा

दया दुदराज २०७८ वैशाख २४ गते १३:११

काठमाडौँ । आर्थिक अनियमितता गरेको आरोपमा दुई प्रहरी उपरीक्षक (एसपी) र एक प्रहरी निरीक्षक (इन्सेक्टर) कारबाहीमा परेका छन् । प्रहरी प्रधान कार्यालयले एसपीद्वय रामेश्वरप्रसाद यादव र विमल बस्नेतसहित इन्सपेक्टर मेघराज चौरसियालाई कारबाही गरिएको हो ।

कार्यालयले दुई एसपीको पाँच ग्रेड घटुवा गरिएको छ भने इन्सपेक्टर चौरसियाको चार ग्रेड घटुवा गरिएको छ । कारबाहीमा परेका तीनै जना प्रहरीले प्रदेश ट्राफिक प्रहरी कार्यालय कर्णालीमा हुँदा आर्थिक अनियमतिता गरेको पुष्टि गर्दै प्रहरी हेडक्वाटरले कारबाही गरेको हो ।

उनीहरुले गैर व्यवसायिक काम गरी रकम असुली गरेको भन्दै उजुरी परेपछि प्रहरी प्रधान कार्यालय छानबिन अघि बढाएको थियो ।

गत वर्षको मंसिर दोस्रो साता प्रहरी प्रधान कार्यालयको सिफारिसमा उनीहरुलाई निलम्बन गरेर प्रहरी प्रधान कार्यालयले छानबिन थालेको थियो । एसएसपी उमेश रञ्जितकारको नेतृत्वमा बनेको छानबिन समितिले उनीहरुले सेवाग्राहीहरुबाट रकम असुलेको पुष्टि गरेको हो । उनीहरुले चालक र बडिगार्डमार्फत रकम असुल्न लगाएको गैर व्यावसायिक काम गरेको छानबिन समितिले पुष्टि गरेको छ ।

उनीहरुले सेवाग्राहीबाट रकम असुलेको पुष्टि भएपछि प्रहरी प्रधान कार्यालयले कारबाही गरेको स्रोतले जनाएको छ । छानबिनका क्रममा रकम असुली गरेर बैंकमा जम्मा गर्न लगाएको भौचर समेत भेटिएको थियो ।

दया दुदराज

मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया