शुक्रबार, वैशाख १४, २०८१

८ जना कोरोना संक्रमितद्वारा आत्महत्या

मनोविश्लेषक भन्छन्ः मनलाई व्यस्त बनाऔँ

दया दुदराज २०७८ वैशाख २३ गते १६:४४

काठमाडौँ । चितवनमा बिहीबार बिहानै कोरोना भाइरस (कोभिड—१९) संक्रमण पुष्टि भएका एक जनाले आत्महत्या गरेका छन् । बुधबार कोरोना पुष्टि भएका माडी नगरपालिका ३ का ३५ वर्षीय पुरुषले आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (डिएसपी) सरोज गिरीका अनुसार ३५ वर्षीय हरिशरण वाग्ले (नाम परिवर्तन) गत वैशाख १५ गते भारतमा आफन्तको विवाहमा सहभागी भई नेपाल फर्किएका थिए । नेपाल आएपछि कोरोना पुष्टि भएसँगै उनले आत्महत्या गरेका हुन् ।

भारतबाट फर्किएका उनलाई झाडापखाला भएपछि ग्रस्त बनेका थिए । यसैबीच उनले गत २१ गते कोरोना परीक्षणका लागि स्वाव दिएका थिए । आफूलाई कोरोना पोजेटिभ देखिएपछि उनले बिहीबार नै आत्माहत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता गिरीले बताए । उनले मेरो न्यूजसँग भने, ‘कोरोना संक्रमण पुष्टि भई होम क्वारेन्टाइन बसेका उनले आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरे छन् ।’

कतिले गरे आत्महत्या ?

आफूलाई कोरोना संक्रमण पुष्टि भएपछि आत्महत्या गर्ने चितवनका वाग्ले मात्रै हैनन् । गत १८ गते रुपन्देहीका सैनामैनास्थित कोरोना विशेष अस्पतालमा एक ३५ वर्षीय कोरोना संक्रमित युवाले झुण्डिएर आत्महत्या गरेका थिए ।

आफूलाई कोरोना पुष्टि भएको ३ दिनपछि कोरोना विशेष अस्थायी अस्पतालको शौचालयमा झुण्डिएर आत्महत्या गरेको नगरप्रमुख चित्र बहादुर कार्कीले जानकारी दिए । उनले भने, ‘उहाँ अलि आत्तिनु भएको थियो, उहाँको मनोबल कम थियो, मनोचिकित्सक राखेर सम्झाउँदै आएका थियौँ ।’
कोरोना संक्रमण देखिएसँगै गत वर्ष ५ जनाले आत्महत्या गरेको प्रहरीले जनाएको छ । यस वर्ष पनि कोरोना संक्रमण पुष्टि भएसँगै उपचारका क्रममा भएका विरामीहरुले आत्महत्या गर्न थालेका छन् । अहिलेसम्म कोरोना संक्रमण पुष्टि भएका ८ जना आत्महत्या गरेको प्रहरीले जनाएको छ । कोरोना संक्रमण भएर आत्महत्या गर्नेम गोरखा, रुपन्देही, तनहुँ र लमजुङ, चितवनलगायत जिल्लाका संक्रमितहरु रहेका छन् ।

विश्वभर कोरोनाको नयाँ भेरियन्ट फैलिएसँगै अहिले नेपालमा पनि संक्रमितको दर तीव्र गतिमा बढिरहेको छ । कोरोना संक्रमण बढ्दै गर्दा क्वारेन्टाइनमा बसेको संक्रमितले आत्महत्या गर्ने दर पनि बढेको देखाएको छ । गत १४ गते गोरखाका २६ वर्षीय संक्रमित युवाले आत्महत्या गरेका थिए । योसहित पछिल्लो १० दिनमा देशभर ३ जना कोरोना संक्रमितले आत्महत्या गरेका छन् ।

गत वर्ष कोरोना संक्रमणका बेला बझाङ, बाजुरा, अछाम, तनहुँ र लमजुङका एक-एक जनाले आत्महत्या गरेको प्रहरीले पुष्टि जनाएको छ । प्रहरीका अनुसार उनीहरुलाई क्वारेन्टाइनमा राखेर उपचार गर्ने क्रममा आत्महत्या गरेका थिए ।

आत्महत्या एक मनोरोग भएको मनोविश्लेषकहरुले बताउँदै आएका छन् । तर, यसको न्युनीकरण र निर्मुलीकरण भने हुन सकेको छैन । आर्थिक वर्ष ०७४/०७५ मा नेपालभर ५ हजार ३ सय ४६ जनाले आत्महत्या गरेका थिए । यस्तै, आर्थिक वर्ष ०७५/०७६ मा आत्महत्या गर्ने दर बढेर ५ हजार ७ सय ५४ पुगेको छ । प्रहरीको तथ्यांकले नेपालमा आत्महत्याको दर घट्नुभन्दा बढ्नु देखाएको छ ।

आत्महत्या बढ्न सक्छ

मनोविश्लेषकहरुले कोरोना महामारीमा आत्महत्याको दर बढ्न सक्ने बताएका छन् । अन्य समयभन्दा यस अवस्थामा आत्महत्या गर्नेको संख्या बढ्ने मनोविश्लेषक प्रज्ञा श्रेष्ठले बताइन् ।

‘कोरोनाकै कारण आत्महत्या गर्ने भन्ने होइन, तर कोरोनाले एक ‘ट्रिगर’को रुप लिएको हुन्छ,’ श्रेष्ठले भनिन् ‘अन्य समयको तुलनामा महामारीमा बढी मनोरोगीहरु वृद्धि भएको हुन्छ, जुन पछि गएर आत्महत्याको रुपमा परिणत हुन्छ ।’

उनले बेरोजगारी, एक्लोपन जस्ता सामाजिक, आर्थिक र मनोवैज्ञानिक कारण आत्महत्याको घटना हुने बताइन् । कोरोना संक्रमण बढेसँगै यस्ता घटना झन बढ्ने उनको भनाई थियो ।

कसरी गर्ने न्यूनीकरण

आत्महत्याको दर बढ्नुमा कोरोना एक ट्रिगरका रुपमा थपिएको छ । यसले सबैलाई आत्मबल गिराउने काम गरेको छ ।

कोरोनाको समयमा मनोवैज्ञानिक पक्षबाट विचलित नभए आत्महत्याको दर घट्ने मनोविश्लेषकले बताएका छन् । ‘यस्तो विषम परिस्थितिमा विशेष ख्याल गर्नु पर्ने हुन्छ, दैनिक क्रियाकलापहरु उर्जाशील बनाउनु पर्छ जसले तपाईको आत्मबल बढाउँछ,’ मनोविश्लेषक श्रेष्ठले भनिन्, ‘यस्तो समयमा जसरी हुन्छ हामीले आफ्नो मनलाई व्यस्त राख्नु पर्छ, मन खाली भयो भने मनमा नकारात्मक कुराले बास गर्छ, त्यही नै पछि आत्महत्याको बिन्दु बन्न सक्छ ।’

‘कुनै सामाजिक, आर्थिक वा मनोवैज्ञानिक समस्या भएका व्यक्तिहरुले आफूमा रहेको समस्यालाई खुलस्त बनाउने वा समस्यालाई लुकाउनु हुँदैन,’ मनोविश्लेषक श्रेष्ठले थपिन्, ‘यस्तो विषम परिस्थितिमा परिवारभित्र पनि धेरै ध्यान दिनु पर्ने हुन्छ वा मनोबल बढाउने भूमिका खेल्नु पर्छ ।’

दया दुदराज

मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया