शुक्रबार, वैशाख ७, २०८१

जसपामा ठाकुर समूहको नयाँ प्रस्ताव

विश्वासको मतमा सांसदलाई स्ववीवेकीय अधिकार प्रयोग गर्न छोडिदिउँ

मेरोन्यूज २०७८ वैशाख २३ गते १२:२९


काठमाडौं । जनता समाजवादी पार्टी(जसपा)को अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने÷नदिने विषयमा पार्टीका सांसदहरूलाई स्ववीवेकीय अधिकार प्रयोग गर्न दिने प्रस्ताव गरेको छ ।

पार्टीका संघीय परिषद् अध्यक्ष पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूहसँग प्रधानमन्त्रीलाई विश्वासको मत दिने/नदिनेबारे पार्टी सांसदलाई स्ववीवेक प्रयोग गर्न दिने प्रस्ताव गरेको ह

प्रधानमन्त्रीले संसदको विशेष अधिवेशनमार्फत आगामी सोमबार २७ वैशाखमा सदनमा विश्वासको मत लिन खोजेका छन् ।

जसपामा प्रधानमन्त्रीलाई विश्वासको मत दिने/नदिने भन्नेमा दुई धार छ । अध्यक्ष ठाकुर समूह विश्वासको मत दिनु पर्छ भन्ने पक्षमा छ भने अर्का अध्यक्ष यादव समूह दिन नहुने पक्षमा छ । यस्तो अवस्थाबाट पार्टीमा देखिएको संकट पार लगाउन ठाकुर पक्षले सांसदलाई स्ववीवेक प्रयोग गर्न दिने प्रस्ताव ल्याएको हो ।

अध्यक्ष ठाकुरका विश्वासपात्र मानिने नेता शर्वेन्द्रनाथ शुक्लले आफूहरूले सांसदहरूलाई स्ववीवेक प्रयोग गर्न दिने प्रस्ताव अघि सारेको बताए । ‘प्रधानमन्त्री ओलीले विश्वासको मत पाएमा वा नपाएमा पार्टीका लागि फलिफाप हुने केही छैन । त्यसैले के गर्ने भनेर बहस र छलफल गर्नु भन्दा सांसदलाई स्ववीवेकीय अधिकार प्रयोग गर्न दिउँ भन्ने प्रस्ताव पार्टीमा हामीले गरेका छौं,’ शुक्लले भने ।


शुक्ल प्रधानमन्त्री ओली र सत्तारुढ एमालेसँग पार्टीका मुद्दाबारे छफल गर्न भन्दै अध्यक्ष ठाकुरले एक्लौटी बनाएको वार्ता समितिका सदस्यसमेत हुन् । शुक्लले ओलीले आफूहरूसँग अहिलेसम्म विश्वासको मत नमागेको पनि बताए ।

‘प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेसम्म हामीसँग विश्वासको मत माग्नु भएको छैन । समय छ माग्नुहुन्छ कि ! आफ्नै हुन्, जुनबेला मागेपनि हुन्छ भन्ने छ कि मनमा,’ शुक्लले भने ।


अन्य विषयमा बहस र छलफल गर्न तयार भए पनि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सहकार्य गर्न नसकिने निष्कर्ष जसपाको ठाकुर समूहको छ । प्रचण्डले पहिला ३० दलीय मोर्चा हुँदा धोका दिएको र त्यो धोका बिर्सेर फेरि कांग्रेस र माओवादीको संयुक्त सरकार हुँदा सहयोग गरेपनि धोका दिएकाले अब फेरि सहयाग नहुने मत ठाकुर समूहमा बलियो छ । नेता शुक्लले आफूहरूले प्रचण्डसँग दुई पटक धोका खाइसकेकाले तेस्रो पटक धोका खाने पक्षमा नरहेको बताए ।

वर्तमान प्रधानमन्त्री ओलीले भने आफूहरूले राखेका माग सम्बोधन गर्न सुरु गरेकाले आशा पलाएको शुक्लले बताए । ‘प्रधानमन्त्रीले हाम्रा काम गरिदिन सुरु गर्नुभएको छ । त्यसलाई टुंग्याउ भन्ने सोच हाम्रो हो । हाम्रो प्रधानता आफ्नो मुद्दा सम्बोधन गराउने हो, अहिलेसम्म सरकारले गरेको निर्णयलाई जनताले स्वागत गरिरहेका छन्,’ शुक्लले भने ।

प्रतिक्रिया