शुक्रबार, वैशाख १४, २०८१

वीर अस्पतालको नयाँ भवनसहित ४ स्थानमा कोभिड अस्पताल सञ्चालन गरिने

मेरोन्यूज २०७८ वैशाख २३ गते ११:५९

काठमाडौं । सरकारले वीर अस्पतालको नयाँ भवनसँगै उपत्यकाका ४ स्थानमा कोभिड अस्पताल सञ्चालन गर्ने कार्ययोजना अघि सारेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जारी गरेको कोभिड रोकथाम, नियन्त्रण र उपचारका लागि बनाएको कार्ययोजनामा वीर अस्पतालको नयाँ भवन, भक्तपुरको खरिपाटी, दहचोक र इचंगु नारायणमा आईसीयू सहितको कोभिड अस्पताल शनिबारसम्म सञ्चालन गर्ने उल्लेख छ ।

काठमाडौंमै कोरोना बिरामीको लागि शय्या अभाव भएपछि सरकारले विभिन्न विकल्पको खोजी गर्दै आएको थियो । सोही क्रममा वीर अस्पतालको नयाँ भवनमा कोरोना संक्रमितलाई कम्तीमा ५०० शय्या सहितको सेवा दिने तयारी सरकारले गरेको छ । वीरको नयाँ भवन चीन सरकारको सहयोगमा केही समय अघिमात्रै निर्माण सम्पन्न भएर प्रयोगविहीन अवस्थामा राखिएको थियो तर चौतर्फि बिरोध भएपछि शनिबारबाट सञ्चालन ल्याउँन लागिएको हो ।

त्यस्तै, भक्तपुरको खरिपाटी, काठमाडौंको दहचोक र इचंगु नारायणमा पनि आईसीयू सेवा सहितको कोभिड अस्पताल वैशाख २५ भित्र सञ्चालनमा ल्याउने कार्ययोजना छ । पहिलो कोरोना महामारीका बेलामा पनि यी ठाउँमा रहेका संरचनालाई प्रयोगमा ल्याइएको थियो ।

प्रतिक्रिया