शुक्रबार, वैशाख ७, २०८१

चरीकोटमा अत्याधुनिक पिसिआर प्रयोगशाला शुरु

मेरोन्यूज २०७८ वैशाख २२ गते १९:५५
फाइल फाेटाे

काठमाडाैं । दोलखा जिल्लामा पहिलो पटक कोरोना भाइरसको परीक्षण गर्न पिसिआर परीक्षणका लागि प्रयोगशाला शुरु भएको छ । दोलखा, भीमेश्वर नगरपालिकास्थित चरीकोट अस्पतालमा आज प्रयोगशालाको उद्घाटन गरेर परीक्षण शुरु गरिएको हो ।

प्रयोगशाला २४ घण्टा चलाउँदा ५०० सम्म स्वाब परीक्षण गर्ने क्षमता छ । दक्ष जनशक्तिसमेत लगेर प्रयोगशालाको उद्घाटन गरिएको वाग्मती प्रदेश, जनस्वास्थ्य प्रयोगशाला धुलिखेलका प्रमुख डा नारायणबहादुर कार्कीले जानकारी दिए ।

सो प्रयोगशालामा दोलखा नजीकका रामेछाप, सिन्धुपाल्चोक र सिन्धुलीबाट पनि स्वाब संकलन गरेर ल्याउन सकिने बताइएको छ । चरीकोटमा प्रयोगशाला शुरु गरिएसँगै वाग्मतीअन्तर्गतका प्रयोगशालाको संख्या ६ पुगेको छ । यसअघि काभ्रेपलाञ्चोक, नुवाकोट, भक्तपुर, मकवानपुर र सिन्धुलीमा प्रयोगशाला सञ्चालनमा छन् ।

प्रयोगशाला निर्देशक डा कार्कीका अनुसार त्यहाँ प्रयुक्त यन्त्र अहिलेसम्म बनेका मध्ये राम्रो मानिएको छ । यहाँ राखिएको यन्त्रमा पिसिआर मात्रै नभई अरु विभिन्न रोगको पनि परीक्षण गर्न सकिने डा कार्कीको भनाइ थियो । प्रयोगशालामा माइक्रोबाइलोजिष्टसहितको जनशक्ति अहिले भए पनि नपुग्ने भएकाले प्रदेश सरकारसँग माग गरिएको डा कार्कीले बताए ।

थप जनशक्ति प्रदेश सरकारले पठाउने वाग्मती प्रदेश, सामाजिक विकासमन्त्री सरस्वती बस्नेतले कोरोना संक्रमण बढ्दै गएकाले दोलखासहित आसपासका जिल्लाको पिसिआर परीक्षणका लागि सहज हुने भएकाले प्रयोगशाला सञ्चालनमा ल्याइएको बताए । मन्त्रालयले केन्द्रीय जनस्वास्थ्य प्रयोगशालासँग समन्वय गरेर तत्कालै प्रयोगशाला सञ्चालनमा ल्याएको जनाउँदै उनले अहिले न्यूनतम जनशक्ति भए पनि थप प्रदेश सरकारले पठाएर प्रयोगशालालाई पूर्ण क्षमतामा सञ्चालन गरिने बताए ।

प्रतिक्रिया