बिहीबार, वैशाख १३, २०८१

विश्वासको मत माग्दै देउवा निवासमै प्रधानमन्त्री

देउवाले आफ्नै निवासमा दलबलसहित आएका प्रधानमन्त्रीलाई भने, -विश्वासको मत नदिने पार्टी निर्णय छ, साथ दिन सकिन्न’

मेरोन्यूज २०७८ वैशाख २२ गते १८:३७

काठमाडौं । २७ वैशाखमा संसद्को विशेष अधिवेशनमा विश्वासको मत लिन खोजेका प्रधानमन्त्री केपी ओलीले प्रमुख प्रतिपक्षी कांग्रेससँग आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन् ।

आफू नेतृत्वको सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङलगायतका नेतालाई साथ लिएर उनी आज दिउँसो कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठ पुगेका हुन् ।

देउवाले पनि प्रधानमन्त्री टोलीसहित आफ्नो निवास आउने सन्देश पाएपछि निवासमा वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय शशांक कोइराला, पूर्णबहादुर खड्का, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, सहमहामन्त्री प्रकाशशरण महतलाई बोलाएर राखेका थिए । त्यसपछि दुईपक्षीय छलफल भएको हो ।

‘म विश्वासको मत लिन जाँदैछु, तपाईंको पार्टी र तपाईंको सहयोगको लागि आएको छु, साथ दिनुस्,’-देउवा निवास पुगेर ओलीले भने ।

मंगलबार मात्रै कांग्रेस पदाधिकारी बैठकले ओलीलाई विश्वासको मत नदिने र विश्वासको मत लिन खोज्ने प्रधानमन्त्रीको कदमलाई हरहालतमा असफल पार्ने निर्णय गरेको थियो ।

ओली सरकारलाई माओवादी केन्द्रले बुधबार मात्रै समर्थन फिर्ता लिएको पत्र संसद सचिवालयमा दर्ता गराएको थियो । त्यसपछि औपचारिक रुपमा नै अल्पमतमा परेका ओली आफ्नो पार्टीका नेता र मन्त्रीसहित सहयोगको लागि आग्रह गर्न देउवा निवास पुगेका हुन् ।

कांग्रेससँग आफूले सहकार्य नै गर्न चाहेको पनि प्रधानमन्त्री ओलीको भनाइ थियो । उनले राष्ट्रिय सभाको चुनावदेखि अन्य रिक्त संघ, प्रदेश तहसम्मकै चुनावमा पनि सहकार्य गरेर जान आफूहरु तयार रहेकाले साथ र सहयोगको आग्रह गरेका थिए ।

‘उहाँले विश्वासको मत लिन सहयोग गर्नुस्, तपाईं हामी सहकार्य गरौं भन्ने प्रस्ताव लिएर सभापति भेट्न आउनुभएको थियो,’- कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले भने ।

तर देउवाले भने पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने औपचारिक निर्णय गरिसकेको भन्दै साथ दिन नसक्ने बताएका थिए । ओली र देउवाका बीचमा झण्डै डेढ घण्टा लामो संवाद भएकाे थियाे ।

प्रतिक्रिया