शनिबार, वैशाख १५, २०८१

धादिङ मण्डलीमा पहिलोपटक महिला प्रवेश, टिप्पणी गर्नेमा महिला नै बढी

दया दुदराज २०७८ वैशाख २२ गते १८:१६

धादिङ । जिल्लाको ज्वालामुखी गाउँपालिका ४ स्थित ढोला मण्डली मन्दिरमा पहिलोपटक महिला प्रवेश गरेकी छन् । साताको हरेक मंगलबार पुजा लाग्ने उक्त मन्दिरमा महिलाहरूको प्रवेश निषेध गरिएको थियो । उक्त परम्परालाई गाउँपालिकाकी उपाध्यक्ष जानुका सिंखडाले तोड्दै पहिलोपटक मन्दिर परिसरभित्र प्रवेश गरकी हुन् ।

‘मैले मन्दिरमा केही महिनाअघि प्रवेश गरेकी थिएँ । तर, अहिले पनि टिकाटिप्पणी गर्नेमा महिलाहरू नै बढी हुनुहुन्छ ।’

गाउँपालिकाकी उपाध्यक्ष जानुका सिंखडा

झण्डै ३२५ वर्षदेखि पुजापाठ हुँदै आएको मन्दिरमा गत माघ महिनामा गाउँपालिकाको योजना अनुगमन गर्ने क्रममा मन्दिर परिसरभित्र प्रवेश गरेको उपाध्यक्ष सिंखडाले मेरोन्युजसँग बताइन् । ‘मैले मन्दिरमा केही महिनाअघि प्रवेश गरेकी थिएँ, गाउँपालिकाको योजना अनुगमनको क्रममा बाटो पर्ने हिसाबले मन्दिर हुँदै गएको हो,’ उनले भनिन्, ‘त्यो बाटो परेको हुनाले म त्यहाँ पसेँ, तर किम्बदन्तीमा भनिएको जस्तो केही अनौठो भएको छैन, पहिले नै भएको घटनालाई अहिले टिकाटिप्पणी गरिरहेका छन् ।’

अहिले मन्दिरमा प्रवेश गरेको भन्दै आफूविरुद्ध महिलाहरूले नै टिप्पणी गरेको उपाध्यक्ष सिंखडाले बताइन् । उनले थपिन्, ‘त्यतिखेर मैले मन्दिर प्रवेश गरेको थाहा पाइयो र संजोगबस केही घटना घट्यो भने आरोप आउला भनेर यो कुरा सार्वजनिक गरेकी हुँ । तर, अहिले पनि टिकाटिप्पणी गर्नेमा महिलाहरू नै बढी हुनुहुन्छ ।’

यस्तो छ मन्दिरको किम्बदन्ती

किम्बदन्तीअनुसार सयौँ वर्षपहिले एकजना मगर जातिका मानिस हलो काट्न मण्डली मन्दिरको वनमा पुगेका थिए । हलो काट्ने क्रममा रुखबाट रगत निस्किएको र बञ्चरो निकाल्न नसकेपछि घर फर्किए । सोही रात सपनामा रुखको फेदबाट भगवान् निस्केर पाठीको बली मागेको भनाइ रहँदै आएको छ ।

साथै यो मन्दिर उत्पतिको किंवदन्ती समेत विचित्र किसिमको रहेको पाइन्छ । स्थानीय वृद्ध मानिसहरूको भनाइअनुसार मण्डली माईको उत्पति भएको समय लगभग १७५० सालतिर हो । त्यतिबेला एकजना देविदास नाम गरेको मगर हलो काट्न भनी वनमा गए । त्यहाँ सालको रुख काट्न लाग्दा बन्चरोको धार नै झ¥यो । सालको रुखमा डोब पनि लागेन । यस्तो देखेर ती मगर आश्चर्य मान्दै घरमा आए ।

भोलिपल्ट धार झरेको बन्चरो लिएर आरनमा गई अर्चापेर ल्याए र फेरि, त्यही हिजो काट्न लागेको सालको रुख ढाल्न भनी गए । र, रुख काट्ने बित्तकै रुखबाट रातो रगत बग्न थालेछ । त्यो देखेर ती मगर आश्चर्य चकित हुँदै रुख काट्नै छोडेर घर गए । सपनाको आधारमा सोही रुखको फेदमा पुजा गर्ने प्रचलन रहँदै आएको छ ।

महिला जान किन रोक ?

हरेक हप्ताको मंगलबार सयौँ पाठीलाई बली चढाइने मन्दिरमा महिला प्रवेश गरे अकल्पनीय घटना हुने मान्यता रहेको छ । पुजा गरेपछि भक्तजनहरूले टीका लगाउन नहुने र प्रसाद घर लैजान नमिल्ने मान्यताले स्थानीय वनमा बनाएर खाने गर्दछन् । स्थानीयबासीले मन्दिरको जंगलबाट काठपातलगायत सामाग्री लगे सो घरको परिवारमा संकट पर्ने मान्यता रहेको छ ।

दया दुदराज

मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया