शनिबार, वैशाख ८, २०८१

ओलीविरुद्ध माधव नेपाल पक्ष निर्वाचनमा जाँदै

मेरोन्यूज २०७८ वैशाख २२ गते १५:४३

काठमाडौँ । रिक्त रहेको राष्ट्रियसभाको एक सिटका लागि गृहमन्त्री रामबहादुर थापा ‘बादल’विरुद्ध डा. खिमलाल देवकोटा भिड्ने भएका छन् । आगामी जेठ ६ गते हुने निर्वाचनमा एमालेका तर्फबाट सूर्य चिह्नमा बादलले उम्मेदवार दिने भएका हुन् भने एमालेकै नेता देवकोटाले माओवादीको चुनाव चिह्नमा उम्मेदवार दिने भएका हुन् ।

बादल केपी शर्मा ओली नेतृत्व सरकारमा गृहमन्त्री छन् । यस्तै, माओवादीले एमाले निकट बुद्धिजीवी एवं संघीयताविद् डा. देवकोटालाई आफ्नो चुनाव चिह्नमा उम्मेदवार बनाउन लागेको हो । देवकोटालाई माओवादीसहित नेपाली कांग्रेस र एमालेकै माधव नेपाल पक्षलगायतले समर्थन गर्ने भएको छ ।

मंगलबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले वरिष्ठ नेता माधव कुमार नेपाल र उपेन्द्र यादवबीच छलफल भएर डा. देवकोटालाई ओलीको विपक्षी गठबन्धनमा साझा उम्मेदवार बनाउने सहमति भएको थियो ।

गत फागुन २३ गते सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेज गरी पूर्ववत अवस्थामा नै नेकपा एमाले र नेकपा माओवादी केन्दलाई ब्यूँताइदिएसँगै माओवादी केन्द्रका नेता बादल ओली नेतृत्वको पार्टीमा लागेका थिए । बादलले चुनाव जितेको पार्टी छाडेको भन्दै माओवादी केन्द्रले उनीसहित प्रतिनिधीसभाका ४ र राष्टिय सभाका २ जना सदस्यलाई कारवाही गरेको थियो । त्यस्तै प्रदेशतर्फका पनि केही सांसद र स्थानिय तहका पनि केही जनप्रतिनिधीलाई माओवादीले कारवाही गरी पदमुक्त गराएको छ। योसँगै उनीहरूको पद स्वतः खारेज भएको थियो ।

​लुम्बिनी प्रदेशमा एमालेका सांसदबाट राजीनामा दिइ कांग्रेस प्रवेश गरेका नेता दूगनारायण पाण्डेलाई राष्ट्रियसभा सदस्य बनाउने सहमति भएपछि बागमतीमा खनाल नेपाल पक्षका देवकोटालाई उम्मेदवार बनाइएको एक नेताले जानकारी दिए ।

डा. देवकोटाले विकास अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् । यस्तै उनी वित्तिय संघीयता व्यवस्थापनका विज्ञ मानिन्छन् ।

यो पनि पढ्नुहोस्

माओवादीको चुनाव चिन्ह्रमा गृहमन्त्री बादलसँग खिमलाल भिड्ने

प्रतिक्रिया