बुधबार, वैशाख १२, २०८१

स्कारपियो दुर्घटना हुँदा चालकको मृत्यु, दुई जना घाइते

मेरोन्यूज २०७८ वैशाख २२ गते ११:१९

काठमाडौँ । दाङमा स्कारपियो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । घटनामा दुई जना गम्भीर घाइते भएका छन् ।

रोल्पाको लिवाङबाट घोराहीतर्फ आउँदै गरेको बा १३ च ८०४८ नम्बरको जीप मंगलबार राति करिब ९ बजेतिर घोराही मुर्कुटी सडक खण्डमा पर्ने घोराही–४ उर्लेकेनी ओरालोमा सडकबाट करिब ८ सय मिटर तल खसेर दुर्घटना भएको थियो ।

दुर्घटनामा गाडी चालक घोराही–१६ का अन्दाजी २८ वर्षीय विष्णु गिरीको घटनास्थलमा नै मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय दाङका प्रहरी नायब निरीक्षक उत्तम जिसीले जानकारी दिए । दुर्घटनामा तुलसीपुर–१६ का अन्दाजी २३ वर्षीय वसन्त भण्डारी र तुलसीपुर–४ का ३३ वर्षीय राजकुमार थापा घाइते भएका छन् ।

घाइतेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ । डोजर मर्मतका लागि रोल्पा पुगेका उनीहरु जीप रिजर्भ गरेर दाङ फर्कंदै गरेका थिए । राति दुर्घटना भए पनि कसैले थाहा नपाएका कारण आज बिहान मात्रै घाइतेहरुको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

मृतकको शव राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।

प्रतिक्रिया