बिहीबार, वैशाख १३, २०८१

बाँकेमा थप दुई र चितवनमा तीन सङ्क्रमितको मृत्यु

मेरोन्यूज २०७८ वैशाख २२ गते ९:५९

नेपालगञ्ज । बाँकेमा उपचारका लागि भर्ना भएका थप दुई जना कोरोना सङ्क्रमितको अस्पतालमै मृत्यु भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका–४ निवासी ६० वर्षीय पुरुष र डुडुवा गाउँपालिका–५ बाँके निवासी २७ वर्षीय पुरुषको उपचारका क्रममा अस्पतालमै मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।

उनका अनुसार यही वैशाख १० गते भेरी अस्पताल नेपालगञ्जमा भर्ना भएका ६० वर्षीय पुरुषको गए राति ११ः४५ बजे मृत्यु भएको थियो भने वैशाख १५ गते शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका २७ वर्षीय पुरुषको आज बिहान ४ः४० बजे मृत्यु भएको हो ।

बिरामीको रोगको प्रकृतिअनुसार उपचार गर्दागर्दै पनि स्वास्थ्य अवस्थामा सुधार नआई उनीहरुको अस्पतालमै मृत्यु भएको हो ।

मृतकको शव व्यवस्थापनका लागि जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र र नेपाली सेनाले परिवारसँगको समन्वयमा तयारी गरिरहेको स्रोत व्यक्ति वलीले बताए । यससँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १४५ पुगेको छ ।

चितवनमा तीन सङ्क्रमितको मृत्यु
कोरोना सङ्क्रमणका कारण चितवनमा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवन, अर्घाखाँचीका र रुपन्देहीका एक/एक जना छन् ।

भरतपुर अस्पतालमा उपचारका क्रममा भरतपुर महानगरपालिका–२५ का ४५ वर्षीय पुरुषको मृत्यु भएको हो । निमोनियाको समस्या भई वैशाख १९ गते अस्पतालमा भर्ना भएका उनमा २० गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

कोभिड सङ्क्रमण पुष्टिपछि कोभिड सघन उपचारकक्षमा उपचारका क्रममा आज बिहान ५ः३५ बजे मृत्यु भएको हो ।

यस्तै रुपन्देहीको बुटवल उपमहानगरपालिका–९ का ४२ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । उनको चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । उनी श्वासप्रश्वासमा समस्या आई यही वैशाख २१ गते मेडिकल कलेजमा आएका थिए ।

उनमा २१ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएपश्चात अस्पतालमा उपचारका क्रममा उनको मङ्गलबार राति २ः३० बजे मृत्यु भएको हो ।

यसैगरी अर्घाखाँचीको भूमिकास्थानका एक पुरुषको कोरोनाका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा भूमिकास्थान–१ का ४२ वर्षीय पुरुष रहेको चितवन मेडिकल कलेजले जनाएको छ ।

कलेजका अनुसार श्वासप्रश्वासमा समस्या आई यही वैशाख २१ गते अस्पताल आएका उनको राति २ः०२ बजे मृत्यु भएको हो । उनमा वैशाख २० गते बुटवलको नेशनल प्याथोल्याबमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया