बुधबार, कार्तिक १०, २०७८

साँखु बजारमा सतर्कतापूर्वक बज्रयोगिनीको जात्रा समापन गरिंदै

मेरोन्यूज २०७८ वैशाख २२ गते ९:५५

काठमाडौं । चैत्र शुक्ल पूर्णिमादेखि शुरु भएको बज्रयोगिनीको जात्रालाई साँखुको मुख्य बजार क्षेत्रमा घुमाउने विधि मङ्गलबार समापन भएको छ ।

Advertisement

प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमादेखि आठ दिनसम्म साँखु क्षेत्रमा गरिने बज्रयोगिनी उग्रतारा देवीको खटयात्रा यस वर्ष कोरोना भाइरसको सङ्क्रमणबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै शुरु गरिएको थियो ।

जात्रा वैशाख शुक्ल अष्टमीसम्म साँखु बजार क्षेत्रमा मनाउने गरिन्छ ।

राजा शङ्खदेवको पालामा कलिगत संवत् १८१८ देखि शुरु भएको ऐतिहासिक, धार्मिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण जात्रा गत वर्ष कोरोनाबाट बच्न लगाइएको बन्दाबन्दीका कारण स्थगन गरिएको थियो ।

जात्रामा प्रत्येक खट ५० मिटरको फरकमा राखेर गरिएको तथा चलाखु टोल सुधार समितिले मास्क र स्यानिटाइजरसमेत वितरण गरेको बज्रयोगिनी जात्रा व्यवस्थापन समितिका संयोजक प्रज्ज्वलमान सिंहले जानकारी दिए ।

Advertisement

जात्रामा बज्रयोगिनी उग्रतारा, चैत्यभराद (बुद्धमूर्ति), सिंहिनी र व्याघ्रिनीका चार मूर्ति खटमा राखेर जात्रा गर्ने परम्परा छ ।

तीन हजार ३०० वर्षमा तीनपटक जात्रा स्थगित
तीन हजार ३०० वर्षभन्दा लामो इतिहास भएको जात्रा गत वर्षसमेत तीनपटक रोकिएकाले पनि यस वर्ष स्वास्थ्य सुरक्षाका विधि अपनाएर गरिएको व्यवस्थापन समितिले जनाएको छ ।

राजा रणबहादुर शाहको शासनकालमा बिफर रोगको महामारी र विसं १९७० मा बज्रयोगिनी मन्दिरमा आगलागी भएका कारण जात्रा रोकिएको साँखु क्षेत्रको सांस्कृतिक विषयमा अध्ययन अनुसन्धान गरिरहेका प्रकाशमान श्रेष्ठ ‘सक्व’ले जानकारी दिए ।

शङ्खरापुर नगरपालिका वडा नं ४, ७ र ८ को बीचमा रहेको बज्रयोगिनी मन्दिरबाट खट उठाएर साँखुका आठ टोलमध्ये चार टोलमा राख्ने गरिन्छ । खट राख्न धुला, चलाखु, इला र सुनटोल गरी चारवटा तोकिएको छ ।

यस वर्ष चलाखु टोलमा खट राख्ने पालो परेको थियो । धुलाटोलमा राख्दा साल्खा, चलाखुटोलमा राख्दा दुगाहिटी, इलाटोलमा राख्दा पुखुलाछी र सुनटोलमा राख्दा इपाटोलको पनि प्रतिनिधित्व हुने गरी राख्ने गरिएको साँखु क्षेत्रको ऐतहासिक, पुरातात्विक, धार्मिक र सांस्कृतिक खोज अभियानमा लागेका ‘सक्व’ ले जानकारी दिए ।

गत वर्ष भीडभाड नगर्ने उद्देश्यले खट जात्रा नगरिए पनि पुजारीबाट हुने पूजा आराधना र नाथ सम्प्रदायका योगीले गर्ने पूजालगायत विधि भने पूरा गरिएको थियो ।

यस वर्ष स्वास्थ्यका मापदण्ड पूरा गरेर भौतिक दूरी कायम गर्दै जात्रा सम्पन्न गरेर छोड्ने समितिको प्रतिबद्धता छ ।

गत बिहीबार मूल जात्रा चलाउने/नचलाउने विषयमा दुई पक्षबीच विवाद भए पनि शुक्रबार बिहान बजार क्षेत्रलाई निर्मलीकरण गरी स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर जात्रा सम्पन्न गर्ने सहमति भएको थियो ।

सतर्कतासाथ जात्रा सम्पन्न गरिँदै
लामो छलफल र सहमतिपछि साँखुको मूलजात्रा सुरक्षा सतर्कताका साथ सम्पन्न गरिंदै छ । जात्राअघि र जात्राको भोलिपल्ट समेत साँखु जेसिजले साँखु बजारभरि नै निर्मलीकरण गरेको छ ।

जात्रा शुरु गर्नुअगावै साँखु बजारका सम्पूर्ण पसल बन्द गराइएको छ । स–साना बालबालिकालाई सडकमा नल्याउन अनुरोध गरिएको थियो । जात्रामा साँखु बाहिरबाट पाहुना आउन रोक लगाइएको छ ।

जात्रा हेर्ने दर्शकलाई समेत मास्क अनिवार्य गरिएको थियो । दश वर्षमुनिका बालबालिकालाई घरघरबाट मात्रै जात्रा हेर्न अनुरोध गरिएको थियो । जात्रामा खट बोक्ने युवाको समूहसमेत भौतिक दूरी कायम गरेर सहभागी गराइएको थियो ।

जात्रा सञ्चालनअघि नै सबै देवीदेवताका खट स्यानिटाइज गरिएको थियो । जात्राको खट बोक्ने सबै युवालाई पनि मास्क अनिवार्य गरिएको थियो । जात्रा सकिएपछि पुनःस्यानिटाइज गरेपछि मात्रै मानिसलाई घरघरमा जान दिइने गरिएको छ ।

मङ्गलबार बेलुकी ‘थहाँ बिज्या’ बज्रयोगिनी मातासहित चैत्य भराड र सिंहिणी ब्याघ्रिनीकोसमेत रथारोहण गरिएको छ ।

आज बिहान करिब ७ बजेपछि पुनः जात्रा शुरु भएको छ । आठ बजे पञ्चबुद्धको मुकुट लगाएका बज्राचार्य पुजारी रथबाट उत्रिएर साँखु बजार बाहिर कोलागाल पुग्ने परम्परा छ ।

कोलागालमा सबै देवीदेवतालाई अगाडि पछाडि गर्दै खेलाउने गरिन्छ । त्यसपछि कोलागालको कुलोभन्दा पर पुर्‍याएर साँखु बजारको समूहले जात्राका देवीदेवताका सबै रथ त्यहीँ छोडिदिन्छन् । यो विधि पूरा भएपछि साँखु बजारका स्थानीयवासीले गर्ने जात्रा सकिन्छ ।

बुधबारपछि साँखु बजारमाथि जात्रा
यसपछि घुमारचोक, लप्से र डाँडाकटेरीका तामाङ समुदायका स्थानीयवासीले जात्रा चलाउँछन् ।

बजारभन्दा माथिल्लो भेगका स्थानीयवासीले श्री बज्रयोगिनी माता फर्काउने जात्रालाई आफ्नो घरमा फर्काउने भन्दै देवीदेवताको जात्रा उल्लासमय रूपले गर्दछन् । जात्रापछि वैशाख कृष्ण नवमीका दिन भोजसमेत गर्ने परम्परा छ ।

जात्राका देवीदेवता बज्रयोगिनी मन्दिर परिसर पुर्‍याएपछि ‘थहाँ बिज्या’ को कार्यक्रम सकिन्छ । तीन दिनपछि राजारानीका तर्फबाट मन्दिरमा पूजासहित भोज खाने गरिन्छ । चार दिनपछि पुनः राजाको खड्ग लिएर साँखु बजार परिक्रमा गरिन्छ । राजाको खड्ग बिदाइसँगै साँखु जात्रा समापन गरिने विधि रहेको छ । (रासस)

प्रतिक्रिया