बुधबार, वैशाख १२, २०८१

संसद् छलेर अध्यादेशमार्फत शासन चलाउने सरकारको कार्यशैली घोर आपत्तिजनक– देउवा

मेरोन्यूज २०७८ वैशाख २१ गते १८:३९

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद् छलेर अध्यादेशमार्फत शासन चलाउने वर्तमान सरकारको कार्यशैली घोर आपत्तिजनक रहेको जनाएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले आज प्रेस वक्तव्य जारी गरी संसद्को बजेट अधिवेशन बोलाउन ढिला भइरहेको अवस्थामा धमाधम अध्यादेश जारी गरिनु आपत्तिजनक रहेको बताएका हुन् ।

कांग्रेसले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशलगायत ७ अध्यादेश ल्याउने सरकरको निर्णयको घोर भत्र्सनासमेत गरेको छ । आजै राष्ट्रिपति विद्यादेवी भण्डारीले सात अध्यादेश जारी गरेकी छिन् ।

राष्ट्रपतिले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८, संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी ) पहिलो संशोधन, यौन हिंसाविरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने, औषधि (तेस्रो संशोधन), सामाजिक सुरक्षा (पहिलो संशोधन) तथा नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८ जारी गरेकी हुन् ।

संसद्को गत अधिवेशनमा पेश भएका ती अध्यादेश कार्यसूचीमा परे पनि छलफल हुन नसकेपछि सरकारले पुनः अध्यादेश ल्याएको हो । अध्यादेश जारी भएको मितिले छ महिनाभित्र संसद्बाट पारित हुनुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया