आइतबार, साउन २९, २०७९

छोरीको पत्र : अस्मिता लुटिएर मर्नुभन्दा गर्भमा हत्या

विजया पन्त २०७८ वैशाख २१ गते १७:५६

श्री माननीय बुबा, आमा, दाजु भाइ, दिदी बहिनी, राज्य संचालकज्यू, पत्रकारज्यू, मानवअधिकारकर्मी, बालअधिकारकर्मी, नीति निर्माताज्यू साथै देशबासीमा मृत आत्माको ढोग।


आज हजुरहरूलाई सम्झदै दुई शब्द लेखन मन लाग्यो । हुन त हिजो अस्पतालको ओछ्यानबाट भेन्टिलेटरको सहायताले चलेको ढुकढुकीबाट आवाजविहीन चित्कार त सुन्नु भएन भने अब त म यो सारमा नै छैन के सुन्नुहुन्छ ? पहिला त म छोरी भएर जन्मेकोमा सबैसँग माफ माग्छु।किनकि म छोरी भएरै जन्मेको कारण अकल्पनीय रुपमा ज्यान गुमाउन पर्यो । यो त मेरो आत्म मूल्याङकन हो। अब यस देशमा छोरी भएकै कारण सबै छोरी यसरी नै मर्नु पर्ने हो ? वा राज्यबाट बनाइएका कडाभन्दा कडा ऐन कानुनले मर्नु पर्ने हो ? यो प्रश्न नीति निर्माता, महिला अधिकारवादी, मानव अधिकारवादी, बाल अधिकारवादीलाई।

हुन त आज छोरी भएकै कारण गर्भ परीक्षण गरी भ्रुण हत्या गरेर यस धर्तीमा पाइला टेकेर संसारलाई चिहाउन नपाएको अवस्था छ। त्यसको तुलनामा म भाग्यमानी ठान्छु । मेरो आमा बुबाले छोरी नै भए पनि जन्म दिनु भो। तर अहिले मभन्दा ती गर्भमा नेै तुहाइने छोरीलाई भाग्यमानी ठान्छु किनकि छोरी भएर जन्मेको कारण नै मैले भोग्ने पीडा उनीहरूले भोग्नु परेन। म मात्र ६ वर्षकी थिएँ। ममा कुनै यौवनका संकेन नै थिए न त कुनै श्रृङ्गार पटारबाट अरुलाई अकर्षण नै गर्थेँ। थियो त केवल बालसुलभ चञ्चलापन। मेरो लागि यो धर्तीका हरेक मान्छे एउटै थिए। विभेद पाए महिला र पुरुषको रुपमा पाउँथेँ।

पुरुष जति मेरो लागि बुबा, दाइ, भाइ थिए भने महिला जति आमा, दिदी, बहिनी थिए। म सबैलाई गंगाको निर्मल जल झै पवित्र ठान्थेँ र म पनि त्यस्तै पवित्र थिएँ। म आफूभन्दा ठूला मान्छेको साथमा रहदा सुरक्षित ठान्थेँ। त्यसैले ती नरपिशाचको काखमा पनि माया र सुरक्षाको अनुभूत गरिरहेकी थिएँ। मानव विकासको हरेक चरणमा शारीरिक, मानसिक र संवेगात्म विकास हुन्छ। म त पूर्वबाल्यावस्था मै थिएँ। ममा शारीरिक, मानसिक र संवेगात्मक विकास भैसकेको थिएन। म धेरै शब्दहरू जानेकी पनि थिइन न त ठूला मान्छेका व्यवहार नै बुझ्थेँ। मेरो आफ्नै संसार थियो भाँडाकुटी,संगीसाथी। तर आज म यसरी नफक्रँदै कोपिला मै चुँडिएँ, निमोठिएँ र मिल्काइएँ । मेरो पीडालाई न त ती नरपिशाचले नै बुझे न त राज्यले। ती मानवता गुमेका नरपिशाचसँग त मेरो केही गुनासो छैन। तर राज्य र यहाँका नीति निर्मातासँग भने छ।


म जन्मँदा एउटा परिवारको छोरीको रुपमा जन्मे पनि जव म र्ददनाक घटनामा परेर हस्पिटलको ओछ्यानमा जीवन मृत्युसँग लडिरहेकी थिएँ त्यति बेला म यो देशकी छोरी थिएँ। मेरो पीडाले देशलाई दुख्न पर्ने थियो तर दुखेन। एउटा अबोध बालिकाको अस्मिता लुटिँदा सबै मुकदर्शक भएर बस्न सक्ने यो देशको कानुन कस्तो ? म हस्पिटलको ओछयानमा अचेत अबस्थामा भेन्टिलेटरको सहायताले सास फेरिरहेकी थिएँ। मेरो बुबा र आमाको आशा बाँचोस् भन्ने थियो। म बाँचे पनि यो ठाउँमा सुरक्षित थिइन आमा। न त सबै पीडा हजुरसँग भन्न नै जान्दथेँ न त मेरो पीडा सुन्न नै सक्नुहुन्थ्यो।

Advertisement

म हजुरबाट सदाको लागि विदा भएँ आमा म विदा हुँदा नरुनु बरु अब छोरी सुरक्षित छ भनेर खुसी हुनु आमा। बुबा जति नजिक आउनुहुन्थ्यो हजुर आउन सक्नु भएन किनकि त्यो पीडा हजुरले जति बुझ्नुहुन्थ्यो बुबाले बुझ्नुहुन्नथ्यो। आमा अब पिर नमान्नु म यी नरपिशानचबाट कहिल्यै लुटिन्न आमा, कहिल्यै लुटिन्न, सुरक्षित भएँ। यहाँ यस्ता अपराधीलाई सजाय दिइन्न किनकि यो जघन्य अपराधको कडा कानुन बनाउँदा आफ्ना छोरा फस्लान भन्ने नीति निर्माता र राज्य संचालकलाई डर छ। यस्तो शासन व्यवस्था भएको देशको नागरिक हुनुभन्दा मर्नु नै ठीक भयो आमा। त्यसैले हृदय नभएको राज्यको अगााडि आँसु नचुहाउनु होला कातर स्वर नसुनाउनु होला।


म नेपालका सबै आमासँग हात जोडेर हात जोडेर यो भन्छु, यसरी अस्मिता लुटिएर मर्नुभन्दा छोरीको गर्भमा नै भ्रुण हत्या गर जन्म नदेऊ आमा जन्म नदेऊ। उही नेपाल आमाकी छोरी।

लेखिका पन्त महेन्द्र बोधी मावि तानसेन पाल्पामा अध्यापनरत छन्

प्रतिक्रिया