बिहीबार, चैत १५, २०८०

बहालवाला मन्त्रीहरू नै कोरोनाबाट संक्रमित

कोरोनाको चपेटामा शीर्ष व्यक्तिहरू

दया दुदराज २०७८ वैशाख २१ गते १४:४५

काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड–१९)को नयाँ भेरियन्ट देशभर तीव्र रुपमा फैलिरहेको छ । छिमेकी मुलुक भारतमा यसको प्रभाव बढेसँगै नयाँ भेरियन्टको प्रभाव नेपालमा समेत बढेको छ ।

कोरोनाको संक्रमणबाट नेपालमा हालसम्म ३ हजार ३६२ जनाले ज्यान गुमाएका छन् । यस्तै, कोरोनाबाट ३ लाख ४३ हजार ४१८ जना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । कोरोनाको चपेटामा परेको नेपालमा संक्रमितको दर दैनिक ४३ प्रतिशतले वृद्धि भएको स्वस्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै बहालवाला मन्त्री तथा ठूला पदका कर्मचारीहरुमा समेत संक्रमण पुष्टि भएको छ । जसमध्ये हालसम्म तीन जना बहालवाला मन्त्रीहरुलाई कोरोना संक्रमण पुष्टि भइसकेको छ । यस्तै स्रोतका अनुसार यी तीन मन्त्रीबाहेक अर्का एक मन्त्रीलाई पनि कोरोनासँग मिल्दो लक्षण देखिएपछि अहिले कुनै बैठक तथा छलफलमा नगई निवासमै बसेका छन् । उनी आइतबार र सोमबारको दुवै मन्त्री परिषद् बैठकमा सहभागी भएका थिएनन् ।

कोरोना संक्रमण पुष्टि भएका मन्त्रीहरूमा खानेपानी मन्त्री मणिचन्द्र थापा, उर्जा जलस्रोत तथा सिचाई मन्त्री टोपबहादुर रायमाजी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाल रहेका छन् । खानेपानी मन्त्री मणिचन्द्र थापालाई शुक्रबार बैशाख १७ गने बिहान आएको पीसीआर परीक्षणको रिपोर्टमा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टि भएपछि मन्त्री थापा होम आइसोलेसनमा बसेको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको सचिवालय स्रोतले जनाएको छ ।

उर्जा मन्त्री रायमाझीलाई गत बैशाख १४ गते मंगलबार कोरोना संक्रमण पुष्टि भएको थियो । उनी आफ्नो गृहजिल्ला अर्घाखाँची पुगेर कार्यक्रममा सहभागी भई काठमाडौँ फर्किएर स्वाब परीक्षण गर्दा कोरोना संक्रमित पुष्टि भएको हो ।

Advertisement

लक्षणसहितको कोरोना संक्रमण देखिएपछि उनी वीरेन्द्र सैनिक अस्पताल छाउनीमा भर्ना भएको उनको सचिवालयले जनाएको छ । यस्तै, बैशाख १९ गते उड्डयनमन्त्री ढकाल र उनकी श्रीमतीलाई कोरोना पुष्टि भएको थियो । आफ्नो सामाजिक सञ्जालमार्फत उनले भनेका थिए, ‘आज गरिएको परीक्षणबाट हामी श्रीमान् श्रीमतीलाई कोभिड–१९ संक्रमण भएको नतिजा प्राप्त भएको छ । हाल हाम्रो स्वास्थ्य अवस्था सामान्य छ र हामी निवासमा नै आराम गरिरहेका छौँ ।’

बहालवाल मन्त्रीहरूसँगै पूर्वराजाका दाम्पती, नेकपा एमालेका बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, नेपाली कांग्रेसका पूर्वमन्त्री शंकर भण्डारी र पार्टी प्रवक्ता विश्वप्रकाश शर्मासहित, ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी ढुण्डी प्रसाद निरौलालाई समेत कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै, अन्य नेताहरूमा नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराई, केन्द्रीय सदस्य माधव ढुंगेल र विष्णु रिजाललाई पनि कोरोना पुष्टि भएको छ । उनीहरूको स्वास्थ्य अवस्था सामान्य नै रहेको बताइएको छ । यसैगरी शीर्ष कलाकार मदनकृष्ण श्रेष्ठका परिवारलाई नै कोरोना संक्रमण पुष्टि भए पनि अहिले उनीहरू निको भइसकेका छन् ।

कोरोनाको नयाँ भेरियन्ट तीव्र गतिमा फैलिएसँगै यसको रोकथाम र नियन्त्रण गर्न हालसम्म देशका ४५ जिल्लामा निषेधाज्ञा लागू गरिसकेको छ । निषेधाज्ञा जारी गरिए पनि संक्रमणको दर घट्न सकेको छैन ।

पछिल्लो २४ घण्टामा मात्रै देशभर थप ७ हजार ४४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभर ३ लाख ४३ हजार ४ सय १८ जनामा कोरोना पुष्टि भएको छ ।

दया दुदराज

मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया