बिहीबार, वैशाख १३, २०८१

कोरोनाविरुद्ध दुवै डोज खोप लगाएकी भण्डारीको मृत्यु

मेरोन्यूज २०७८ वैशाख २१ गते ११:४९

काठमाडौँ । कोरोना भाइरस (कोभिड १९)विरुद्धको दुवै डोज खोप लगाएकी बागलुङ जिल्लाको ताराखोला गाउँपालिकाकी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गाउँपालिका–३ की ३० वर्षीया तेजमाया भण्डारी परियार रहेकी छन् ।

गाउँपालिकाको कार्यपालिका सदस्यसमेत रहेकी उनको कोरोना संक्रमण हुँदा उपचारका क्रममा मृत्यु भएको हो । उनको धौलागिरी अस्पताल बागलुङमा मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिए ।

कोरोनाको लक्षण देखिएपछि भण्डारीलाई गत १८ गते अस्पतालमा भर्ना गरिएको थियो । उनको १९ गते कोरोना संक्रमण पुष्टि भएको र सोमबार राति अस्पतालको आइसियुमै उपचारका क्रममा मृत्यु भएको छ ।

उनको अक्सिजनको मात्रा जम्मा ५० मा पुगिसकेको थियो । अस्पतालमा आइसियुमा राखेर उपचार गर्दा पनि उनको स्वास्थ्यमा सुधार हुन सकेको थिएन ।

उनले दुवै चरणको कोरोनाविरुद्धको खोप लगाएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक उदित थापाले बताए । काठेखोला गाउँपालिका ३ धम्जा माइत भएकी उनले अन्र्तजातीय विवाह गरेकी हुन् ।

उनी नेकपा माओवादी केन्द्रबाट ताराखोला वडा नम्बर ३ बाट वडा सदस्य हुँदै कार्यपालिका सदस्य बनेकी थिइन् ।

प्रतिक्रिया