बिहीबार, वैशाख ६, २०८१

नेपाल सुपर लिगः आज काठमाण्डौ र बुटवल भिड्ने

मेरोन्यूज २०७८ वैशाख २१ गते १०:१४

काठमाडौं । काठमाण्डौमा जारी पहिलो संस्करणको नेपाल सुपर लिग फुटबलमा आज चौथो चरणको अन्तिम एक खेल हुँदैछ ।

आज बुटवल लुम्बिनी एफसी र काठमाण्डौं रेजर्स प्रतिस्पर्धा गर्नेछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ साढे ५ बजे सुरु हुनेछ ।

५ अंकसहित तालिकाको तेस्रो स्थानमा रहेको बुटवल आजको खेलमा जित निकाल्दै तालिकाको शीर्ष स्थानमा पुग्ने योजनामा रहेको छ ।

जारी प्रतियोगीताको एक मात्र अपराजित टोली बुटवलले सुरुवाती तीनमध्ये २ खेलमा बराबरी र एक खेलमा जितको नतिजा हात पारेको थियो ।
४ अंकमा तालिकाको पाँचौ स्थान रहेको काठमाण्डौं पनि आजको खेलमा जित निकाल्दै अघिल्लो चरण प्रवेशको सम्भावना कायमै राख्न चाहान्छ ।

यसअघि हिजो भएको खेलमा एफसी चितवनलाई २–० गोल अन्तरले हराउँदै विराटनगर सिटी एफसी तालिकाको शीर्ष स्थानमा पुगेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा विराटनगरले पहिलो हाफमा निकै आक्रामक खेल खेलेको थियो । यद्यपि मध्यान्तरअघिको खेलमा उसले गोल गर्न भने सकेन । खेलको २३औं मिनेटमा विराटनगरका सुनिल बलको प्रहार गोलपोष्टमाथिबाट बाहिरियो ।

खेलको ३६औं मिनेटमा विदेशी खेलाडी एडेलाजाले पाएको मौकाको सदुपयोग गर्नु सकेनन् ।

यसैगरी पहिलो हाफको अन्तिम समयमा विराटनगरका नीरकुमार राईको प्रयास पनि खेर गयो । मध्यान्तरपछिको खेलको ५८औं मिनेटमा विराटनगरका सन्तोष तामाङले गरेको प्रहार चितवनका गोलकिपर विशाल सुनारले रोके ।

विराटनगरका लागि खेलको ७३औै मिनेटमा विदेशी खेलाडी पेद्रो मान्जीले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाए । खेलको ८९औं मिनेटमा विराटनगरका लागि सन्तोष तामाङले दोस्रो गोल गरे ।

जितसँगै विराटनगर चार खेलमा सात अङ्क जोड्दै शीर्षस्थानमा प्रवेश गरेको छ । चितवनको चार खेलमा दुई अङ्क छ । चितवन लिगको पुछारमा छ ।

प्रतिक्रिया