शुक्रबार, वैशाख १४, २०८१

काठमाडौँमा आइसियू नहुँदा कोरोना संक्रमितको उपचार गर्न झापा लगियो

मेरोन्यूज २०७८ वैशाख २० गते १३:३४

काठमाडौँ । काठमाडौँका अस्पतालमा कोरोना भाइरस (कोभिड–१९)का जटिल बिरामीलाई भेन्टिलेटरसहितको सेवा नभएपछि संक्रमितलाई उपत्यका बाहिरी जिल्लाका अस्पतालमा लैजान सुरु गरिएको छ । कारोना महामारीको पहिलो चरणमा काठमाडौँ उपत्यका बाहिरका बिरामीलाई ‘हवाई बेड लिफ्ट’ गरी उपचारार्थ काठमाडौँ ल्याइने गरिन्थ्यो ।

यस क्रममा झापा बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा आज अपराह्न काठमाडौँस्थित मनमोहन अस्पतालमा उपचारार्थ एक कोराना संक्रमित बिरामीलाई थप उपचारार्थ हेलिकप्टरमार्फत ‘बेड सिफ्ट’ गरिएको छ । काठमाडौँका अस्पतालमा भेन्टिलेटरसहितको आइसियू श्यया नपाएपछि झापा कमल गाउँपालिका वडा –५ का ३५ वर्षीय मदन पाठकलाई बिएण्डसी अस्पताल लगिएको हो ।

यही वैशाख १५ गते पनि ह्याम्स अस्पतालबाट झापाकै कोरोना संक्रमित नरप्रसाद उप्रेतीलाई भेन्टिलेटरसहित आइसियू अभाव भएपछि काठमाडौँबाट हवाई चार्टरमार्फत सोही अस्पतालमा भर्ना गरिएको थियो छ । हाल उनको स्वास्थ्यमा सुधार भइरहेको अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले जानकारी दिए ।

उनका अनुसार काठमाडौँका अस्पतालमा कोरानाका बिरामीका लागि भेन्टिलेटरसहित आइसियूको अभाव भएपछि बिएण्डसीमा सम्पर्क गर्ने क्रम बढेको छ । अस्पतालसँग हाल ६५ भेन्टिलेटरसहित आइसियू श्यया, विशेषज्ञ चिकित्सक र आधुनिक प्रयोगशाला छ ।

उनले भनिन्, “तीमध्ये २५ भेन्टिलेटरसहित आइसियू श्यया कोभिडका बिरामीलाई छुट्याएका छौँ । बिरामीको आवश्यककता अनुसार थप गर्दै जाने अस्पतालको नीति रहेको छ ।” अस्पतालले कोभिड र अन्य बिरामीलाई उपचार गर्न अलग अलग भेन्टिलेटरसहित आइसियू श्ययाको ब्लग सञ्चालनमा ल्याएको छ ।

प्रस्तावित बिएण्डसी मेडिकल कलेजका कार्यकारी निर्देशक दूर्गा प्रसाईले कोभिड–१९ संक्रमितका उपचारमा अस्पतालले उच्च प्राथमिताका साथ सेवा प्रदान गरिरहेको जानकारी दिए । उनले राज्यलाई आवश्यक परेमा कोरोनाका बिरामीलाई अस्पतालमा भएका सबै श्यया र भेन्टिलेटरसहितका आइसियू श्यया उपचार सेवामा लगाउन आफू तयार रहेको बताए ।

प्रतिक्रिया