बुधबार, वैशाख १२, २०८१

सभामुख सापकोटाले पत्रकारलाई दिए शुभकामना

मेरोन्यूज २०७८ वैशाख २० गते १२:०२

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले ‘विश्व प्रेस स्वतन्त्रता दिवस २०२१’ को अवसरमा सञ्चारकर्मी एवं सञ्चारसम्बद्ध सबैलाई शुभकामना दिएका छन् । यस अवसरमा उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि जीवन गुमाएका सञ्चारकर्मीप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

उनले संविधानसभामार्फत निर्मित संविधानले पूर्ण प्रेस स्वतन्त्रता सुनिश्चित गरेको भन्दै यसको व्यवहारिक अभ्यासका क्रममा रहेको बताए । ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको सबैभन्दा महत्वपूर्ण र मजबुत पक्ष हो,’ उनले भने, ‘नेपालमा लोकतन्त्रको विकास, विस्तार र सुदृढीकरणमा सञ्चार जगतले खेलेको भूमिका प्रशंसनीय छ । प्राप्त अधिकारहरूको उपयोगका लागि सञ्चार जगत सधैजस्तै निर्भीकतापूर्वक लागिरहने विश्वास व्यक्त गर्दछु ।’

कतिपय अवस्थामा प्रेस स्वतन्त्रतामाथि समस्या पैदा भए पनि सामूहिक पहल र प्रयत्नबाट त्यस्ता समस्याहरू निराकरण गरिने उनले बताए । कोरोना भाइरस (कोभिड–१९)को संक्रमित भएर मृत्यु भएका सञ्चारकर्मीहरूप्रति श्रद्धासुमन अर्पण गर्दै उनले संक्रमित सबैको स्वास्थ्यलाभको कामना गरेका छन् ।

‘सञ्चारकर्मीहरूलाई आफू पनि सजक रहेर काम गर्ने र आम दर्शक, स्रोता र पाठकहरूलाई सचेत गराउनु पर्ने दोहोरो जिम्मेवारी छ,’ उनले भने, ‘विषम परिस्थितिमा सम्पूर्ण स्वास्थ्य सतर्कता अपनाएर सञ्चार जगतले उदाहरणीय भूमिका खेल्ने विश्वास व्यक्त गरेँ ।’

प्रतिक्रिया