शनिबार, वैशाख १५, २०८१

शंकर पोखरेल फेरि लुम्बिनीमा मुख्यमन्त्री नियुक्त

मेरोन्यूज २०७८ वैशाख १९ गते १५:३१

काठमाडौं । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुनः शंकर पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले उनलाई संविधानको धारा १६८(१) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

पोखरेलले आफ्नो नेतृत्वमा नेपालको संविधानको धारा १६८ को उपधारा १ बमोजिम सरकार गठन गर्न प्रदेश सभाको बहुमत सदस्यहरूको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष दाबी पेश गरेकाले मुख्यमन्त्री नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरञ्जिवी पौडेलले वक्तव्य जारी गरी उल्लेख गरेका छन् ।

लुम्बिनी प्रदेशमा एमालेसँग ४१ मत रहेको बताउँदै पोखरेलले मुख्यमन्त्री दाबी गरेका थिए । उनले माओवादी केन्द्रमा प्रवेश गरेकी विमला वली खत्रीको समेत समर्थन आफूसँगै रहेको दाबी प्रदेश प्रमुखसमक्ष गरेका छन् ।

तर, वलीले भने माओवादी केन्द्र रोज्न पुगेकी छिन् । विपक्षी गठबन्धनले आजै प्रदेश प्रमुखलाई आफूहरूसँग पनि ४० मत रहेकाले पोखरेललाई मुख्यमन्त्री नबनाउन आग्रह गदै पत्र बुझाएका थिए ।

प्रदेश प्रमुखले पोखरेललाई पुनः बहुमत प्राप्त दलको हैसियतमा मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

प्रतिक्रिया