शुक्रबार, वैशाख १४, २०८१

तुलसीपुर शव प्रकरण

प्रहरी र परिवारको मत बाझियो, प्रमाण नष्ट गरेको परिवारको आरोप

शव भएको गाडीलाई प्रहरीले आज बिहान ७ बजे नै धोएको परिवारको आरोप

दया दुदराज २०७८ वैशाख १९ गते १४:४०

काठमाडौँ । गत वैशाख १६ गतेदेखि हराइरहेका दाङ तलसीपुरस्थित गाइडरका तीन बालकहरु मृत अवस्थामा शनिबार राति फेला परेका छन् । तुलसीपुर–६ गाइडर निवासीे भीमबहादुर परियारका १० वर्षीय छोरा सन्देश र ७ वर्षीय करणसहित सन्तोष परियारका ७ वर्षीय छोरा सुवर्ण कारभित्र मृत अवस्थामा भेटिएको प्रहरीले पुष्टि गरेको हो ।

प्रहरीले बालकहरूको निस्सासिएर मृत्यु भएको जानकारी दिएको छ । गाडीको सबै ढोका लक हुँदा निस्सासिएर उनीहरूको मृत्यु भएको प्रहरीले बताउँदै गर्दा परिवारले अनुसन्धान ठीक नभएको बताएका छन् । यद्यपि, घटना संलग्न भएको आरोपमा प्रहरीले उक्त गाडीका मालिक र चालकलाई पक्राउ गरिसकेको छ ।

घटना स्थलमा रहेका पीडित परिवारका छिमेकी हरि बहादुर बि.क.ले प्रहरीको अनुसन्धान फितलो भएको बताएका छन् । गत माघ महिनादेखि पार्किङ गरिराखिएको आरजे ०१ सिसी ०८८५ नम्बरको भारतीय कारभित्र बालकहरू भेटिएका हुन् । उनीहरू गत १६ वैशाखदेखि वेपत्ता रहेको मृतक सन्देशका हजुरबुबाले मेरोन्युजसँग बताए ।

प्रहरी र परिवारको मत बाझियो

एकै परिवारका दुई दाजुभाइ र छिमेकीका एक बालक वैशाख १६ गते बिहान साँढे ७ बजेतिर घरबाट निस्किएका थिए । भोलिपल्ट बिहानसम्म उनीहरू घर नफर्किएपछि मृतकका परिवारले प्रहरीमा निवेदन दिएका थिए ।

तर, प्रहरीले निवेदन लिन नमानेको स्थानीय हरि बहादुरले बताए । ‘बालकहरू हराएको भोलिपल्ट बिहान हामीले इलाका प्रहरी कार्यालमा उजुरी दियौँ,’ उनले भने, ‘प्रहरीले यस्तो सानोतिनो घटना लिएर नआउनु भने, तर परिवारको करकाप र दबाबपछि बल्ल निवेदन लियो ।’

भारतीय नम्बर प्लेटको गाडीभित्र मृत भेटिएका तीन बालकको निस्सासिएर ज्यान गएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । पार्किङ गरेर राखिएको भारतीय नम्बर प्लेट आरजे ०१ सिसी ०८८ नम्बरको निशानको कारभित्र उनीहरूको निस्सासिएरै ज्यान गएको प्रहरीले प्रारम्भिक निस्कर्ष निकाले पनि यस निस्कर्षप्रति मृतकका परिवार असन्तुष्ट छन् ।

अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार कारको सबै ढोका बन्द हुँदा हावा कतैबाट नपसेपछि उनीहरूको ज्यान गएको हुन सक्छ । ‘घटनाको प्रकृति हेर्दा हत्या जस्तो देखिँदैन,’ अनुसन्धानमा संलग्न ती अधिकारीले भने । तर परिवारका सदस्यले शवको प्रकृति हेर्दा हत्या जस्तो देखिएको बताएका छन् ।

यी हुन दाङमा कारभित्र मृत भेटिएका ३ बालक, गाडि मालिक र चालक पक्राउ

‘दुई वटा बच्चाहरू नग्न थिए, उनीहरूको पाइट र सर्ट उतारेर सिरानीमा राखिएको थियो, एउटा बच्चाको चाहिँ माथिको टिर्सट खोलिएकोे तर पाइट नखोलिएको अवस्थामा थियो,’ स्थानीय हरि बहादुरले मेरोन्युजसँग भने, ‘तीन वटै शवहरू कारको फरक–फरक दिशामा थिए, एकै स्थानमा थिएन, यो हेर्दा हत्या जस्तो देखिन्छ ।’

शनिबार राति इलाका प्रहरी कार्यालय तुलसीपुर र जिल्ला प्रहरी कार्यालय दाङ घटना स्थल पुगेको थियो । तर, प्रहरीले घटनासँग सम्बन्धित प्रमाण मेटाउन काम गरेको स्थानीयले जनाएका छन् । स्थानीय हरि बहादुरले भने, ‘प्रहरीले खोजतलास गरेको भनिए पनि प्रहरीले खोज अनुसन्धान नगरेको जस्तो देखिन्छ, शव भएको गाडीलाई प्रहरीले आज बिहान ७ बजे नै धोएका छन्, त्यो किन धोइयो ? केही न केही रहस्य पक्कै छ ।’

दाङमा पार्किङ गरिएको कारभित्र तीन बालकको शव फेला

घटनाको अनुसन्धान प्रहरीको विशेष टोलीले गरिरहेको छ । घटनाको थप अनुसन्धान गर्न बाँकेबाट तालिम प्राप्त कुकुरसहितको विशेष टोली तुलसीपुर पुगेको छ । शवलाई पोस्टमार्टमका लागि अस्पताल पुर्याइएको छ ।

दया दुदराज

मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया