शुक्रबार, वैशाख १४, २०८१

सुनसरीमा निषेधाज्ञा उलङ्घन गर्ने २७० सवारी साधन कारवाहीमा

मेरोन्यूज २०७८ वैशाख १९ गते ८:२५
फाइल फाेटाे

इनरुवा । निषेधाज्ञाको समयमा लागू गरिएको जोर विजोर प्रणाली अटेर गरी सडकमा गुडाइएका २७० सवारी साधनलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिई कारवाही गरेको छ ।

शनिबार पहिलो दिन धेरैजसोलाई सम्झाइबुझाई छाडिएको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए ।

नियन्त्रणमा लिइएका सवारी साधनमा मोटरसाइकल २०७, तीन पाङग्रे ५८ र चार पाङग्रे पाँच वटा थिए ।

इनरुवाको महेन्द्रचोक क्षेत्र सिल
सुनसरी प्रशासनले शनिबार इनरुवा–३ स्थित महेन्द्रचोक क्षेत्र सिल गरेको छ । तीन दिनको अवधिमा कोरोना सङ्क्रमणबाट एकै परिवारका दुई जनाको मृत्यु र सात जना सङ्क्रमित भएपछि तत्काललाई सो क्षेत्र सिल गरिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए ।

अर्को सूचना जारी नभएसम्मका लागि महेन्द्रचोक क्षेत्र सिल गरिएको उनले जानकारी दिए । सङ्क्रमण फैलन सक्ने अवस्थालाई मध्यनजर गर्दै सिल गरिएको प्रजिअ ढकालले बताए ।

चोक क्षेत्र सिल गराउन नगर प्रमुख राजन मेहता स्वयं सो स्थान पुगेका थिए । जोखिम बढेकाले सिल गर्ने निर्णयमा पुग्नुपरेको भन्दै विषम परिस्थितिमा घरमै बसी कोरोना नियन्त्रणमा सघाउ पु¥याउन नगरवासीलाई उनले आग्रह गरे ।

प्रतिक्रिया