मंगलबार, वैशाख ११, २०८१

राजनीतिमा अपराधीकरण

अपराधबाट राजनीति प्रवेश गरेकाहरुको विश्व राजनीतिमा यस्तो छ हालिमुहाली

मेरोन्यूज २०७८ वैशाख १८ गते २२:१४

काठमाडाैं । दुई वर्षअघि श्रीलङ्कामा एक अपराधी सांसद वनेका थिए । एक हत्याको अभियोगमा मृत्युको सजाय सुनाइएको प्रेमलाल जयासेकरा नाम रहेका उनी श्रीलंकाको सांसद बनेका थिए । उनलाई श्रीलंकाको सत्तारुढ पार्टी श्रीलंका पोडुजान पार्टी (एसएलपीपी)को सांसद बनाएको थियो । सन् २०१५ मा विपक्षी कार्यकर्तालाई एक चुनावी र्‍यालीमा गोली हानेर मारेका थिए । संसदीय चुनावको केहि दिन पहिला मात्रै उनलाई हत्या अभियोगमा, दोषी ठहर्याउँदै मृत्युको सजाय दिइएको थियो ।

अपराधिक पृष्ठभूमिबाट राजनीतिमा लागेको व्यक्ति हुन कोलम्बियाका पाब्लो एस्कोबार । उनी लागुऔषध कारोबारबाटै राज्य सत्तामा पुगेका व्यक्ति हुन् । उनको अपराधिक सत्ता यति लामो रह्यो कि जब उनी मारिए त्यसपछि पनि अपराधि जत्थाले राजनीतिमा लामो समयसम्म सोझो पहुँच बनाइरहे ।

आपराधिक क्रियाकलापबाट धन र शक्ति आर्जन गरेका पाब्लो एस्कोबार कोलम्बियाको सत्तामा पकड बनाउन सफल मात्रै भएनन राजनीतिको नशामै पुगेर आफूलाई शक्तिशाली बनाइरहे । कोकिन कारोबारबाट विश्वका धनाढ्यको सूचीमा आठौ नम्बरमा रहेका विश्वकै सबैभन्दा धनाढ्य अपराधीका रूपमा आफूलाई परिचय दिए । भनिन्छ, उनी सांसद भएपछि कोलम्बियामा कसलाई राष्ट्रपति बनाउने भन्नेबारेमा उनी निर्णायक हुन्थे । कालन्तरमा एस्कोबार जस्ता अपराधी राजनीतिमा हावी हुँदा कोलम्बियाको राजनीति नै संकटमा पर्यो ।

यस्तै एउटा उदाहरण पाकिस्तानी सांसद हनिफ अब्बासी प्रकरणलाई पनि लिन सकिन्छ । उनीमाथि लागुऔषध प्रयोग गरेको अभियोगमा मुद्दा दायर मात्रै भएको थिएन आजीवन कारावासको सजाय समेत तोकिएको थियो । नेपालमा पनि हत्या अभियोग लागेका बबन सिंहले रौतहटबाट निर्वाचन जिते । भूमिगत हुँदाहुँदै निर्वाचित भएपछि उनले भूमिगत रुपमै सपथ लिएका थिए । रेशम चौधरीको मुद्धा अहिले पनि सर्वोच्च अदालतमा विचाराधीन छ भने उनी जेलमा रहेका छन् ।

राजनीतिमा अपराधीहरूको सोझो प्रवेशले समाजमा नकारात्मक असर परेको उदाहरण छिमेकी मुलुक भारतलाई पनि लिन सकिन्छ । कुनै बेला भारतको बिहारमा राजनीतिमा अपराधीहरूको प्रभाव कतिसम्म बढ्यो भने हत्या, लुटपाट र अपहरणमा संलग्नहरू मन्त्री हुन्थे । अहिले त्यसको प्रभाव नेपालमा विस्तारै परिरहेको छ । राजनीतिमा गुण्डाहरुले आफूलाई सुरक्षित राख्ने थलोको रुपमा विकास गर्दै लगेको देखिन्छ । नेपालमा पनि यस्तो उदाहरण बन्दै गएको छ ।

दीपक मनाङे प्रदेश मन्त्री बनिसके । विजय गच्छदारको पार्टीबाट गणेश लामा दुई पटक निर्वाचनमा भाग लिए, अहिले नेपाली कांग्रेसमा छन् । मीनकृष्ण महर्जन, परशुराम बस्नेतहरु अहिले क्रमशः नेपाली कांग्रेस र नेकपा (एमाले)को राजनीतिमा छन् । दिनेश अधिकारी चरी एमालेमा थिए । राधे भण्डारी तरुण दलतिर छन् । अन्य गुण्डाहरु पनि राजनीतिकै छहारीमा छन् । मधेश आन्दोलनको बेला उदाएका सन्जय टक्ला मन्त्री समेत भए अहिले उनी जेलमा रहेका छन् । राजाको शासनकालमा निक्ष शमेशरहरु मन्त्री भए, पञ्चायतमा जगत गौचनहरु गुण्डागर्दीबाट राजिनीतिमा प्रवेश गरेका थिए ।

तत्कालीन नेकपा (माओवादी) भर्खरै शान्ति प्रकृयामा आएको बेला वाइसिएलको नाममा अपराध बढ्यो । त्यसलाई रोक्न एमालेको युवा संघले यूथ फोर्स बनायो । जसले गर्दा दुवैतिर गुण्डाहरुलाई कसले संगिठत गर्ने भन्ने होडबाजी नै चल्यो । यसको मारमा केही समय राजनीतिक दलका इमानदार नेताहरुले भोगेका थिए । उनीहरुको पार्टी प्रवेशले नेताहरुलाई बेलाबेलामा असजिलो बनाइरहन्थ्यो तर पनि अपराधमा लागेका व्यक्तिहरुले उच्च नेतृत्वको पहुँचबाट बाहिर बस्न सकेनन । उनीहरुलाई कुनै कुन रुपबाट पार्टीको उच्च नेतृत्वले संरक्षण गरिनै रह्यो ।

अपराधीहरुले पनि पार्टीको छहारी खोजिरहे । दिनेश अधिकारी चरीले एमालेको साथ पाउँदा राधा भण्डारीले कांग्रेसको छहारीमुनी पुगे । उता परशुराम बस्नेत एमालेको युवा संघको उपाध्यक्षबाट बिदा भएका छन् । उनलाई एमालेको संरक्षणमा रहेका छन् । २०७४को निर्वाचन आसपासमा दिपक मनाङे एमालेको नजिक गए । उनले मनाङमा निर्वाचन लड्ने तयारी गरिरहेका बेला प्रदेश सभामा उनलाई सहयोग गर्ने र संघमा एमालेलाई सहयोग गर्ने सहमतिसाथ एमालले उनलाई अघि सार्दा एमाले कार्यकर्ताले त्यसको विरोध गरे ।

एमाले कार्यकर्ताको विरोधपछि तत्कालीन समयमा उनलाई स्वतन्त्र रुपमा निर्वाचन जान र त्यहाँ सहयोग गर्ने बचन दिइयो । त्यही अनुसार मनाङेले निर्वाचन लडे । आखिर निर्वाचमा जितेपछि उनी गण्डकी प्रदेशको सांसद बने । कुनै बेला प्रहरी अधिकारीको नजर गुन्डागर्दीका नाइके रहेका दीपक मनाङेको गतिविधिमाथि पर्थ्याे । अहिले अवकाश पाइसकेका दर्जनभन्दा बढी प्रहरी अधिकारीहरुले उनलाई पक्राउ गरेर अपराधका दर्जनौं मुद्दा लगाए । सार्वजनिक अपराध, कुटपीट, हत्या, कर्तव्य ज्यान, तथा ज्यान मार्ने उद्योग जस्ता मुद्दा खेपेका मनाङे विहीबार गण्डकी प्रदेशको युवा खेलकुद मन्त्री नियुक्त भए ।

दर्जनौं मुद्दा खेपेका र फौजदारी अभियोगमा जेल सजाय भोगेका गुण्डानाइके राजीव गुरुङ उर्फ दीपक मनाङेलाई गण्डकी प्रदेशको एमाले नेतृत्वको सरकारले युवा खेलकुद मन्त्री बनाएको छ । मनाङको प्रदेश निर्वाचन क्षेत्र (ख) बाट प्रदेशसभामा एक हजार चार सय १० मत ल्याएर स्वतन्त्र उम्मेदवारमा विजयी भएका मनाङेलाई प्रदेश मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आफ्नो मन्त्रिपरिषदमा मन्त्री नियुक्त गरे ।

लामो समय गुण्डागर्दीमा संलग्न रहेका मनाङेलाई गत २०७४ सालको प्रदेश सभाका लागि शुरुमा एमालेबाट निर्वाचन लड्न खोजेका थिए । तर एमालेभित्र व्यापक विरोध भएपछि उनी स्वतन्त्र रुपमै निर्वाचनमा भाग लिए । त्यसबेला उनले प्रतिस्पर्धी कर्म गुरुङलाई हराएका थिए । कर्म गुरुङको एक हजार २० मत आएको थियो । मनाङेलाई २०७६ असारमा मुख्यमन्त्री गुरुङले पार्टीमा स्वागत गरेका थिए ।

गुण्डागर्दीमै चर्चा कमाएका मनाङेको अपराधकर्मको यात्रा ठमेलबाट सुरु भएको थियो । ठमेलका दुई गुण्डाहरु चक्रे मिलन र मनाङेले आफ्नो आफ्नो तर्फबाट फरक फरक क्षेत्रबाट गुण्डागर्दीमा संलग्न भए । चक्रे मिलन शुरुदेखिनै एमालेसँग निकट थिए भने मनाङे कांग्रेस, राजावादी, संघीय समाजवादी हुँदै एमाले प्रवेश गरेका हुन् ।

०६० साल पुस ११ गते चक्रे मिलनलाई धारिलो हतियार प्रयोग गरेको अभियोगमा पक्राउ परेका थिए । त्यसयता जेल बसेर छुटेपछि उनी ०६५ साल फागुन र ०७० साल फागुनमा पक्राउ परेका थिए । ०७० सालमा सेनाका मेजरलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका मनाङेलाई तत्कालीन काठमाडौंका प्रमुख जिल्ला अधिकारीले ६ महिना कैद सुनाएपछि अदालतमा मुद्धा चल्दा एक वर्ष थप कैद सजाय सुनाएको थियो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २०७० जेठ ५ गते मनाङेसहित पाँच गुन्डाविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा चलाएको थियो । विभागले मनाङेसँग अवैध रुपमा कमाएको १४ करोड ७३ लाख ३१ हजार रुपैयाँ सम्पत्ति रहेको दाबी गरेको भए पनि उनको सबै सम्पत्ति वैद्य बनाइदिएको थियो ।

२०५०/५१ सालतिर ठमेलमा मनाङका मानिसले होटल तथा रेस्टुरेन्ट खोल्न थालेपछि ठमेलमा उनले शुरु गरेको गुण्डागर्दीलाई प्रदेश सांसद रहेकै बेला २०७६ माघमा एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङमाथि हातपात गरेपछि पक्राउ परेका थिए । गुरुङलाई कुटपीट गरेको आरोपमा पक्राउ परेर ६ हजार धरौटीमा छुटेका थिए ।

आखिरमा राजनीतिमा आएका मनाङेले सांसद भएपछि नै पोखरामा कास्की एन्फाका अध्यक्षलाई कुटपीट गरेर ६ हजार धरौटी राखेर छुटेका थिए । यसबाट के प्रष्ट हुन्छ भने नेपाली राजनीतिलाई गुण्डाहरुले प्रयोग गरेका छन् वा नेताहरुले गुण्डाहरुलाई प्रयोग गर्दा उनीहरुको सत्ताको नजिक हुन मौका पाएका हुन कि यो विषयमा बहस आवश्यक भइसकेको छ ।

प्रतिक्रिया