बुधबार, वैशाख १२, २०८१

जनस्वास्थ्य विज्ञ भन्छन्

सरकारले उपचार गर्न बेड छैन भनेर हात उठाउन मिल्दैन

सञ्जिता खनाल २०७८ वैशाख १८ गते १८:२०

काठमाडौं । सरकारले शुक्रबार २२ जिल्लाका अस्पतालमा कोरोना संक्रमितका लागि बेड खाली नभएको सूचना जारी गरी नयाँ संक्रमितलाई अस्पतालमा राखेर उपचार गर्न नसक्ने जनायो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको सूचनामा मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली र कञ्चनपुर जिल्लाका अस्पतालका बेड खाली नभएको जनाएको थियो ।

कोरोना महामारी बढिरहेका बेला यसरी संक्रमितको उपचार गर्न सक्दिन भनेर हात उठाउनु सरकारको लाचारीपन रहेको भन्दै चौतर्फी विरोध भएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संक्रमतिको उपचार गर्न सक्दिन भनेर हात उठाउनु सरकारको गैरजिम्मेवारीपन भनेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक एवम् जनस्वास्थ्य विज्ञ डा बाबुराम मरासिनी कोरोनाले देश र जनता आक्रान्त भएको अवस्थामा सरकारले नबोल्नुपर्ने कुरा बोलेको बताउँछन् ।

‘यस्तो कुरा सरकारले बोल्न मिल्दैन,’ उनी भन्छन्, ‘अस्पतालमा आइसोलेसन खाली नभएको भए खुल्ला ठाउँमा टेन्ड गाडेर भए पनि उपचार गर्न सकिन्छ ।’

बस्तीभन्दा टाढा टहरामा अक्सिजनसहितको आइसोलेसन बनाएर पनि बिरामीको उपचार गर्न सकिने उनले बताए । संक्रमण रोक्ने तथा संक्रमितको व्यवस्थापन गर्ने समय हुँदाहुँदै समयमै ध्यान दिन नसक्दा यस्तो समस्या आएको उनको भनाइ छ ।

‘गर्ने चाहना हो भने जे पनि गर्न सकिन्छ । एउटा सुकुम्वासीले त रातारात घर बनाएर बस्न सक्छ,’ पूर्वनिर्देशक मरासिनीले भने, ‘स्वास्थ्य मन्त्रालयले विज्ञप्ति निकाल्ने मात्र काम गर्यो, अन्य काम समयमै गर्न सकेन् ।’

चाँगुनारायणमा वीर अस्पतालको २२ रोपनी जग्गामा तत्काल टहरा बनाएर अक्सिजन राखेर संक्रमितको उपचार गर्न पनि उनले सुझाए । जनताले पनि स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने र सरकारले पनि मापदण्डको पालनामा कडाइ गर्नुपर्नेमा उनको जोड छ । उनले भने, ‘यदि मास्क नलगाई हिँड्नेलाई कारवाही गर्ने हो भने संक्रमण धेरै हदसम्म नियन्त्रणमा लिन सकिन्छ ।’

पूर्वस्वास्थ्य सचिव डा सुधा शर्माले सरकारले अस्पताल भरिए अब उपचार गर्न सक्दैनौ भन्न नहुने बताइन् । “नेपालको संविधानमा लेखिएको कुरा जनताको मौलिक हक हो, आधारभुत स्वास्थ्य सेवा दिन्छु भन्ने अनि आपतकालीन अवस्थामा सरकारले हात उठाउने ?” उनले प्रश्न गरिन् ।

सरकारको नेतृत्व गर्ने व्यक्तिबाट पटकपटक त्रुटी भएको उनको ठहर छ । पूर्वसचिव शर्माले भनिन्, ‘अहिले यो अवस्था सरकारका प्रमुखबाट र विभिन्न राजनीति दलका नेताहरुले जनस्वास्थ्य मापदण्ड उल्लंघन गर्दा जनताहरुले पनि टेरेनन ।’

सरकारले अस्पतालमा राखेर कोरोना संक्रमितको उपचार गर्न नसकिने अवस्था आएको बताएपछि शनिबार नेपाल चिकित्सक संघले पनि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सञ्जिता खनाल

मेराेन्यूजकर्मी खनाल राजनीति र स्वास्थ्यसम्बन्धी विषयमा कलम चलाउँछिन् ।

प्रतिक्रिया