शुक्रबार, वैशाख ७, २०८१

सिंहदरबारभित्रै ‘गुप्तबास’मा अर्थमन्त्री पौडेल !

बिहान ८ बजे सिंहदरबार छिरेपछि एकैपटक घर फर्कने अर्थमन्त्रीको समय हो, राति १० बजे

किरण अधिकारी २०७८ वैशाख १८ गते १५:५१

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेल अचेल सार्वजनिक कार्यक्रममा कतै देखिन्नन् । कतै देखिए पनि धेरै बेर बस्दैनन् ।

उनको पार्टी एमालेभित्र अहिले पनि अनेक लफडा कायमै छ । पार्टी विवादमा कसैप्रति तिखो टिप्पणी नगर्ने र सबैसँग मिल्न सक्ने उनीसँग खुबी छ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली पार्टीका अर्का नेता माधव नेपाल पक्षका लागि बिझाइरहने पात्र बनिरहँदा पौडेल नेपाल पक्षका नेता कार्यकर्ताका लागि पनि नविझाउने नेताका रुपमा परिचित छन् ।

पछिल्ला दिनमा अर्थमन्त्री पौडेललाई पार्टीभित्रकै लफडालाई गहिरो गरी नियाल्ने, त्यसमा अन्य नेताहरुले जसरी टिप्पणी गर्ने र कार्यक्रममा दौडने कुनै फुर्सद छैन । प्रधानमन्त्री ओलीले केही साताअगाडि मात्रै पार्टी विवाद मिलाउन दुई दिन लगातार होटल मेरियटमा नेता नेपालसँग संवाद गरे । पहिलो दिनको संवादको वातावरण निर्माणका लागि अर्थमन्त्री पौडेलले पनि भित्री भूमिका खेलेका थिए ।

तर, उनी धेरैबेर त्यहाँ बसेनन् । दुई नेतालाई एक्लै संवाद गर्ने वातावरण बनाएर उनी मन्त्रालय पुगे । बिहान उठेदेखि साँझ सुत्ने बेला नहुँदासम्म सिंहदरबारमै कुनै मन्त्री भेटिन्छन् भने, उनी अर्थमन्त्री पौडेल नै हुन् । यसरी किन उनी मन्त्रालयको एउटै कोठाभित्रै गुप्तबास बस्न रुचाइरहेका छन् त ?

प्रश्न अनेक हुन सक्छन् । तर, अन्य कुनै कारणले अर्थमन्त्री पौडेल ‘गुप्तवास’ बसेका होइनन् । उनी आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि बन्द कोठाभित्र गुप्तबासमा बसेका हुन् ।

उनलाई साथ दिइरहेका छन्, अर्थसचिव शिशिरकुमार ढुंगाना, वित्तिय नियन्त्रक मधु कुमार मरासिनी, प्रवक्ता एंव सूचना अधिकारी महेश आचार्य र राष्ट्र बैंकका कर्मचारीसहितको सानो समूहले ।

यही समुहको मेहनतमा अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७८-७९ को बजेट निर्माणको काम अन्तिम चरणमा पुर्‍याएको छ । जेठ १५ मा बजेट प्रस्तुत गर्ने संवैधानिक कार्य तालिकाअनुसार मन्त्री पौडेलसहितका टिम सिंहदरबारभित्र एकाबिहानै छिर्ने र बन्द कोठाभित्रै कसैले भेट्नै नसक्ने गरी हराइरहेका छन् ।

बजेट निर्माणको बाह्य समूहमा राष्ट्रिय योजना आयोग, महालेखा नियन्त्रक कार्यालयका अधिकारी, अर्थ मन्त्रालयका अन्य सहसचिव, उपसचिवको समूह छ । जुन समुह बिहानदेखि रातिसम्म अर्थमन्त्रालयमा व्यस्त हुन्छन् । सरकारको सल्लाहकार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी पनि माग भएअनुसार सल्लाह, परामर्श दिन सिंहदरबार पुगिरहेका हुन्छन् ।

अर्थमन्त्रीको दैनिकी : बिहान उठ् सिंहदरबार कुद् !

अर्थमन्त्री पौडेल बिहान उठ्ने बित्तिकै सिंहदरबार जान थालेको महिना दिन भइसकेको छ । अबको २९ दिनमा कुनै राजनीतिक उथलपुथल नभए उनैले बजेट भाषण गर्ने छन् । त्यसलै उनी बिहानदेखि साँझसम्म व्यस्त छन् ।

बिहान ८ बजे सिंहदरबारस्थित अर्थ मन्त्रालय पुगेपछि एकैपटक घर फर्कने उनको समय तालिका हो, रातको १० बजे । त्योभन्दा ढिला पनि हुन्छ होला, तर चाँडो घर फर्किएका छैनन् । कालो चिया र खाजा खाएर खाना सेट बोकेर मन्त्रालयतिर दौडने दैनिकी अर्थमन्त्रीको लामो भइसक्यो ।

मन्त्री पौडेलले बजेटको सुझावका लागि केही दिनअघि आह्वान गरेका थिए । जसअनुसार अधिकांशले दिएको सल्लाह÷सुझावका बुँदालाई सकेसम्म समेट्ने तयारीमा जुटेको उनका स्वकीय सचिव यमप्रसाद पाण्डेको दाबी छ ।

कोरोना र बजेट निर्माणमा गुप्तबास बस्नुपर्ने एकैपटक परेकाले मन्त्री पौडेल मन्त्रालयमा भेटघाट गर्न समेत रोक लगाएका छन् । उनले सबैको सल्लाह, सुझाव र आवश्यकतालाई समावेश गरिसकेको र अब भेटका नाममा समय खेर फाल्न नचाहेकाले भेटघाटलाई बन्द गरिएको अर्थ मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

अर्थमन्त्री स्वंयम बिहानै मन्त्रालय पुग्ने गरेपछि कर्मचारी पनि मन्त्रीसँगै मन्त्रालय पुग्ने गरेका छन् । त्यसपछि उनीहरुको पनि कर्म एउटै छ, योजना आयोग, नेपाल राष्ट्र बैंकको योजनासहितका रकम तथ्यांक मिलाउने काम ।

अर्थमन्त्री पौडेलले सोही काममा मन्त्रालयका विभिन्न शाखाका प्रमुखलाई बोलाएर योजनाअनुसारको हिसाबकिताब आफै टिप्ने गर्छन् । उनीसँग उनकै प्रेस सल्लाहकारले समेत भेट्न पाएका छैनन् । उनका प्रेस सल्लाहकार भुवन के.सी. बिहान १० बजेदेखि ५ बजेसम्म मन्त्रालयमा भए पनि नभएको बताउँछन् ।

‘मेरै पनि भेट मुस्किल छ । मन्त्रीसँग बोल्ने, भेट्न नपाएर त्यसै फर्किने गरेको धेरै दिन हुन लागिसक्यो,’ सल्लाहकार के.सी.ले मेरोन्यूज सँग भने । स्वकीय सचिव पाण्डेको पनि अवस्था उस्तै छ । यसरी तयारीमा जुटेका मन्त्री पौडेलले ल्याउने बजेट कसरी आउँछ ? बजेटमा स्रोतको उपलब्धतासँगै योजना, रकम कतिको अटाउन सक्ने हुन्, त्यो हेर्न भने केही दिन बाँकी नै छ ।

पहिले र अहिलेको बजेटमा के हुन्छ फरक ?

मन्त्री पौडेलले अर्थ मन्त्रालय सम्हालेको यो पहिलोपटक होइन । उनी यसअघि ओली पहिलोपटक प्रधानमन्त्री हुँँदा अर्थमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । त्यसबेला उनले आर्थिक वर्ष २०७३-७४ को बजेट ल्याउने मौका पाएका थिए ।

अहिले उनी ठिक पाँच वर्षपछि २०७८-७९ को बजेट ल्याउने तयारीमा जुटेका छन् ।

मन्त्री पौडेलले आर्थिक वर्ष २०७३-०७४ का लागि १० खर्ब ४८ अर्ब ९२ करोड १३ लाख ५४ रुपैयाँको बजेट ल्याएका थिए । उनले व्यवस्थापिका सांसदमा उक्त रकम बराबरको बजेट सार्वजनिक गर्दा तत्कालीन राष्ट्रिय योजना आयोगका पदाधिकारीले दिएको सिलिङभन्दा एक खर्ब ४९ अर्ब ९२ करोड रुपैयाँले बढी बजेट ल्याएका थिए ।

त्यसबेला यसअघि लगातार ३ पटक बजेट ल्याएका अर्थमन्त्री युवराज खतिवडाको सहयोगमा मन्त्री पौडेलले बजेट ल्याउँदा धेरैको गालीसमेत खाएका थिए । ०७३ सालमा बजेट ल्याउँदा अहिले अमेरिकाका राजदूत बनेका खतिवडाको सहयोगले सहज अनुभूति गरेका थिए । तर, अहिले कोभिडले लगातार प्रहार गरेको अर्थतन्त्र उकास्ने, सन्तुलन मिलाउने र स्रोत जुटाउने र परिचालन गराउने ठूलै खालको चुनौती छ ।

चालु आव ८ अर्ब ५० करोड राजस्व संकलन हुने र त्यसमा २० प्रतिशत राजस्व वृद्धिको लक्ष्य राखिने भएको छ । यसमध्ये आन्तरिक अन्तः शुल्क र मूल्य अभिवृद्धि करको ३० प्रतिशत संघ र प्रदेशको कोषमा जाने अपेक्षा छ । संघीय सरकारसँग ९ खर्ब राजस्वका अतिरिक्त २ खर्ब ५० अर्ब रुपैयाँ आन्तरिक ऋण तथा २ खर्ब ५० अर्बकै हाराहारीमा विदेशी ऋण तथा ५० अर्ब रुपैयाँ बराबरको अनुदान परिचालन हुने अपेक्षासहित बजेटमा लागेका छन्, मन्त्री पौडेल ।

ठूलै आकारमा बजेट ल्याउने तयारीमा जुटेका मन्त्री पौडेललाई बजेटको आकारअनुसार त्यसको व्यवहारिक कार्यान्वयन कतिको हुन सक्छ ? भन्नेमा अर्थविद्, उद्योगी, व्यापारी, सरकारी कर्मचारीदेखि सर्वसाधारण सबैले हेरिएको छ ।

गत माघमा मन्त्री पौडेलले चालु आव बजेट मध्यावधि समीक्षा गर्दै बजेट आकार घटाएर संशोधन गरेका थिए । आगामी आर्थिक वर्षको बजेटसँगै लगातार ४ वर्ष बजेट ल्याउन लागेको ओली नेतृत्वको सरकारले निरन्तर ३ वर्ष बजेटको आधार समीक्षामा घटाउने गरेको छ । किन यस्तो हुन्छ त ? मेरोन्यूज डटकमले मन्त्री पौडेललाई सम्पर्क राख्दा व्यस्तता कारण देखाए ।

सुरुमा महत्वकांक्षी बजेट ल्याउने र त्यो कार्यान्वयन गर्न नसकेपछि आकार घटाउने गरेको आरोप खतिवडासँगै पौडेललाई छ । केपी ओली नेतृत्वको सरकारले सार्वजनिक गरेको तीनवटै बजेटको आकारबीचमा घटाइएको हुँदा आगामी बजेट किन ठूलो ल्याउनु पर्यो ? भन्ने प्रश्न पनि सँगै उठेको छ ।

अर्थ मन्त्रालयका पूर्व सचिव रामेश्वर खनाल ठूलो आकारको बजेट देखाएर ताली खान सबै पल्कने भएकाले ठूलो आकारको बजेट ल्याउनु अर्थमन्त्रीहरुको बाध्यता भएको बताउँछन् । ‘योजनासँगै कार्यमा जोड दिए तत्कालीन अर्थमन्त्री बाबुराम भट्टराईको सिको गर्न सके दुविधा हुँदैनथ्यो,’ पूर्व अर्थसचिव खनालले भने ।

अर्थविद् एवं योजना आयोगका पूर्व उपाध्यक्ष तथा अमेरिकाका लागि पूर्व नेपाली राजदूत डा. शंकर शर्मा कोरोनाले थिलोथिलो भएको अर्थतन्त्रका बीचमा चुनौतिपूर्ण बजेट ल्याउने अवस्थामा अहिले अर्थमन्त्री रहेको बताउँछन् ।

‘कोरोना महामारीबीच चालु आव झै आगामी वर्षको पनि बजेट ल्याउन लागेका अर्थमन्त्री पौडेलले ठूलो बजेट ल्याए कार्यान्वयन चुनौतीपूर्ण हुने निश्चित छ, फेरि समीक्षामा घटाउँदा कसको के जान्छ र ?’ शर्माले भने ।

कत्रो बजेट निर्माण गर्ने भन्ने विषयमा छलफल हुँदा अर्थमन्त्रीले नै चालु वर्षको भन्दा बढाउनु पर्ने बताएका छन् । तर, कति बन्ने भन्ने कसैले खुलाएका छैनन् ।

चालु आव २०७७-०७८ का लागि १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका पूर्व अर्थमन्त्री खतिवडाले २०७६-०७७ आव लागि १५ खर्ब ३२ अर्ब रुपैयाँको बजेट प्रस्तुत गरेका थिए । के अब १४ खर्बभन्दा कम हुन्छ त ? अर्थमन्त्रीसँगै, बजेट निर्माणमा संलग्नको मुख बन्द छ । यो थाहा पाउन अब २९ दिन पर्खिनु पर्ने भएको छ ।

किरण अधिकारी

मेराेन्यूजकर्मी अधिकारी अर्थसम्बन्धी विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया