बुधबार, भदौ १, २०७९

कविता

पानिको फोहरा हानिरहेको सिंहदरबार

शुभचन्द्र राई २०७८ वैशाख १८ गते १२:४४

छनलाई मसंग सिंगो जिन्दगि थियो
तर
सकियो यसरी नै,त्यसरीनै उज्यालोको खोजिमा।

अलिकति
विस्वास थियो
त्यो पनि पोखिएरै सकियो
-अलिकति नाराहरूमाथि
-अलिकति घोषणापत्रहरूमाथि
र अलिकति मतपत्रमाथि खन्याएर।

यी आँखाहरूसंग
जोशिलो सपनाहरू थिए
केही छुटिगए जंगलतिरै समयको मार्चपासमा
परेड खेल्दाखेल्दै
केहि खिया लागेर थन्किए
समयको शिविरभित्र।

यी ओठहरूसंग
बुलन्द आवाज थिए
-अलिकति खर्चियो
हजुरकै लागि बोलिदिन्छौँ भन्नेहरूको लागि कराईदिँदा
-अलिकति सकियो भक्तिगान गाउँदा गाउँदै
-अलिकति अल्झियो तानाशाहको विरुद्दको गितमा
-अलिकति सकियो निरङ्कुसताको विरुद्धको कवितामा
-अलिकति सकियो बेतिथिको विरुद्धको नारामा
-थोरै खर्च भो गणतन्त्रको पक्षको जयजयकारमा
-थोरै सकियो प्रतिगमनको विरोधि भाषणमा।

यी हातहरूसंग
दह्रिलो मुठ्ठि थियो
तर
-घरी भाँचिए जहानिया शाशनको विरूद्द उठ्दा
-घरी बाङ्गिए प्रजातन्त्रको लय सोझ्याउँदा
-कहिले बाँधिए विभेदको गाँठो फुकाउन खोज्दाखोज्दै
-कहिले झण्डा उचालेर उठ्यो
-कहिले कन्दुक समातेर तेर्सियो
हातहरूले अझैसम्म राहत खोजिरहेछन्।

Advertisement

यो छातिसंग
आत्मसम्मानको टाकुरा थियो
-अलिकति भत्कियो स्वाभिमानको व्यापारले
-अलिकति धस्कियो अराजकताको पहिरोले
-अलिकति पहिरो गयो हुकुमि शाशनको बाढीले
अहिले
पिडाको गहिरो खाडल मात्रै बाँकि छ।

यी पइतालाहरूसंग
अविचलित यात्राको प्रतिवद्दता थियो।
-केही हिँडिपठाईयो गन्तव्यको खोजिमा
-केही टेकिपठाईयो ईतिहासप्रतिको समर्पणमा
-केही पछ्याईपठाईयो आश्वासनको पछि पछि
-केही कुदिपठाईयो पक्ष विपक्षको झडपमा।


अहिले ठिक यो समय
रगतले लेखेको समर्पणको रक्तिम बहिखाता बोकेर
सपनाहरूको ठेगाना खोज्दै

आईपुगेको छु सिंहदरवार अगाडि

हेर्नू छ
पाईलाहरू रोक्न
पानिको फोहरा हानिरहेको सिंहदरबारसंग
बिचारको आगो निभाउने
कुन हतियार रहेछ ?
०००

शुभचन्द्र राई, खोटाङ

प्रतिक्रिया