शुक्रबार, वैशाख १४, २०८१

कञ्चनपुरमा कोरोना सङ्क्रमणबाट तीनको मृत्यु

मेरोन्यूज २०७८ वैशाख १८ गते १०:२७

कञ्चनपुर । कञ्चनपुरमा कोरोना भाइरसको सङ्क्रमणबाट गएराति तीन जनाको मृत्यु भएको छ ।

दुई जनाको महाकाली अस्पतालमा उपचारका क्रममा र एक जनाको होमआइसोलेशनमा मृत्यु भएको हो ।

महाकाली अस्पतालमा उपचारार्थ भर्ना भएका भीमदत्त नगरपालिका–१८ का ५२ वर्षीय पुरुष र सोही नगरपालिका १४ का ४८ वर्षीय महिलाको मृत्यु भएको महाकाली अस्पतालका कोभिड सम्पर्क व्यक्ति डा. गोविन्द रोकायाले बताए ।

यसैगरी भीमदत्त नगरपालिका–१८ का ६८ वर्षीय पुरुषको होमआइसोलेशनमा मृत्यु भएको छ ।

यसैबीच पश्चिमी सीमानाका गड्डाचौकी र गौरीफण्टा हुँदै शुक्रबार भारतबाट भित्रिएका एक हजार ७६९ मध्ये २८४ जनाको एन्टिजेन परीक्षण गरिएकामा ३३ जनाको नतिजा पोजेटिभ आएको छ ।

ताप्लेजुङमा पनि सङ्क्रमितको मृत्यु
ताप्लेजुङमा पनि कोरोना सङ्क्रमित एक जनाको मृत्यु भएको छ ।

फुङ्लिङ नगरपालिका–५ का कोरोना सङ्क्रमित महिलाको गएराति मृत्यु भएको हो । बिर्तासिटी अस्पतालबाट शुक्रबार घर फर्किएकी ८५ वर्षीय उनको गएराति सङ्क्रमणका कारण मृत्यु भएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिए ।

मुटुको समस्याका कारण विगत केही दिनअघिदेखि बिर्तासिटी अस्पतालमा उपचाररत लिम्बूलाई बिहीबार सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण देखिएपछि परिवारले होमक्वारेन्टिनमा राख्ने भन्दै शुक्रबार घर ल्याएका थिए । (रासस)

प्रतिक्रिया