बुधबार, वैशाख १२, २०८१

जाजरकोटमा विकास निर्माणको काम सुस्त

तोकिएको समयमा पुल निर्माण मुस्किल

मेरोन्यूज २०७८ वैशाख १८ गते ९:००

जाजरकोट । सडक स्तरोन्नतिको काम तीव्र बनाएसँगै जाजरकोट–डोल्पा सडकखण्डमा पुलको कामलाई गति दिइएको छ ।

जाजरकोट पासागाडबाट रिम्नासम्मको सडक पक्की गर्ने कामलाई तीव्रता दिनका लागि अहिले सडक फराकिलो बनाउने, ग्यावियन तारजाली राख्ने काम करिब सम्पन्न हुन लागेको छ ।

साना–साना खोला तथा पानीले प्रभाव पार्ने सक्ने ठाउँमा हिमपाइप राख्ने काम शुरु भएको सडक डिभिजन चौरजहारीका प्रमुख ध्रुबकुमार झाले जानकारी दिए । चिसापानीबाट जाजरकोटको तल्लुसम्म वातावरणीय प्रभाव मूल्याङ्कनको काम अन्तिम चरणमा पुगेको छ ।

दुई वर्षभित्र निर्माण पूरा गर्ने उद्देश्यले सम्झौता भएको सडकको काम सन्तोषजनक नभएको सरोकारवाला निकायको आरोप छ । कामदारको सङ्ख्या बढाएर कामलाई तीव्रता दिएमा मात्र तोकिएकै मितिमा काम गर्न सकिने आकलन गरिएको छ । भेरी करिडोरअन्तर्गत जाजरकोट–दुनै–मरिम तिन्जेधो सडक जाजरकोटको पासागाडबाट कालोपत्रको काम शुरु भएको हो ।

बहुवर्षीय योजनाअन्तर्गत काम शुरु भएको यस सडकमा पहिलो चरणमा पासागाड–रिम्नासम्मको सडकमा काम भइरहेको छ । दोस्रो चरणमा रिम्ना–तल्लुसम्मको हुने प्रमुख झाले जानकारी दिए । हाल सडकको चालु रहेको काम छिटो भइदिए बाँकी अगाडिको कामको ठेक्का खोल्न सजिलो हुने उनको भनाइ छ ।

तोकिएको समयमा पुल निर्माण नहुने
यस सडकखण्डको भुर्मेखोला, नलगाड नदीमा पुलको काम अन्तिम चरणमा पुगेको छ । डोल्पा खण्डका पाँच पुलको काम असारसम्ममा ८० प्रतिशत सम्पन्न हुने बताइएको छ ।

जाजरकोट खण्डका अन्य चार पुलको कामसमेत तीव्ररूपमा भइरहेको सडक डिभिजन चौरजहारीका प्रमुख झाले जानकारी दिए ।

निर्माण कम्पनीले तोकिएको समयमा काम गर्ने हो भने विकास निर्माणको काम धेरै टाढा नभएको उनको भनाइ छ । भइरहेको ठाउँमा कामको गति जति छिटो हुन्छ, उति नै बाँकी कामलाई ठेक्का लगाएर छिटो गर्न सकिने झाले जानकारी दिए ।

जाजरकोट–दुनै डोल्पासम्म १२ पुलको काम चालु अवस्थामा रहेको छ । जाजरकोटको तल्लु र रुकुमपश्चिम आठबीसकोट अनाह बीचमा रहेको भेरी नदीमा बेलीब्रिज निर्माण गर्नका लागि पहल शुरु भएको छ ।

पहिलो चरणमा जाजरकोट–डोल्पा सडकखण्डमा पर्ने करबगाड खोला, डोल्पाको खदाङस्थित हरियापानी, त्रिपुराकोटको छलगाड, त्रिपुराकोट बगरस्थित ठूलीभेरी नदी र ठूलीभेरी नगरपालिकामा पर्ने रुपगाड खोलामाथि बेलीब्रिजको काम असार मसान्तसम्म सम्पन्न गर्ने भनिएको भए पनि ८० प्रतिशत काम पूरा हुनेछ ।

विसं २०७६ मङ्सिरमा जाजरकोट–डोल्पा सडकखण्डको विभिन्न स्थानमा निर्माण गर्नुपर्ने पुलको प्रारम्भिक सर्वेक्षण सकिएपछि पाँच बेलीब्रिज पुलको निर्माण शुरु भएको थियो ।

विसं २०७७ असोज मसान्तभित्र यस सडकखण्डअन्तर्गत भेरी नदीमाथि पाँचवटा बेलीब्रिज पुल निर्माण हुने भनिए पनि २०७८ असारसम्ममा ८० प्रतिशत मात्र काम पूरा हुने बताएको छ ।

करिब ११८ किलोमिटर लामो जाजरकोट–डोल्पा सडकको ट्र्याक खोल्ने काम नेपाली सेनाले विसं २०७५ मङ्सिर ४ गते सम्पन्न गरेको थियो ।

निर्माण गरेको एक वर्षपछि २०७६ कात्तिक २१ सडक विभागलाई जाजरकोट–डोल्पा सडक औपचारिकरूपमा हस्तान्तरण गरिएको थियो । जाजरकोटबाट दुनैसम्म पुल र सडकको स्तरोन्नतिसँगै अन्य काम पूरा भएमा मात्र मरिम–तिन्जे सडक ठेक्का लिन सहजता आउने छ ।

उपल्लो डोल्पाका चार स्थानीय तहमा सडक जोड्न सजिलो हुने मात्र होइन, छिमेकी मुलुक चीनको तिब्बतसँग समेत सडक जोडिने छ ।

चार जलविद्युत आयोजना निर्माणमा सहजता
यस सडकको स्तरोन्नतिसँगै नलगाड जलविद्युत आयोजना, ताँसुगाड, जगदुल्ला, जगदुल्ला ए र भेरी ए, बी, सी आयोजना निर्माणमा सहजता आउने अपेक्षा लिइएको छ ।

आयोजनाका निर्माण सामग्री लैजानसमेत अहिले सडक नहुँदा समस्या भइरहेको छ । आयोजना निर्माणस्थलमा सामग्री लैजान अहिले ठूलो हेलिकोप्टर प्रयोग गर्नुपर्दा भारी धनराशि खर्च भइरहेको छ ।

त्यस्तै विद्युतको ३३ केभी प्रसारण लाइन निर्माणमा समेत चुनौती थपिएको छ । गाउँगाउँमा निर्माण गर्न लागिएका सबस्टेशनमा निर्माणका सामग्री लैजान धौधौ परेको हो । (रासस)

प्रतिक्रिया