सोमबार, जेठ ७, २०८१

काेराेना भाइरस

नेपाल प्रहरीले प्रत्येक जिल्ला र इलाका कार्यालयमा आफ्नै आइसोलेसन बनाउने

काठमाडौंको २ नम्बर गण, पहरा गण र विपत् व्यवस्थापन महाशाखामा ५०० बेडको आइसोलेसन बने

दया दुदराज २०७८ वैशाख १७ गते १८:५४

काठमाडौं । नयाँ भेरियन्टको कोरोना भाइरस तीव्र गतिमा फैलिएसँगै काठमाडाैं उपत्यकासहित एक दर्जन बढी जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।

Advertisement

निषेधाज्ञामा सुरक्षा व्यवस्था चुस्त बनाउन थुप्रै प्रहरी सडकमा परिचालित भएका छन् । उनीहरुमा पनि कोरोना संक्रमणको उच्च जोखिम रहेको छ । सीमा नाकादेखि विभिन्न जोखिमयुक्त क्षेत्रमा खटिएका प्रहरी कोरोना संक्रमणबाट सुरक्षित रहनु पनि चुनौतिपूर्ण छ ।

यस्तो विषम परिस्थितिमा अहोरात्र खटिएका सुरक्षाकर्मीका लागि सुरक्षित रहेर ‘ड्यिुटी’ गर्न निर्देशन दिइएको छ । सुरक्षित भएर काम गर्दागर्दै कतिकतै संक्रमित भइहाले कसरी उपचार गर्ने भनेर पनि व्यवस्थापन गर्न प्रहरीले आआफ्नो युनिटलाई निर्देशन दिइसकेको छ ।

नेपाल प्रहरीले ७७ जिल्ला र सबै इलाका प्रहरी कार्यालयमा आइसोलेसन कक्ष बनाउन निर्देशन दिएको छ । प्रहरी प्रधान कार्यालयले पर्याप्त सावधानी अपनाउन र कार्यालयभित्र आइसोलेसन कक्ष बनाउन निर्देशन दिएको हो ।

नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) एवं प्रवक्ता वसन्त कुँवर तीव्र गतिमा फैलिएको कोरोना संक्रमणलाई मध्यनजर गर्दै मातहतका कार्यालयमा आआफ्नै आइसोलेन बनाइएको र बनाउन बाँकी रहेकालाई पनि निर्देशन दिइएको बताउँछन् ।

उनले मेरोन्यूजसँग भने, ‘हामीले विभिन्न जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालयमा आफ्नै आइसोलेसन कक्ष बनाएका छौँ, काठमाडौंको हकमा २ नम्बर गण, पहरा गण र विपत् व्यव्स्थापन महाशाखामा ५०० बेडको आइसोलेसन बनेका छन् ।’

प्रहरीले अहिले आफू जोगिँदै अरुलाई पनि सुरक्षा दिन र कोरोना भाइरसको बारेमा जनचेनता फैलाउने कार्यमा लागि परेको उनको भनाइ छ । एसएसपी कुँवरले भने, ‘नेपाल प्रहरीका कर्मचारीमा खासै कोरोना संक्रमण देखिएको छैन ।’

प्रहरीले देशका विभिन्न स्थानमा मास्क बाँड्नेदेखि जनचेतना फैलाउने काम गरिरहेको छ । काठमाडौंमा मात्रै दुई हजार १०० प्रहरी कर्मचारी फ्रन्टलाइनमा खटाइएको काठमाडौं प्रहरी परिसरका प्रमुख अशोक सिंहले जानकारी दिए ।

दया दुदराज

मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया