शुक्रबार, वैशाख १४, २०८१

जनार्दन शर्माद्वारा सरकारलाई पाँच बुँदे ध्यानाकर्षण

मेरोन्यूज २०७८ वैशाख १७ गते ११:५५

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा ‘प्रभाकर’ले सरकारलाई पाँच बुँदे ध्यानाकर्षण गराएका छन् । कोरोना भाइरस (कोभिड-१९) को विश्वव्यापी महामारीसँगै नेपालमा पनि गम्भीर समस्या उत्पन्न भएको भन्दै उनले सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनले कोरोनाका कारण आइसियु, भेन्टिलेटर, अक्सिजन र कतिपय स्थानमा डाक्टरको समेत अभाव भएकाले गम्भीर समस्या पैदा भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले सबै क्षेत्रमा डाक्टर र स्वास्थ्यकर्मीहरू सक्रिय बनाउनु पर्ने भन्दै ५ बुँदे ध्यानाकर्षण पेश गरेका हुन् ।

नेता शर्माले सरकारको ध्यानाकर्षण गराउँदै सबै सरकारी तथा निजी अस्पतालका सञ्चालकसँग सहकार्य गरी ७० प्रतिशत कोभिड उपचारका लागि छुट्याउन निर्देशन दिनु पर्ने बताएका छन् । उनले सबै अक्सिजन प्लान्टहरू सुरु गर्ने, राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनको सहयोगमा सञ्चालन तथा मर्मत गर्न सरकारसँग माग गरेका छन् ।

यस्तै, महामारीलाई ध्यान दिई अक्सिजन र सम्बन्धित औषधि सरकारले सबै जिल्ला अस्पतालमा पठाउनु पर्ने तथा सबै पालिकाहरूमा सामान्य बिरामीको अक्सिजनसहित उपचारको व्यवस्था गर्न आवश्यक बजेटको व्यवस्था गर्नु पर्ने उल्लेख गरेका छन् । उनले कर्णाली, सुदूरपश्चिम जस्ता दुर्गम क्षेत्रमा तत्काल डाक्टरको व्यवस्थापन गर्नु पर्ने माग राखेका छन् ।

उनले तत्काल महामारी नियन्त्रणमा प्रयोग हुने सामान हवाई मार्गमार्फत ल्याउनु साथै डाक्टरलगायत जोखिमका क्षेत्रहरूमा काम गर्ने सबैलाई सत प्रतिशत जोखिम भत्ता उपलब्ध गराउ माग गरेका छन् ।

प्रतिक्रिया