बिहीबार, चैत १५, २०८०

दिपक मनाङे

ठमेलमा हप्ता असुलीदेखि युवा तथा खेलकूद मन्त्रीसम्म

दया दुदराज २०७८ वैशाख १६ गते १९:०२

काठमाडौं । २०५०/५१ सालतिर ठमेल भनेकै मनाङेको हो भन्दै अफवाह फैलाएर हप्ता असुली गर्ने व्यक्तिको नाम राजिव गुरुङ उर्फ ‘दिपक मनाङे’ हो । तर उनी आजबाट गण्डकी प्रदेशका युवा तथा खेलकूद मन्त्री भएका छन् । मन्त्रालय सम्म फुटाएर उनी मन्त्री बनेका हुन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले आज मन्त्रिमण्डल विस्तार गरी मनाङेलाई मन्त्रीमा नियुक्त गरे । आफूविरूद्ध अविश्वास प्रस्ताव आइरहेका बेला मुख्यमन्त्री गुरूङले लामो समयसम्म अपराधिक घटनामा सक्रिय रहेका मनाङेलाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

मनाङेको राजनीतिक यात्रा
उनको राजनीतिको प्रारम्भ कमल थापा नेतृत्वको राप्रपाबाट भएको थियो । उनी २०७३ पुस २८ गते राप्रपामा प्रवेश गरेका थिए । राप्रपा हँदै उनी २०७४ असोजमा एमालेमा प्रवेश गरेका थिए । सुरूमा एमालेबाट प्रदेश सांसदमा सिफारिसमा परेका मनाङले पछि टिकट पाएनन् । उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए । मनाङको प्रदेश निर्वाचन क्षेत्र (ख) बाट १ हजार ४१० मतका साथ उनी विजयी भएका थिए । उनका प्रतिस्पर्धी कर्म गुरूङले १ हजार २० मत ल्याएका थिए ।

मनाङेको अपराधिक यात्रा
मनाङे ५०/५१ सालतिर ठमेल भनेकै मनाङेहरूको हो भन्ने अफवाह फैलाउँदै हप्ता असुली गर्ने गर्थे । ०६० साल पुस ११ गते चक्रे मिलनलाई धारिलो हतियार प्रयोग गरेको अभियोगमा पक्राउ परेका मनाङे २०६५ साल फागुनमा पक्राउ परे ।

त्यसपछि उनी २०७० मा नेपाली सेनाका एक मेजरलाई कुटपिट गरेको आरोपमा पक्राउ परे । उनीविरुद्ध काठमाडौंका सिडियोले ६ महिना कैद सजाय सुनाएपछि अदालतले समेत एक वर्ष थप कैद सजाय सुनाएको थियो । १ वर्ष ६ महिना जेल बसेर छुटेका मनाङेका लागि पक्राउ पर्नु र छुट्नु सामान्य जस्तै भएको थियो ।

Advertisement

दीपक मनाङ्गेले लिए पद तथा गोपनीयताको सपथ

महानगरीय प्रहरी वृत्त लैनचौर, हनुमानढोका, टेकु परिसरसँगै काठमाडौंका धेरै प्रहरी कार्यालयका थुनामा बसिसकेको अनुभव मनाङेसँग छ । स्थानीय तह चुनावमा समेत प्रहरीले मनाङेलाई पक्राउ गरेको थियो ।

ठेक्कापट्टा गर्न थालेका मनाङेले होटल, रेस्टुरेन्ट र डान्सबार खोलेर कालो धनलाई सेतो बनाउन लगानी गरेको प्रहरी अधिकारीले बताउँदै आएका थिए । १५ करोड रूपैयाँ बराबरको अकूत सम्पत्ति जम्मा गरेको आरोपमा सम्पत्ति शुद्धीकरण विभागले उनीविरूद्ध विशेष अदालतमा मुद्दासमेत हालेको थियो तरपछि उनले सफाइ पाए ।

विभिन्न अपराधिक घटनामा संलग्न भएसँगै नेपाल प्रहरीले तयार पारेको गुण्डा लिस्टको ‘ए’ ग्रेडको पहिलो नम्बरमा रहेका गुण्डा नाइके मनाङे आजबाट युवा तथा खेलकूद मन्त्री बने ।

दया दुदराज

मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया