बिहीबार, चैत १५, २०८०

पाँच दलले राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा भाग लिने

मेरोन्यूज २०७८ वैशाख १६ गते १८:०३

काठमाडाैं । वाग्मती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा पाँच राजनीतिक दलले भाग लिने भएका छन् । उपनिर्वाचनका लागि नेपाल मजदुर किसान पार्टी, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली काँग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले आयोगमा दल दर्ता गराएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

उपनिर्वाचनका लागि एमालेलाई सूर्य र क्रम १, काँग्रेसलाई रुख र क्रम २, नेकपा (माओवादी केन्द्र) लाई गोलाकार भित्र हँसिया हथौडा चिह्न र क्रम ३, राप्रपालाई हलो चिह्न र क्रम ४ तथा नेमकिपालाई मादल चिह्न र क्रम ५ को क्रममा मतपत्रमा समावेश गरिने भएको छ ।

आगामी जेठ ६ गते बिहीबार हुने प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ को उपदफा (३) बमोजिम नेपाल राजपत्रमा प्रकाशन गर्ने र दल दर्ता गर्ने राजनीतिक दललाई निर्वाचन चिह्न निर्धारण गरी प्रदान गर्ने आयोगले निर्णय गरेको छ ।

उपनिर्वाचनका लागि ३४८ मतदाता कायम उपनिर्वाचनका लागि प्रदेशसभा सदस्य ११० जना र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख २३८ गरी ३४८ मतदाता कामय भएको छ । आयोगका अनुसार, स्वीकृत भएको मतदाता नामावली यही वैशाख २१ गते बिहान ११ बजे निर्वाचन अधिकृतको कार्यालय, हेटौँडामा प्रकाशन गर्ने र प्रकाशित मतदाता नामावलीमा सोही दिनको बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म नाम समावेश हुन छुटेका व्यक्तिले आफ्नो नाम समावेश गर्नका लागि दरखास्त दिने व्यवस्था गरिएको छ ।

मतदाता नामावलीमा नाम समावेश भएको व्यक्तिले आफ्नो नाम, थर, उमेर, पद आदि विवरण सच्याउन दरखास्त दिने, मतदाता नामावलीमा उल्लिखित मतदाताको विरोधमा उजूरी दिनसकिने छ । उपनिर्वाचनका लागि तयार भएको नामावली आयोगको वेबसाइट www.election.gov.np समेत प्रकाशन गरिएको छ ।

Advertisement

प्रतिक्रिया