शुक्रबार, वैशाख ७, २०८१

परदेशीको चित्कार

भारतमा नेपाली : भोेक त जितिन्थ्यो, कोरोना जित्न गाह्रो भो !

आरबी खड्का २०७८ वैशाख १६ गते १७:२३

आरबी खड्का

काठमाडौँ । प्रवासी शब्द नेपाल बाहिरका नेपाली भन्ने अर्थमा प्रयोग हुँदै आएको छ । त्यसैले नेपालीपनको वास्तविकता बुझ्नेहरूले यो शब्दलाई कहिले छोडेका छैनन् । नेपालीहरूको प्रवासिने क्रम प्राचीन समयदेखि रहँदै आएको देखिन्छ ।

प्राचीन कालमा नेपालका राजा र राजखलकहरूको हिन्दुस्तान, भुटान, तिब्बत, सिक्किममा हुने गरेको विवाह र विवाहसँग दाइजोमा जाने गरेको प्रजाको बथानले मल्ल, शाह र राणाकालदेखि नै यो क्रम चल्दै आएको छ ।

त्यससँगै सन् १८१६ को सुगौली सन्धिपछि अंग्रेजले गोर्खा पल्टनको परम्परा सुरु गराएपछि यो परम्परा अहिलेसम्म पनि यथावत रूपमा चल्दै आएको छ । नेपालीहरूको प्रवासिनु कारणमा प्रारम्भिक चरणमा विशेष गरेर आर्थिक कारण सबैभन्दा महत्वपूर्ण रूपमा अगाडि आएको देखिन्छ, भने अन्य कारणहरूमा कृषि र पशुपालन, गोर्खा सेना (सैनिक), चिया दोकानमा काम गर्न, बाटो बनाउन, कोइला खानीमा काम गर्न, उच्च शिक्षा हासिल गर्न, व्यापार गर्न र तत्कालीन शासक वर्गको राजनीतिक आक्षेपमा परेर देशबाट पलायन हुनु परेको आदि विभिन्न कारणहरू थिए ।

पछिल्लो समय सिंगो विश्व नै मानव जातिको अस्तित्वको लडाइँ लडिरहेको छ । मानव सभ्यता, संस्कृति, वातावरण र जीवात्माको रक्षार्थ विश्वका हरेक मुलुकहरु कोरोनाविरुद्ध संघर्षरत छन् । हरेक देशहरु आफ्ना नागरिकहरुको स्वास्थ्य सुरक्षाका खातिर सबै कार्यहरु थाती राखेर महामारी नियन्त्रणका लागि प्रयत्नरत छन् ।

कोरोनाविरुद्धको अभियानमा केही देश गोलबद्ध हुन थालेका छन् । कोरोना भाइरसको सुरुवाती चरणलाई विश्वका प्राय मुलुकहरुले सामान्य फ्लुका रुपमा लिए । विश्व स्वास्थ्य संगठनले यो भाइरसबाट विश्व नै संक्रमित हुने सम्भावनाबारे जानकारी गराउँदा समेत गम्भिरता नदेखाउँदा महामारीले डरलाग्दो रुप लिन पुग्यो ।

जब भाइरसले महामारीको रुप लिन थाल्यो, तब स्वास्थ्य संवेदनशीलताको बारेमा सबै सोच्न बाध्य भए । नेपाल, भारतलगायतका अन्य देशमा रातरात अस्पतालहरुको निर्माण हुन थाले, स्वास्थ्य सामाग्री र औषधिको उत्पादन गर्न थाले र संक्रमण रोकथाम, न्यूनीकरण र व्यवस्थापनका लागि पूर्व तयारी गर्न थाले । भौतिक विकास, आर्थिक समृद्धि र प्रविधिले मात्र शक्तिशाली भएर हुन्न, स्वस्थ्य क्षेत्रलाई पनि प्राथामिकता दिई नवीन विधि र पद्धतिलाई अवलम्बन गर्नु पर्ने महामारीले विश्वलाई सन्देश दिएको छ ।

मानिस सामाजिक प्राणी भएकाले समाजसँग निकट रहन्छ । मानिसको जन्मदेखि मृत्युसम्मका संस्कारहरु सामाजिक, धार्मिक र सांस्कृतिक परम्पराअनुसार हुने गर्दछ । ठाउँअनुसार भिन्न भिन्न संस्कृति हुने गर्दछ । संस्कृति नै मानिसको पहिचान हो भन्दा फरक नपर्ला । विभिन्न समयमा देखिएका भाइरसहरुले मानव सभ्यता र संस्कृतिमाथि चुनौती दिँदै आएको छ ।

भारतमा भाइरसबाट एक हप्ताभित्र ४० भन्दा माथि प्रवासी नेपालीले ज्यान गुमाउनु परेको छ । यो तथ्यांक पछिल्ला दिनमा अझै बढ्ने देखिन्छ । हजारौँको संख्यामा अस्पताल बेडमा, केही सडक पेटी, केही घरमा बस्न बाध्य छन् । केही उपचारका लागि अस्पतालका बेड, अक्सिजन नपाएपछि जीवनको अन्तिम इच्छा आफ्नो जन्मभूमि नेपालमा उपचार होला, परिवारसँग भेट होला भनी महंगो भाडा तिरेर एम्बुलेन्समार्फत नेपाल जाने क्रममा नेपाली नागरिक उत्तर प्रदेश, उत्तराखण्ड, बिहारका सिमानासम्म नपुगी ज्यान गुमाउनु परेको छ । राज्य बेखबर छ । कुम्भ कर्ण झै सरकार चीर निन्द्रामै छ ।

विगत इतिहासका पाना पल्टाउने हो भने ती दिनहरू सजिलै थाहा हुन्छ । दिल्ली, पञ्जाब र हिमाञ्चलदेखि महाराष्ट्रसम्मका प्रवासी नेपाली कामदारहरूले कोरोना सिर्जित संकटबाट बच्न स्वदेशतिर पाइला चालेका थिए ।

कैयौँ दिनको कष्टप्रद यात्रापछि दशगजा छेउ आएर हप्तौं रोकिएका थिए । भारतमा कति नेपाली काम गर्छन् । तीमध्ये कति स्वदेश फर्किन सक्छन् । तिनलाई कसरी व्यवस्थापन गर्ने भन्नेजस्ता प्रश्नलाई आफैमा जटिल छ । बरु तिमीहरू लस्कर लागेर यता छिर्ने होइन, सीमापारि नै बस, भोक र भयसँग मित्रता गाँस, भनेझैं गरेर शासकहरूले ओठे जवाफ दिएका थिए । प्रवासी नेपाली कामदारमाथि पनि समय क्रममा त्यस्तै व्यवहार दोहोरिने पक्का छ ।

भारतमा भोकभन्दा रोग, रोजगारी गुमेको अवस्थामा फर्किनुको विकल्प पनि उनीहरुसँग छैन । घर फर्किन पाएमा कम्तीमा परिवारसँग जे जसरी बाँचिन्थ्यो भन्ने धेरैलाई लाग्छ । तर, फर्किने उपाय पनि केही छैन । प्रवासी नेपालीहरुका लागि दूतावास नै प्रमुख अभिभावक हो ।

दिल्लीको नेपाली दूतावास र राज्यले यतिबेला नेपाली समुदायको संरक्षणमा के–कस्ता पहल गरिरहेको होला ? दुःखका साथ भन्नु पर्दा नेपाली दूतावास यतिबेला लगभग भूमिकाविहीन देखिएको छ । संकटको बेला राज्य बेखबर छ । केही घर फर्किन आतुर भएका दीनहीन कामदारहरूलाई बारम्बार अपमानित गर्ने, झुक्याउने काम गरिरहेका छन ।

दिल्ली दूतावासको फोन हतपती नउठ्ने, फोन उठिहाले पनि कामदारमाथि न्यूनतम मर्यादासम्म राखेर नबोल्ने र समयमा सही सूचना नदिने जे जस्ता अभ्यासहरू यसबीच मञ्चित भए । तिनले प्रवासी कामदारमाथि राज्यको हेपाह दृष्टिकोण झल्काउँछन् ।

नेपाल सरकारका श्रम मन्त्रालय, परराष्ट्र मन्त्रालय र श्रमिक हितका निम्ति खडा भएका सरकारी संयन्त्रहरूले कामदारहरूको दुःखको गहिराई, भोकको क्षेत्रफल र छटपटीको कम्पन केही पनि नाप्न सकेनन् । कुनै मतलब पनि गरेनन् उनीहरुले । कोही कसैप्रति जिम्मेवार हुन नपर्ने प्रणालीबाट दीक्षित भएकाहरूबाट कामदारहरूमाथि शृंखलाबद्ध अपमान जारी राखियो । आर्थिक स्थिति कमजोर भएका प्रवासीहरुको जिम्मा कसले लिने हो ? विमारी, भोक, शोक र छटपटीको अनन्त शृंखलाबाट कहिले मुक्ति पाइने हो ?

महासंकटको घडीमा प्रवासी कामदारको उद्धार, उपचार प्रक्रियालाई व्यवस्थित बनाउन सके राज्यप्रति प्रवासी नेपालीको ठूलो विश्वास हुने थियो । दुःख र अप्ठायारो परेका बेला संकटमा साथ दिनेहरुको हिसाब किताब गरेको पनि देखिने थियो । श्रमिकहरूको सम्मान पनि हुने थियो । तत्काल केही राहत दिएर पनि भविष्यका निम्ति आवश्यक कैयौं स्रोत÷साधन राज्यले यहीबीच जुटाउन सक्थ्यो ।

कतिसम्म भने, भारतबाट आउने÷जानेहरूको नाम, उमेर र स्थायी ठेगाना, पेसाजस्ता सामान्य सूचनाको समेत व्यवस्थित आधिकारिक रेकर्ड राखिएन । राज्यलाई यो विषयमा चिन्ता छैन । यति मात्रै गर्न सकेको भए, भारतमा कति नेपाली काम गर्थे ? ती भूगोलको कुन कुनाका, कुन वर्गका र कुन उमेर र लिंगका नागरिक थिए ? भन्ने थाहा लाग्थ्यो । राज्य नै कति गैर जिम्मेदार छ !

प्रवासी नेपालीहरुको सुरक्षा, उपचार अधिकार

प्रवासी नेपालीले सीमा नाकामा हुने समस्या र बैंक तथा वित्तीय क्षेत्रमा भोग्नु पर्ने समस्या, मतदानको अधिकार, मतदाता परिचयपत्र बनाउने, भारतमा रहेका नेपाली नागरिकको सुरक्षा, चेन्नई र मुम्बईमा महावाणिज्यदूतावास खोल्नुपर्ने दिल्लीस्थित दूतावासमा श्रम डेस्कको व्यवस्था गरेर भारतभर रहेका नेपाली कामदारहरूले भोग्नु परेका समस्याको जानकारी लिने र सहयोग गर्ने साझा मुद्दा प्रावसी नेपालीहरुका समाविष्ट मुद्दा हुन् ।

जबकी, वैदेशिक रोजगारीका लागि तेस्रो मुलुक जाने नेपालीहरूलाई नेपाल सरकारले विभिन्न सुविधाको ग्यारेन्टी गरेको छ । उनीहरूले विदेश जानुअघि वैदेशिक रोजगार कल्याणकारी कोषमा निश्चित रकम बुझाउनु पर्ने र बिमा गर्नुपर्ने व्यवस्था गरिएको छ । कोषमा योगदान गर्ने कामदारको वैदेशिक रोजगारीमै रहेका बेला कुनै दुर्घटना भएर ज्यान गुमे वा अंगभंग भएमा सोही कोषबाट सरकारले आर्थिक सहयोग दिने गर्छ । साथै, उनीहरूले १५ लाखसम्म बिमा रकमसमेत पाउने गरेका छन् । जबकी हालसम्म भारत आउने नेपालीहरूका लागि त्यस्तो कुनै व्यवस्था गरिएको छैन ।

प्रवासी नेपालीका नोट चल्ने, भोट चल्ने तर संकटको समयमा राज्यले दोस्रो दर्जाको नागरिकको व्यवहार गर्ने गरेको पाइन्छ । राजनीतिक दलका नेतृत्वले चुनावमा मात्रै मतदाता सम्झने अवस्थाको अन्त्य गरी अरू समयमा पनि नेपाली नागरिकको दुःख पीडामा मलम लगाउने अवस्थाको सिर्जना होओस् भन्ने नेपाली जनताको चाहनालाई वर्तमान सरकारले विशेष ध्यान दिनुपर्छ ।

वर्तमान अवस्थामा विश्वलाई नै आंतकित पारेको कोरोना भाइरसले त झनै मानव सभ्यता र संस्कृतिलाई संकटमा पारेको छ । दुःख वा सुखलाई एकअर्कामा साटासाट गर्नु मानव जातिको गुण नै हो । सुखदुःखमा साथ र सहयोग गर्नु मानवीय धर्म हो ।

महामारीले यसको दूरीलाई टाढा बनाई दिएको छ । यतिसम्म कि मृतक शव बोक्न, दाहसंस्कार गर्न, २४ घण्टा बढी समयसम्म कुर्नु पर्ने अवस्था छ । काजक्रिया गर्नसमेत समस्या देखिन थालेको छ । नेपाल, भारत सांस्कृतिक विविधताले भरिपूर्ण देश हो । धेरै धर्म, संस्कृति, रहनसहन, रितिरिवाजहरु दुवै देशका समान छन । महामारीले मानव जातिको भविष्य, धर्म, संस्कृतिमाथि नै चुनौती थपिदिएको छ ।
महामारीले ल्याएको समस्या, आगामी चुनौती, अर्थतन्त्रमा पारेको प्रभाव, जोखिम न्यूनीकरण तथा दिगो व्यवस्थापन, मानव सभ्यता र पर्यावरणमा पारेको असरलगायतका विषयहरूमाथि सम्बोधन हुने खालको योजनाहरुको बारेमा बेलैमा सोचेर अघि बढ्न अत्यन्त जरुरी छ ।

महामारीको रोकथाम, न्यूनीकरण र व्यवस्थापनका लागि सिंगो विश्वले नै ऐक्यबद्धता जनाई कोरोनाविरुद्ध अभियानमा हातेमालो गरी विश्व बन्धुत्वको भावनाले आगामी यात्रा तय गरे मात्र हाम्रो भविष्य सुनिश्चित छ ।

‘आफू पनि घरमै बसौँ र अरुलाई पनि घरमा बस्न प्रेरित गरौँ ।’

लेखक भारतमा बस्दै आएका छन् ।

प्रतिक्रिया