शुक्रबार, चैत १६, २०८०

कर्णालीमा थप एक कोरोना संक्रमितको मृत्यु

मेरोन्यूज २०७८ वैशाख १६ गते १४:३८

सुर्खेत । कोरोना भाइरस संक्रमित एकको मृत्यु भएको छ । कालीकोटको नरहरिनाथ गाउँपालिका–९ का ७३ वर्षीय पुरुषको आज बिहान प्रदेश अस्पताल सुर्खेतमा निधन भएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।

श्वासप्रश्वास प्रणालीमा समस्या देखिएपछि ती व्यक्तिलाई वैशाख ११ गते प्रदेश अस्पताल कालागाउँ भर्ना गरिएको थियो । सोही दिन पिसिआर परीक्षण हुँदा कोरोना पुष्टि भएको थियो । कोभिड आइसोलेशन वार्डमा राखी आवश्यक उपचार गरे पनि ती व्यक्तिको स्वास्थ्यमा सुधार आउन नसकेको निर्देशनालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

मृतकको शव व्यवस्थापन जिल्ला जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतको समन्वयमा नेपाली सेनाले गर्ने तयारी गरेको छ । यससँगै कर्णालीमा कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३९ पुगेको छ । कोरोनाको नयाँ भेरियन्ट आएसँगै कर्णालीमा पनि संक्रमण र मृत्युदर बढेको छ । पछिल्लो २४ घण्टामा प्रदेशका चार जनाको मृत्यु भएको छ । हाल कर्णालीका विभिन्न आइसोलेशन वार्डमा ९८१ सङ्क्रमितको उपचार भइरहेको छ । रासस

प्रतिक्रिया