शनिबार, वैशाख ८, २०८१

जनमोर्चाले सोध्यो, ‘सांसदलाई अस्पतालमा वन्दी बनाउनुको कारण के हो ?’

मेरोन्यूज २०७८ वैशाख १६ गते १०:३३

काठमाडौं । राष्ट्रिय जनमोर्चाले आफ्ना गण्डकी प्रदेश सभा सदस्य खिमबिक्रम शाहीको अवस्था सार्वजनिक गर्न सरकारसँग माग गरेको छ ।

प्रवक्ता दुर्गा पौडेलले आज विज्ञप्ति जारी गर्दै आफ्नो पार्टीका सांसदको वस्तुस्थिति सार्वजनिक गर्न माग गर्नुभएको हो ।

शाहीलाई अस्पतालमा एक प्रकारको वन्दीका रुपमा राख्नुको आधार र कारण समेत जनमोर्चाले माग गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘अहिले अस्पतालमा कसैलाई पनि उहाँसित भेट गर्न दिइएको छैन । राष्ट्रिय जनमोर्चाका जिम्मेवार केन्द्रीय नेता तथा गण्डकी प्रदेशका सांसदहरु जाँदा पनि उहाँलाई भेट गर्न दिइएको छैन । उहाँलाई एक प्रकारको बन्दीका रुपमा किन राखियो र त्यसको कारण के हो ? उहाँको स्थिति सार्वजनिक गर्नका लागि सरकारसित अनुरोध गर्दछौं ।’

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव बुधबार पास/फेल गर्ने कार्यसूची थियो ।

जनमोर्चाका सांसद शाही अनुपस्थित भएपछि खोजी गर्दा पोखराकै चरक मेमोरियल अस्पतालको कोभिड आईसीयूमा भर्ना भएको भेटिएको थियो ।

आफ्ना सांसद नै अज्ञात भएको भन्दै जनमोर्चाकी सचेतक पियारी थापाले निवेदन दिएपछि प्रदेश सभाको बैठक स्थगित भएको थियो । यी सबै घटनालाई जनमोर्चाले अस्वभाविक भनेको छ ।

जनमोर्चाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘गण्डकी प्रदेशका सांसदहरुको स्वाब परीक्षण गर्दा उहाँको पीसीआर रिपोर्ट नेगेटिभ आएको सार्वजनिक भएको थियो । त्यसपछि अकस्मात उहाँको रिपोर्ट पोजेटिभ आएको र अस्पताल भर्ना भएको भन्ने कुरा थाहा हुन गएको छ । सरकारी प्रयोगशालामा जाँच गर्दा नेगेटिभ रिपोर्ट आएको व्यक्तिलाई अकस्मात कसरी पोजेटिभ आयो ? त्यो कुरा बुझ्न हामी असमर्थ छौं ।’

प्रतिक्रिया