शुक्रबार, वैशाख ७, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्तावमा आज भोटिङ होला त ?

प्रस्ताव पास फेल गराउन दलहरु आ–आफ्नै तयारीमा

मेरोन्यूज २०७८ वैशाख १५ गते ८:०८

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ विरुद्ध पेश भएको अविश्वासको प्रस्तावमाथि प्रदेश सभामा अज पनि छलफल हुँदैछ ।

पोखरामा दिउँसो १ बजे बस्ने बैठकमा सो प्रस्तावमाथि छलफल गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ । छलफल सकिए आजै पास फेल प्रस्ताव किनारा लगाउने सचिवालयको तयारी छ ।

यसअघि मंगलबारको बैठक सांसदको पीसीआर परिक्षण गर्नुपर्ने भन्दै सत्तारुढ नेकपा एमालले अवरुद्ध गरेको थियो । एमाले सांसद माग अनुसार सांसदको पीसीआर परिक्षण गरेपछि आजको बैठक बस्न लागेको हो ।

सोमबार सुरु भएको गण्डकी प्रदेश सभाको विशेष अधिवेशनमा मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्तावमाथि छलफल भइरहेको छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका २८ सांसदले हस्ताक्षर गरी बैशाख २ गते प्रदेश सभा सचिवालयमा मुख्यमन्त्री गुरुङ विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।

मंगलबारको बैठक एमालेले अवरोध गरेपछि सभामुख नेत्रनाथ अधिकारीले प्रदेश सभा बैठक २० मिनेट स्थगित गरेर कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका थिए । सो बैठकमा पनि सहमति हुन नसकेपछि आज दिउँसो १ बजे बस्ने गरी प्रदेश सभा बैठक स्थगित भएको हो ।

सरकार ढल्ने निश्चित भएपछि एमालेले सत्ता लम्ब्याउनको लागि पीसीआर परीक्षणको बाहाना बनाउँदै प्रदेश सभा बैठक अवरुद्ध गरेको प्रतिपक्षी दलले आरोप लगाएका छन् ।

एमाले बाहेकका प्रतिपक्षी दल एकजुट भएपछि मुख्यमन्त्री अल्पमतमा पर्ने निश्चित प्राय भइसकेको छ । यसैबीच भोट फ्लोर क्रस हुन सक्ने आकलन सहित विपक्षी दलले आफ्ना सांसदलाई होटलमा राखेका छन् ।

टाढाबाट आउने सांसदलाई आउजाउ गर्न समस्या हुने र सत्तारुढ दलले प्रलोभनमा पार्न सक्ने भन्दै विपक्षी दलले सांसदका लागि होटल बुकिङ गरेका हुन् । माओवादी केन्द्र र नेपाली कांग्रेसले आफ्ना सांसदलाई पोखरा नछाड्न निर्देशन पनि दिएका छन् ।

प्रतिक्रिया