शुक्रबार, वैशाख १४, २०८१

दिक्तेल–खानीडाँडा–आहाले सडकमा भएन अपेक्षित प्रगति

मेरोन्यूज २०७८ वैशाख १५ गते ७:४८

खोटाङ । पूर्वी तराईका जिल्ला जोड्ने सबैभन्दा छोटो दूरीको दिक्तेल–खानीडाँडा–आहाले सडक कालोपत्रको काम तोकिएको मितिमा सम्पन्न नहुने भएको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको आर्थिक लगानीमा कालोपत्र शुरु गरिएको दिक्तेल–आहाले (१० दशमलव ९७४ किलोमिटर) खण्ड सम्पन्न गर्नुपर्ने समय सकिन लाग्दा ४८ प्रतिशतमात्र भौतिक प्रगति भएको देखिएको छ ।

निर्माण कम्पनी याक्थुङहाङ/साप/सिरुवा जेभीले विसं २०७६ चैत ७ गतेसम्मको सम्झौता अवधि गुज्रिएपछि थप भएको समय पनि यही २०७८ वैशाख २९ गते सकिंदैछ ।

थप भएको समय सकिन लाग्दासमेत सडक कालोपत्रको कामको भौतिक प्रगति ४८ प्रतिशत र वित्तीय प्रगति ४७ दशमलव ७६ प्रतिशतमात्र सम्पन्न भएको कन्सल्टेन्ट इञ्जिनीयर चञ्चलकुमार झाले बताए ।

आर्थिक वर्ष २०७७/०७८ मा सडक कालोपत्रको वित्तीय प्रगति १४ दशमलव २३ प्रतिशत र भौतिक प्रगति ९ दशमलव १४ प्रतिशत मात्र भएको कन्सल्टेन्ट इञ्जिनीयर झाले जानकारी दिए ।

दिक्तेलबाट खानीडाँडा विमानस्थल हुँदै उदयपुरको गाईघाट जोड्ने छोटो दूरीको मार्गका रूपमा स्थापित हुने सडक राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको भ्याटसहित २१ करोड एक लाख ८८ हजार रुपैयाँ खर्चमा कालोपत्र शुरु गरिएको हो ।

निर्माण कम्पनीले सडकको नाली, रिटेनिङ पर्खाल, ग्राभेल आरसिसी, साइड ड्रेन, ग्राभेलसहित ६ दशमलव २५ मिटर चौडा हुने सडकको ३ दशमलव ७५ भागमा कालोपत्र गर्ने गरी ठेक्का लिएको थियो ।

१८ महिनाभित्र काम पूरा गर्ने गरी ठेक्का लागेको विसं २०७५ मङ्सिर १ गते प्रतिनिधि सभा सदस्य एवं नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले शिलान्यास गरेका थिए ।

शुरुका दिनमा तीव्रगतिमा अघि बढाइएको सडक कालोपत्रको काम क्रमशः सुस्तगतिमा झरेपछि निर्माण कम्पनीको चौतर्फी आलोचना भएको छ ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित अस्पतालचोकबाट खानीडाँडा विमानस्थल हुँदै रेग्मीटार पुग्ने सडकको दिक्तेल–खानीडाँडा–आहाले खण्ड कालोपत्रको काम सुस्त र गुणस्तरहीन भएपछि स्वयं राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ खोटाङले विसं २०७६ मा केही समय काम रोकेको थियो ।

कालोपत्रका काम गरिरहेको निर्माण कम्पनी याक्थुङहाङ/साप/सिरुवा जेभीलाई गुणस्तरहीन काम रोक्नका लागि ६ दिनअघि मौखिकरूपमा जानकारी गराएको कार्यालयले विसं २०७६ पुस ९ गते लिखितरूपमा पत्राचार गरेर काम रोक्न निर्देशन दिएको थियो ।

माटो मिसिएको बालुवा तथा एक टिन सिमेन्टसँग १० टिन बालुवा÷गिटी घोलेर सडकको काममा प्रयोग भइरहेको गुनासो आएपछि कार्यालयले काम रोकेको हो ।

गुणस्तरहीन काम भएको पाइएपछि बालुवा, गिट्टीलगायत स्थानीय कच्चा पदार्थको ‘स्याम्पल’ नै सङ्कलन गरेर परीक्षणमा पठाइएको थियो ।

त्यसलगत्तै विसं २०७६ पुस २३ गते प्रदेशसभा सदस्य उषाकला राई (हाल सामाजिक विकासमन्त्री), प्रदेशसभा सदस्य रामकुमार राई ‘पासाङ’, जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङलगायतको टोली स्थलगत अनुगमनमा गएका थिए ।

सडक कालोपत्रको काममा ढिलासुस्ती भएपछि निर्माण कम्पनीका प्रमुख शिवप्रसाद चौलागाईंलाई २०७६ कात्तिक ५ गते दिक्तेलमा आयोजना गरिएको सर्वपक्षीय बैठकमा बोलाइएको तर सो बैठकमा सहभागी कम्पनीका प्रमुख चौलागाईंले गरेका प्रतिबद्धताअनुसार सडकको काममा प्रगति भएको छैन ।

दिक्तेल–खानीडाँडा–आहाले खण्ड कालोपत्रको काम सुस्त भएपछि निर्माण कम्पनी याक्थुङहाङ÷साप÷सिरुवा जेभीले प्रतिनिधि परिवर्तनसमेत गरेको थियो । शुरुमा कल्याण दाहाललाई प्रतिनिधि राखेको निर्माण कम्पनीले अन्तिम समयमा आएर खगेन्द्र राईलाई प्रतिनिधि चयन गरेको हो ।

याक्थुङहाङ/साप/सिरुवा जेभीको प्रतिनिधि बनेका राईले चैत ८ गते सडक कालोपत्रको बाँकी कामका लागि सम्झौता गरेको कार्यालयका नायवसुब्बा एवं सूचना अधिकारी मणिराम ढकालले बताए ।

प्रतिनिधि राईले कामको जिम्मा लिएलगत्तै आवश्यक निर्माण सामग्री जुटाएर वैशाख ५ गतेदेखि सडक कालोपत्रअन्तर्गतको कामलाई तीव्रगतिमा अघि बढाएका छन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट हलेसी तुवाचुङ नगरपालिकाको राजापानीमा जोडिने दिक्तेल–रेग्मीटार सडक पूरा भएपछि दिक्तेलबाट र उदयपुरको गाईघाट पुग्ने सबैभन्दा छोटो मार्ग खुल्ने दाबी गरिएको छ ।

दिक्तेल–खानीडाँडा–आहाले सडक हाल सञ्चालनमा रहेको दिक्तेल–महुरे–रेग्मीटारभन्दा छोटो हुने भएकाले भविष्यमा पूर्वी तराई आउनजानका लागि बढी प्रयोगमा आउने अपेक्षा गरिएको छ । (रासस)

प्रतिक्रिया